नर्स बन्ने रहर : पढाइ सकियो, चिन्ता जागिरको
अस्मिता चापागाईँ २० वर्षकी हुनुभयो । उहाँको घर स्याङजा पिँढीखोला हो । चितवन बस्न थाल्नुभएको करिब ६ वर्ष भयो । पढेर नर्स बन्ने रहरले उहाँलाई चितवन ल्याएको थियो । आफ्नो गाउँमा स्वास्थ्य चौकी टाढा हुँदा उपचारका लागि आउँदा आउँदै बाटैमा धेरै बिरामीको मृत्यु हुने गरेको घटनाले उहाँलाई नर्स बन्ने प्रेरणा मिल्यो ।
कक्षा ६/७ मा पढ्दा आफैँलाई ज्वरो आएर अस्मिता उपचारका लागि स्वास्थ्य चौकी पुग्नुभएको थियो । त्यतिबेला स्वास्थ्यकर्मीले एक सुत्केरीलाई बचाएको देखेपछि नर्स भएर हजारौंको जीवन बचाउने अठोट अस्मिताले गर्नुभयो ।
उहाँले हालै मात्र बिएस्सी नर्सिङ उतीर्ण गर्नुभएको छ । असोज ५ गते काठमाडौं बाँसबारीस्थित नेपाल नर्सिङ परिषबाट उहाँले नाम दर्ताको प्रमाणपत्र लिनुभएको छ । यो प्रमाणपत्र पछि उहाँले जुनसुकै स्वास्थ्य संस्थामा काम गर्न बाटाे खुलेकाे छ । वर्षाैँ अगाडि ज्वरोको उपचार गर्न आफू पुगेको स्वास्थ्य चौकीमै बसेर बिरामीको सेवा गर्ने रहर अस्मिताको छ । ‘अब प्रमाणपत्र हात परेको छ, म आफ्नै गाउँ फर्केर काम गर्न चाहन्छु’ उहाँ भन्नुहुन्छ ।
यसैगरी नामदर्ता प्रमाणपत्र लिन विराटनगरबाट परिषद्को कार्यालय आउनु भएकी २४ वर्षकी प्रगती खड्का पनि निकै उत्साहित देखिनु हुन्थ्यो । आफ्नी नर्स दिदीलाई देखेर आफूलाई पनि अस्पतालमा काम गर्ने रहर जागेको उहाँ सुनाउनुहन्छ । ४ वर्षसम्म निकै मेहनतकासाथ पढ्नुभएकी प्रगतीलाई अब जागिर पाइने हो कि होइन भन्ने चिन्ता छ ।
प्रमाणपत्र लिनेहरुको भीड देखेर छक्क पर्नुभएकी प्रगतीलाई नेपालमा हजारौं नर्स बेरोजगार रहेको पनि थाहा छ । यस्तो अवस्थामा आफ्नो योग्यता अनुसार काम नपाउने हो की भन्ने चिन्ता लागेकाे उहाँले बताउनुभयो । प्राक्टिकलका दौरान अस्पतालमा आँखै अगाडि धेरै बिरामीहरुको जीवन र मृत्युकाे साक्षी रहनुभएकी प्रगतीलाई पुराना केही घटना सम्झँदा अहिले पनि दुखी बनाउँछ । तर अस्पतालमा शिशुहरु जन्मदाको खुसी बेग्लै रहेकी उहाँ सुनाउनुहुन्छ ।
प्रसुती वार्डमा ड्युटीमा गर्नु भएकी प्रगतीलाई लाग्छ, 'अहिले त्यो शिशु कस्तो भयो होला ? उहाँले तेस्रो वर्षको प्राक्टिल प्रसुती वार्डमा गर्नुपर्ने थियो । उच्च रक्तचापको समस्या भएकी एक गर्भवतीलाई लेभरपेन सुरुभयो । ‘निकै आत्तिनु भएको थियो दिदी । हाम्रो व्यवहारबाट खुसी भएर सुत्केरीपछि हामीलाई खोज्दै चक्लेट बाड्न आउनुभएको थियो' प्रगती ती दिन सम्झनुहुन्छ, कम्ति खुसी लागेको थिएन त्यतिबेला ।'
