कोरोनाको जोखिम उस्तै, छैन कसैलाई वास्ता, नयाँ भाइरसको जोखिम उच्च
काठमाडौं । बेलायतबाट शुरु भएको फरक स्वरुपको कोभिड–१९ भाइरस अहिले विश्वका विभिन्न देशमा देखिन थालेको छ। चीनको वुहानमा पत्ता लागेको कोभिड–१९ नियन्त्रणका लागि विश्वको ध्यान केन्द्रीत भइरहेका बेला भाइरसले स्वरुस परिवर्तन गरेको हो ।नयाँ स्वरुपमा देखिएको कोरोना भाइरसले यतिखेर विश्वमा नयाँ त्रास पैदा गरेको छ।
विश्वका थुप्रै मुलुकमा नयाँ प्रजापितको भाइरस फैलिन नदिन सजगता अपनाउन सुरु भइसकेको छ। सार्वजनिक ठाउँमा जमघट गर्न, अनावश्यक रुपमा घरबाहिर निस्कन कडाइ गरिएको छ। नेपालमा भने त्यसप्रति कुनै चासो र चिन्ता गरिएको देखिँदैन। संक्रमणको जोखिमका कारण बन्द रहेका नेपालका सबै क्षेत्र खुल्न थालिसकेको छन्। स्वास्थ्य सतर्कताका मापदण्डमा खासै वास्ता गरेको देखिँदैन।
विज्ञहरु नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम कत्ति पनि कम नभएको बताइरहेका छन्। तर नेपालका सहर, बजारमा निस्किएर हेर्दा कहीँ कतै यसको आभास हुँदैन। सडकमा मान्छेको भीड ठेलम्ठेल छ। सार्वजनिक यातायातमा कोचाकोच गरी यात्रुहरु हिँडिरहेका छन्। होटल, रेष्टुराँ, पार्टी प्यालेसतिर भीडभाड व्यापक बढेको छ। मन्दिर, देवालयहरुमा भीड उस्तै छ। सकडकमा दिनहुँ राजनीतिक समूहका धर्ना, जुलुस भइरहेका छन्। देशैभर दलका भेला, बैठक चलिरहेका छन्। यस्ता गतिविधिमा संक्रमणको जोखिमबाट बच्न कुनै मापदण्ड अपनाइएको देखिँदैन।

अहिले भइरहेको भीडभाड र लापरवाहीले संक्रमणको दोस्रो लहर सुरु हुनेतर्फ विज्ञहरुले सचेत गराएका छन्। यसका साथै नयाँ प्रजातिको भाइरस संक्रमणको जोखिम पनि उत्तिकै रहेको छ। नयाँ स्वरुपको भाइरस बढी संक्रामक भएको तथ्य अनुसन्धानबाट देखिएको छ।
पुरानो भाइरसभन्दा छिटो फैलने भएकाले यसअघि नपुगेका समुदाय पनि संक्रमणको जोखिममा रहेको चिकित्सकहरु बताइरहेका छन्। पहिलेजस्तै यस भाइरसबाट समुदायका वृद्धवृद्धा र दीर्घ रोगीहरु शिकार बन्नसक्ने भन्दै सचेत गराइएको छ। तर त्यसमा न सरकारी निकायको ध्यान जान सकेको छ, न सर्वराधारणले खासै वास्ता गरेका छन् ।
अहिलेसम्म नियन्त्रणमै छ
अहिलेको अवस्थामा नेपालमा संक्रमण नियन्त्रणभन्दा बाहिर नरहेको विज्ञहरुको भनाइ छ। अहिले भइरहेको परीक्षण र त्यसमा देखिएका पोजेटिभ केसका आधारमा नेपालमा कोभिड–१९ संक्रमण घट्दो क्रममा रहेको जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँनुहुन्छ।‘सरकारले व्यापक परीक्षण नगरे पनिख सर्वसाधरण आफैँ आएर गरिरहेको परीक्षण हेर्दा कोभिड–१९ को संक्रमण दर घट्दो छ भन्न सकिन्छ’ डा. पाण्डे भन्नुहुन्छ।
शंकास्पद लक्षण देखिएमा, काम गर्ने संस्थाले गराइदिएर, विदेश जानका लागि यस्ता विभिन्न कारणले अहिले सर्वसाधारणले पीसीआर परीक्षण गराइरहेका छन्। ‘यसरी आएको नतिजा हेर्दा ५० प्रतिशत नियन्त्रणमा रहेछ भन्न सकिन्छ’ डा. पाण्डे भन्नुहुन्छ।
