डेंगीको उच्च जोखिम अबका चार महिनासम्म हुनसक्ने, नियन्त्रणका लागि इडिसीडीको यस्तो छ तयारी

डेंगी रोगको जोखिम अबका चार महिनासम्म उच्च रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले जनाएको छ । बुधबार सङ्क्रामक रोगको महामारी व्यवस्थापन महाशाखाले गरिरहेको तयारी बारे सञ्चारर्मीसँगको अन्तरक्रियामा कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले यस्तो बताउनुभएको हो ।
डेंगीको सङ्क्रमण साउनदेखि कात्तिकसम्म उच्च रहने भन्दै उहाँले यसको नियन्त्रणका लागि महाशाखाले तयारी गरिरहेको जानकारी दिनुभयो । ‘डेंगीको सङ्क्रमण साउन महिनादेखि बढ्दै गएर भदौ र असोजमा उच्च हुने त्यसपछि कात्तिक महिनादेखि क्रमशः कम हुँदै जाने हुन्छ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा अबको तीन÷चार महिना हामी डेंगीको उच्च जोखिममा छौँ ।’
डेंगी रोगको सङ्क्रमण नियन्त्रण गर्न ‘खोजी र नष्ट गर’ अभियान सञ्चालन गरिने डा. दाहालको भनाइ छ । डेंगी सङ्क्रमण गराउने जातको लामखुट्टेको खोजी गर्दै नष्ट गर्ने अभियान नै प्रभावकारी हुने उहाँले बताउनुभयो । यसका लागि सामान्य नागरिकले पनि बुझ्न सक्ने गरी स्पष्ट कार्यविधि विकास गरी प्रवर्द्धन गरिएको छ।
डेंगी नियन्त्रणका लागि ‘डेंगी टास्क फोर्स’ निर्माण गरिएको छ । इडिसीडीका निर्देशकको नेतृत्वमा राष्ट्रिय टास्क फोर्स गठन गरिएको छ जसले रणनीतिक परिमार्जनका लागि विज्ञहरूसँग परामर्श गर्ने र तत्काल प्रतिक्रिया कार्यहरूमा मार्गदर्शन गर्ने कार्य गर्दछ ।
त्यस्तै डेंगी रोकथाम र नियन्त्रणका लागि विस्तृत कार्ययोजनाहरू विकास गरी सबै सात प्रदेश र स्थानीय तहमा पठाइएको छ । जसमा स्थानीय, प्रदेश र संघीय सरकारका भूमिकाहरू स्पष्ट रूपमा उल्लेख गरिएका छन्।
यस वर्ष हालसम्म १६०० नयाँ डेंगी सङ्क्रमित भेटिएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब आधा कम रहेको डा. दाहालले जानकारी दिनुभयो ।
रोग नियन्त्रणका लागि नागरिकमा सचेतना आवश्यक : निर्देशक डा. झा
रोग नियन्त्रणका लागि नागरिकमा सचेतना आवश्यक हुने महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले बताउनुभयो । नागरिकमा सचेतना हुँदा रोगबाट नागरिक आफै बच्न सक्ने र प्रकोप फैलिनबाट रोकथाम हुने उहाँको भनाइ छ ।
‘नागरकमा सचेतना भयो भने रोगहरू न्यूनीकरण गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘विभिन्न रोगहरू प्रकोप र महामारीको रूप लिनबाट जोगाउन पनि मद्दत पुग्छ ।’ त्यस्तै उहाँले रोगबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने किसिमको जीवनशैली अपनाउनुपर्ने बताउनुभयो ।
रोगका कीटाणुहरू शरीरमा कुनै न कुनै बेला हुने तर प्रतिरोधात्मक क्षमताका कारण ती रोगहरू देखा नपर्ने भन्नुहुँदै प्रतिरोधात्मक क्षमता वृद्धिमा जोड दिनुभयो ।


निर्देशक डा. चन्द्रभाल झा ।
तपाईँको अभिमत