भक्तपुर क्यान्सर अस्पतालमा किन चल्न सकेन भारतले दिएको मेसिन ? (भिडियो)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला भक्तपुर क्यान्सर अस्पताललाई अत्याधुनिक रेडियोलोजी मेसिन दिने घोषणा गर्नुभएको थियो ।
उक्त घोषणा अनुसार करिब २ वर्ष पहिला नेपाललाई भारतले मेसिन दियो पनि । भारतले दिएको उक्त कोबाल्ट मेसिन प्रयोगमा आउन सकेको छैन ।
मेसिन सञ्चालनका लागि आवश्यक उपकरण सोर्स (विकिरण फाल्ने भाग) नहुँदा मेसिन सञ्चालन हुन सकेको छैन । यही मेसिन जडान गर्नका लागि यसअघि रहेको पुरानो मेसिन हटाइएको थियो ।
अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सुरेश महर्जनका अनुसार नयाँ मेसिनका लागि सोर्स ल्याउन पुरानो मेसिनको सोर्स व्यवस्थापन गर्नुपर्ने हुन्छ । उक्त सोर्स व्यवस्थापन गर्न नसक्दा नयाँ मेसिनका लागि सोर्स ल्याउने प्रक्रिया अघि बढाउन पाइएको छैन ।
सोर्सले हानिकारक विकिरणहरु फाल्ने भएकाले यो मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसै कारण पुरानोको व्यवस्थापन नगरीकन नयाँ ल्याउन सम्भव छैन । विकिरण नचुहियोस् भनेर पुरानो मेसिनको सोर्सलाई अहिले अस्पतालको एउटा बन्द कोठामा गह्रौँ वस्तुभित्र राखिएको डा. महर्जनले जानकारी दिनुभयो ।
काम नलाग्ने सोर्सको व्यवस्थापन गर्नका लागि कि मेसिन दिएकै कम्पनीले फिर्ता लैजानुपर्छ कि कुनै आणविक सम्बन्धि काम गर्ने संस्थाले लैजानुपर्छ ।
पुरानो मेसिन धेरै वर्षपहिला युरोपबाट ल्याइएको थियो । अहिले उक्त कम्पनी अस्तित्त्वमा नभएकाले कम्पनीले लैजाने कुरै भएन । ग्लोबल टेण्डर गरी पठाउन खोज्दा पनि व्यवस्थापन हुन सकेन ।
भारतीय कम्पनीहरुसँग छलफल गरी उक्त सोर्स व्यवस्थापनका लागि पहल भइरहेको डा. महर्जनले जानकारी दिनुभयो ।
अहिले भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापीका लागि लिनायक मेसिन सञ्चालनमा छ । अत्याधुनिक प्रविधिको यस मेसिनबाट दैनिक ११० जनासम्मको उपचार भइरहेको छ । यसबाट रेडियोथेरापी उपचार गर्दा एकपटकमा करिब ८० हजार भन्दा बढी खर्च लाग्छ ।
सञ्चालनमा आउन नसकेको कोबाल्ट मेसिनबाट भने ३०–३५ हजारमै सेवा दिन सकिने अस्पतालले जनाएको छ ।
एउटा त पालो नपाउने अवस्था छ भने अर्को दोब्बर–तेब्बर तिरेर उपचार गर्नुप बिरामी निकै मर्कामा परेका छन् । हाल रेडियो थेरापीको सुविधा भरतपुर क्यान्सर अस्पताल र यस अस्पतालमा बाहेक अन्य सरकारी अस्पतालमा छैन ।
पुरोना मेसिनको सोर्स व्यवस्थापन गर्नका लागि विज्ञान प्रविधि मन्त्रालयमार्फत पहल भइरहेको र त्यसको व्यवस्थापन हुने वित्तिकै नयाँ मेसिनको सोर्स ल्याउन पहल गरिने डा. महर्जनले जानकारी दिनुभयो ।

हेल्थपाटी
तपाईँको अभिमत