नेपालमा नयाँ स्वरुपको भाइरसको जोखिम भने निकै बढी रहेको पाण्डेको ठहर छ। नेपालमा बढिरहेको भीडभाड र स्वास्थ्य मापदण्डमा देखिएको लापरवाही नरोके भायवह स्थिति आउन सक्ने र नियन्त्रण गर्न कठिन हुने चेतावनी डा.पाण्डेले दिनुभयो।सबै क्षेत्र खुलाएर सरकारले अपरिपक्क निर्णय गरेको उहाँको भनाइ छ।
एकातिर परीक्षणको दायरा साघुँरो बन्नु र अर्कातर्फ भीडभाड बढ्नुले थप जोखिम निम्तने खतरा रहेको डा.पाण्डे बताउनु हुन्छ। शुल्क तिर्नुपर्ने र पोजेटिभ रिपोर्ट आएमा लामो समय आइसोलेसन बस्नुपर्ने त्रासका कारण सर्वसाधारणहरु सकेसम्म परीक्षण नगराई बस्ने गरेका छन् । यसले समुदायमा छिटै संक्रमण फैलिँने उच्च जोखिम रहेको पाण्डेको बुझाइ छ।
अहिलेकै अवस्थामा नयाँ स्वरुपको भाइरस नेपालमा प्रवेश गरेमा व्यापक रुपमा संक्रमण फैलिने र मृत्युदर बढ्नेतर्फ सचेत रहने डा.पाण्डेले आग्रह गर्नुभयो। नयाँ स्वरुपको भाइरस पहिलेको भन्दा बढी घातक रहेको पुष्टि नभए पनि संक्रमण दर उच्च भएका कारण स्वतः यसले मृत्युदर बढाउने उहाँको ठहर छ।
भाइरस नियन्त्रका लागि विभिन्न देशमा खोपको उत्पादन र प्रयोग सुरु भइसकेको छ। नेपालले पनि छिटोभन्दा छिटो खोप भित्र्याउन पहल गर्नुपर्ने डा. पाण्डे बताउनुहुन्छ। संक्रमण फैलिनबाट रोक्न पहिलो कुरा नागरिक स्वयं सचेत हुनुपर्ने साथै सरकारले जिम्मेवार र उचित कदम चाल्नुपर्ने उहाँको भनाइ छ।
पाण्डे भन्नुहुन्छ ‘स्वाथ्य मापदण्ड पालना गराउँने, अनुगमन गर्ने जिम्मा गृहमन्त्रालयको हो तर यसप्रति चासो नै दिएन, बाढीपहिरो मात्र आफ्नो काम सोचेको छ।’ संक्रमणको दोस्रो लहर आएर अहिले समस्यामा परेको युरोपेली मुलुक बेलायतको उदारण डा. पाण्डेले दिनुभयो। बेलैमा पूर्वतयारी नभए अस्पतालका बेड भरिभाराउ भई उपचार नै नपाउर ज्यान जानसक्नेतर्फ उहाँले सचेत गराउनु भयो।
प्रहरी भन्छ प्राथमिकता फेरियो
नेपालमा कारोनाको दोस्रो, तेस्रो केस देखिएका बेला भाइरस संक्रमण फैलिन नदिन निकै सक्रीय बनेको प्रहरीले अहिले त्यसतर्फ ध्यान दिन छाडेको छ। स्वाथ्य मापदण्ड पालना गराउन प्रहरीले कुनै चासो दिएको छैन।
पहिले–पहिले सर्वसाधरणलाई कडाइ गरिएको भएपनि अहिले प्रहरीको प्राथमिकता फेरिएको प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त बहादुर कुँवर बताउनु हुन्छ। सरकारले लकडाउन खोलेकाले प्रहरीले कडाइ गर्नै नसकेको उहाँको भनाइ छ। ‘लकडाउन खुल्यो, सबैजासो प्रतिबन्धहरु खुलिसके, नागरिकको अधिकारमा हस्तक्षप गर्न त मिलेन नि ?' प्रवक्ता कुवँर प्रश्न गर्नु हुन्छ।
अहिले कोरोना रोकथाम नियन्त्तण भन्दा पनि अन्य विषय प्रहरीको प्राथकिमतामा रहेको तर आइसोलेसनमा भने प्रहरीले सुरुक्षा दिइरहेको उहाँको भनाइ छ।
संक्रमणका जोखमि बच्नका लागि अपनाउनु पर्ने सावधानीका उपायबारे सर्वसाधारण जानकार भइसकेकाले आफैँ सचेत हुनुपर्ने प्रवक्ता कुँवर बताउनुहुन्छ।
प्रकाश बस्याल
तपाईँको अभिमत