सूर्तिजन्य पदार्थकाे नियन्त्रणमा सामूहिक प्रतिवद्धता
सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुले सामूहिक प्रतिवद्धता गरेका छन् । सूर्तिजन्य पदार्थ रहित दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले ज्यानै मार्ने सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण तथा रोकथामका लागि आफूहरु प्रतिवद्ध रहेको बतउनुभएको हो ।
कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जनले ललितपुरलाई ‘स्मोक फ्रि सिटी ’बनाउन आफू प्रतिवद्ध रहेको बचन दिनुभयो । उहाँले सूर्तिजन्य पदार्थ प्रयोग नियन्त्रणका लागि बजेट विनियोजन गर्ने बताउनुभयो ।
चुरोट तथा सूर्तिजन्य पदार्थ खानु हुदैन भनी ललितपुरको घरघरमा गएर घरदैलो अभियान सुरु गरिने उहाँले जानकारी दिनुभयो । अभियानमा नगर प्रहरीहरुको पनि सहकार्य रहने उहाँको भनाइ छ ।
यसैगरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुँरागाईले सामूहिक प्रयास र अठोटले मात्रै सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सकिने बताउनुभयो । प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादवले प्रत्येक व्यक्तिले आफैंबाट सूर्तिजन्य पदार्थको प्रयोग नगर्ने र अन्य व्यक्तिलाई पनि नगर्न सहयोग गर्ने प्रण गरे सूर्तिजन्य पदार्थको प्रयोगमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्रहरी र सम्बन्धित निकायलाई खटाइने बताउन’भयो । उहाँले सूर्तिजन्य पदार्थको नियन्त्रण अभियानमा स्थानीय प्रशासनलाई स्रोत र साधनको व्यवस्था ह’न सके अझै प्रभावकारी रुपमा काम गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सूर्तिजन्य पदार्थको प्रयोग बढी हुने जिल्लाहरुमा नगरप्रमुख, प्रशासकीय अधिकृतसँग समन्वय गरी जनचेतानमूलक कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि हुने अभियानमा आवश्यक प्राविधिक सहयोग गर्न आफ्नो कार्यालय तयार रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा कार्यरत वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भक्तबहादुर केसीले सूर्तिजन्य पदार्थ विरुद्ध नेपालमा बनेका ऐन नियमको जानकारी दिदै सबै निकायहरुको समन्वयमा मात्रै सूर्तिजन्य पदार्थको नियन्त्रण गर्न सकिने बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा.घ्याम्पो दोर्जेले आफुहरुले सूर्तिजन्य पदार्थमा जतिसक्दो धेरै कर लगाउन सरकारलाई सुझाव दिएको बताउनुभयो ।
कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.रवि शाक्यले नेपालमा सूर्तिजन्य पदार्थको प्रयोग गर्ने महिलाको संख्या विश्वकै धेरै रहेको जानकारी दिनुभयो ।
उहाँले लत लागेकालाई नीति कानुनले भन्दा उपचारले सूर्तिजन्य पदार्थको प्रयोग छुटाउन सकिनेतर्फ सचेत गराउनुभयो ।
कार्यक्रममा न्याम्सकी सह प्राध्यापक एवं क्यान्सर रोग विशेषज्ञ डा.सन्ध्या चापागाँइले सूर्तिजन्य पदार्थको लत लागेका १० जनालाई
लतबाट छुटाउन सके ९ जनालाई क्यान्सर हुनबाट जोगाउन सकिने बताउनुभयो ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले फुटकर रुपमा भइरहेका’ खिल्ली चुरोटको बिक्रि वितरण र प्रयोगमा रोक लगाउन अन’रोध गनर्’भयो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि विभिन्न लेख, रचना, समाचारमार्फत स्वास्थ्य पत्रकारहरु अनवरत रुपमा लागिरहेको बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि योगदान पुर्याउने पत्रकारलाई आगामी वर्षदेखि सम्मान गरिने उद्घोष गर्नुभयो ।
कार्यक्रममा सूर्तिजन्य पदार्थको नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाएको भन्दै ललितपुर नगरप्रमुख सिताराम हाछेथुंलाई सम्मान गरियो । उहाँको नेतृत्वमा भोलीदेखि सूर्तिजन्य पदार्थ विरुद्ध घरदैलो अभियान सुरु हुदैछ ।
नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगबा कारण २७ हजार र विश्वमा ८० लाख व्यक्तिको मृत्यु हुने गरेको छ । प्रत्येक वर्ष मे ३१ का दिन विश्वभर सूर्तिजन्य पदार्थ रहित दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘सूर्तिजन्य पदार्थ त्यागौं, स्वास्थ्य र वातावरण जोगाऔं’ भन्ने नाराका साथ यो दिवस मनाइदैंछ ।
हेल्थपाटी
तपाईँको अभिमत