अब फेरि पनि बिरामीको उपचार, हेरचाह गर्नुनै छ । त्यो मौकाको पर्खाइमा हुनुहुन्छ प्रगती ।
स्ययम्भु नागार्जुनकी संस्कृति रिमाललाई भने नेपाली नर्सको अवस्थाले दिक्क बनाएको छ । जोस जाँगर, उत्साहले नर्सिङ विषय पढ्नुभएकी संस्कृतिलाई नेपाली नर्स पछाडि परेको र उनीहरुलाई निकै हेपेको जस्तो भान हुन्छ । बीएससी नर्सिङ पूरा गर्दा उहाँको १५ लाख रुपैंया खर्च भयो । तर तलब र अरु सुविधा देख्दा नर्सलाई एकदमै तल्लो स्तरमा राखेकाे उहाँको गुनासो छ।
'अस्पतालहरुमा काम गर्छु भन्दा मासिक ५ हजार, ७ हजार दिन्छौँ भन्दा रहेछन्' संस्कृति सुनाउनुहुन्छ, 'कतै त काम गर्न अवसर दिएवापत् पैसासमेत माग्ने रहेछन् ।' यो देखेर संस्कृतिलाई नेपालमा आफ्नाे भविष्य छैन भन्ने पीर परेकाे छ । स-सम्मान राम्रो सेवा सुविधा पाए स्वदेशमा बस्ने चाहना छ तर त्यसो हुन नसक्द विदेश नै पलायन हुन बाध्य हुनुपर्ने चिन्ताले सताएको छ उहाँलाई ।
स्कुलदेखिका सबै सर्टिफिकट बोकेर प्रमाणपत्र लिन आउनुभएकी भक्तपुर बालकोटकी २३ वर्षकी स्तुती पराजुली अबका दिनमा आफ्नो भविष्य के होला भन्ने तनावमा हुनुहुन्छ ।
स्तुतीलाई पनि नेपालमा नर्सिङ पेशालाई हेपिएको जस्तो लाग्छ । नर्स बिना कुनै पनि स्वास्थ्य संस्था चल्न नसक्ने यथार्थलाई भुलेर नर्सलाई सम्मान गर्न नसकेको उहाँको बुझाइ छ । निजी अस्पतालहरुले न्यून सेवा सुविधामा काम लगाएर श्रमशोषण गरेको सुन्दा स्तुतीलाई खिन्न लागिरहेेकाे छ ।
सरकारी स्वास्थ्य संस्था सरह अनिवार्य रुपमा निजीमा काम गर्ने नर्सलाई पनि सेवा सुविधा दिनसके केही हदसम्म नर्सकाे समस्या समाधान हुने उहाँको सुझाव छ । गुणस्तरयुक्त नर्स उत्पादन गर्न उनीहरुको सेवा सुविधामा कम्प्रमाइज गर्न नहुने ठम्याइ उहाँकाे छ । सेवा सुविधा राम्रो नदिई दिनरात खटाउँदा नर्सहरुलाई निराश बनाएको र यसले बिरामीको उपचार र हेरचाहमासमेत असर पुर्याएकाे उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ आफ्नो हक हितका लागि सबै नर्सहरु एकीकृत हुनपर्छ, हेपिएर काम गर्नुहुन्न ।
अस्मिता,प्रगती, संस्कृति र स्तुती जस्ता सयौं नर्सहरु प्रमाण पत्र लिन नर्सिङ परिषद् आउनुभएको थियो । भदौ १९ गते भएको नर्सिङ तथा मिडवाइफ फ्री विषयको नामदर्ता परीक्षामा उतीर्ण विद्यार्थीहरु प्रमणपत्रका लागि आएका हुन् । उक्त परीक्षामा ४ हजार ९४७ जना पास भएका थिए । हालसम्म परिषद्मा ६७ हजार २२ जना स्टाफ नर्स,३५ हजार ३६४ जना अनमी, मिडवाइफ २३ र विदेशी नर्स ८४५ जना सूचीकृत छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत