अब स्वास्थ्यकर्मीको जोखिमभत्ता नियमित हुन्छ, म छु : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्यकर्मीहरुलाई उत्साहित भएर बिरामीको उपचारमा सहभागी हुन आग्रह गर्नुभएको छ । पदबहाली गरेपछि सुरुमै स्वास्थ्य मन्त्रालयको प्रस्तावित कार्यक्रमलाई स्विकृत गरेर काम सुरु गर्नुभएका शर्माले स्वास्थ्यकर्मीलाई कोभिड जोखिमभत्ता नियमित उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभएको हो ।
हेल्थपाटीलाई संक्षिप्त प्रतिक्रिया दिदै अर्थमन्त्री शर्माले स्वास्थ्यकर्मीहरुले पाउने जोखिमभत्ता समयमानै उपलव्ध गराउने बताउनुभएको हो । शर्माले भन्नुभयो, ‘सरकारमा नहुँदा पनि मैले स्वास्थ्यकर्मीलाई जोखिमभत्ता दिन दबाब दिदैं आएको थिँए । अहिले म सरकारमा छु, त्यसैले स्वास्थ्यकर्मी साथीहरु ढुक्क हुनस्, जोखिमभत्ता नियमित दिलाउँछु ,म तपाईहरुकै साथमा छु ।’
उहाँले ज्यानको बाजी थापेर दिनरात नभनी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु अब निराश हुन नपर्ने वचन दिनुभयो । स्वास्थ्यकर्मीहरु महामारीमा मात्रै नभई अन्य बेलाको पनि कमाण्डर रहेको भन्दै उहाँले स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्नुभयो ।
अर्थमन्त्री शर्माले कोरोना महामारी सुरु भएदेखिनै स्वास्थ्यकर्मीको सेवा सुविधाबारे आवाज उठाउँदै आउनु भएको थियो भने उहाँ अस्पताल निर्माण तथा अक्सिजन व्यवस्थापनमा लाग्नुभएको थियो ।
अर्थमन्त्री शर्माले पदबहाली गरेलगत्तै स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण ३ वटा फाइललाई स्विकृति प्रदान गर्नुभयो । कोरोना खोपका लागि ५ अर्ब रकम निकासा गर्नुका साथै आइसियु तथा एचडियु भेन्टिलेटरका लागि स्वास्थ्य मन्त्रालयले माग गरेको बजेटलाई सहमति दिनुभएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत