वैद्यखानामा कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राख्नू : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेद औषधी उत्पादनको अवस्थाबारे अनुगमन गर्नुभएको छ ।
विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुभएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन नभए पछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी गर्नुभएको हो ।
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा जानुभएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै गुनासा समाधान गर्नतर्फ कर्मचारीहरुलाई ध्यानाकर्षण गराउनुभयो ।
पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गर्नुभयो ।
बजारमा जति औषधी उत्पादन भएपनि वैद्यखानाको औषधी बिक्री हुने रहेछ, उहाँले भन्नुभयो, ‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’
मन्त्री पौडेललाई कर्मचारीहरुले श्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब खुवाउन सरकारले रकम दिन नसक्ने प्रष्ट पार्नुभयो ।
तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्,हामी सघाउँछौं, मन्त्री पौडेलले भन्नुभयो । तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।
मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ, बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौं ? मन्त्री पौडेलले प्रश्न गर्दै तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्नुभयो ।
तपाईँको अभिमत