'नयाँ संक्रमित घटेपनि लक्षण भएका संक्रमित बढेको हुनसक्छ'
काठमाडौं । नेपालमा कोरोना महामारी सुरुभएको ११ महिनामा १५ सय ८ संक्रमितको मृत्यु भइसकेको छ । यसबीचमा २ लाख ३३ हजार ४५२ जनालाई संक्रमण पुष्टि भएको जसमा २ लाख १४ हजार ५२१ जना निको भएका छन् ।
दशैँ तिहार यता नेपालमा दिनहुँ नयाँ संक्रमितको संख्या घटिरहेको छ । यसरी दिनदिनै संक्रमित घट्नुले नेपालमा संक्रमण घटेको संकेत गर्छ कि गर्दैन ? यस विषयमा हेल्थपाटीले वरिष्ष्ठ जनस्वास्थ्य विद् डा.शरद वन्त र डा.बाबुराम मरासिनीसँग कुरा गरेका छौ ।
यो अवस्था राम्रो होइन । त्यसैले अहिले हामीले संक्रमण घट्यो भन्ने अवस्था अझै आएको छैन ।
जनस्वास्थ्यविद् डा.शरद वन्त
कोरोनाको संक्रमण दशैंतिहार पछि अझै बढ्छ कि भन्ने डर र शंका थियो । तर सौभाग्य नै भन्नुपर्छ, अहिले दिनहुँ नयाँ संक्रमित घटिरहेका छन् । यसका पछाडि विविध कारणहरु हुन सक्छन् । पहिलो कुरा, पछिल्लो समय परीक्षण नै कम भएको छ । लक्षण देखिएर ग्रस्त भएपछि मात्र परीक्षण गर्ने चलन बढेकाले परीक्षणमा कमी आएको हो ।
तर संक्रमितहरु कम हुँदा हुदै पनि परीक्षणको आधारमा संक्रमणको दर आशातित रुपमा घट्न सकेको छैन । परीक्षणका आधारमा अहिलेपनि संक्रमणदर २० देखि २२ प्रतिशतसम्म देखिएको छ, यो अवस्था राम्रो होइन । त्यसैले अहिले हामीले संक्रमण घट्यो भन्ने अवस्था अझै आएको छैन । यो संख्या निरन्तर घट्यो भने बल्ल हामी संक्रमण घट्नेमा आशातित हुनसक्छौ ।
नयाँ संक्रमित घटेपनि लक्षण भएका संक्रमित बढेको हुनसक्छ तथापी हामीसँग यसबारे कुनै तथ्यांक छैन । संक्रमितको संख्या घटिरहँदा मृत्युदर उस्तैनै छ । हाम्रो लागि खुशीको कुरा के हो भने, नयाँ संक्रमितको पहिचान हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या धेरै छ । यसले गर्दा सक्रिय संक्रमितको संख्या बढ्न पाएको छैन । सक्रिय संक्रमितको संख्या नबढेपछि संक्रमितको व्यवस्थापनमा पनि सहज भएको छ ।
त्यति हुँदाहुँदै पनि एउटा दुखको कुरा के छ भने आइसियु र भेन्टिलेटरमा रहेका बिरामीको संख्या घट्न सकेको छैन । अहिले धेरै लक्षण देखिएपछि परीक्षणका लागि गएका छन् यसले परीक्षणको संख्या घटेको छ तर जतिपनि परीक्षणका लागि गइरहेका छन् उनीहरुको स्वास्थ्य थप जटिल भइसकेको हुन्छ । त्यसैले आइसियु र भेन्टिलेटरमा रहने बिरामीको संख्या घट्न नसकेको हो ।
अहिले कन्ट्याक्ट ट्रेसिङ शुन्य जस्तै छ,जसले क्वारेन्टिनमा रहने व्यक्तिको संख्या पनि कम छ । संक्रमितको पहिचान नै नभएपछि परीक्षण हुने कुरै भएन । परीक्षण नभएपछि नयाँ संक्रमित थपिने भएनन् ।
अहिलेको प्रवृति कस्तो भयो भने संक्रमितको सम्पर्कमा आएकाहरु पनि परीक्षणमा जादैनन्,घरमा नै आइसोलेसनमा बस्ने र लक्षण देखिएपछि मात्रै पीसीआर गर्ने क्रम बढेको छ ।हिजोका दिनमा कन्ट्याक्ट ट्रेसिङ भएका थिए,क्वारेन्टिनमा बस्नेहरु धेरै थिए जसले संक्रमितको पहिचान हुन्थ्यो ।
अहिले कन्ट्याक्ट ट्रेसिङ शुन्य जस्तै छ,जसले क्वारेन्टिनमा रहने व्यक्तिको संख्या पनि कम छ । संक्रमितको पहिचान नै नभएपछि परीक्षण हुने कुरै भएन । परीक्षण नभएपछि नयाँ संक्रमित थपिने भएनन् ।
सरकारले सरकारी प्रयोगशालामा लक्षण देखिएपछि मात्र पीसीआर गर्नु भनेकाले पनि सर्वसाधरण परीक्षण गर्न प्रयोगशाला नपुगेको हुन सक्छन् । पीसीआर एक पटक गरेर हुँदैन नेगेटिभ नआउञ्जेल गरिरहनुपर्ने भएकाले खर्चको डरले धेरै व्यक्ति परीक्षण नगराई घरमा नै बसेका हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
सक्ने व्यक्तिहरुले निजीमा पीसीआर गराइरहेका छन् । परीक्षणका लागि उनीहरुले लक्षणलाई कुर्नपर्दैन,आफुलाई शंका लाग्ने बित्तिकै परीक्षण गर्न सकिन्छ । लक्षण नै नदेखि परीक्षण गर्नु भन्नु पनि सही होइन । यसअर्थमा त्यो सही होइन कि, लक्षण नै नदेखिएपनि मानिसलाई संक्रमण भइसकेको हुन्छ ।
हाम्रो बानी के छ भने, लक्षण नदेखिएपछि सुरक्षाको मापदण्ड अपनाउन बिर्सन्छौ,जसले एक जनाबाट कयौंलाई संक्रमण भइसकेको हुन्छ । यदि हामीले इमान्दारिताका साथ सुरक्षाका मापदण्ड अपनायौ भने परीक्षण नगरेपनि खासै फरक पर्दैन । तर हामीले अझैपनि सुरक्षाका मापदण्ड अपनाउन सकिरहेका छैन, भीडमा गइरहेका छौ, मास्क लगाएका छैनौ,मानिस मानिस बीच सम्पर्क भइरहेको छ । अनि यस्तो अवस्थामा त परीक्षण नगर्नुले जोखिमलाई बढाउछ मात्रै ।
अहिले संक्रमण नियन्त्रणमा आएको होइन । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण नियन्त्रण हुनलाई कम्तिमा ५ प्रतिशतभन्दा तल आएको हुनुपर्छ । अझैपनि हामी जोखिममुक्त भइसकेका छैनौ । समुदायमा संक्रमणको स्रोत निर्मुल भएको छैन । भाइरस एकबाट अर्काेमा सर्न पाएन भने नष्ट हुने हो तर हामीले सामाजिक दुरीलाई पालना गरिरहेका छैनौ । संक्रमणको विस्तारलाई रोकेर संक्रमणको चक्रलाई तोड्नुपर्छ,त्यसको अस्त्र भनेको सुरक्षाका प्रावधान अँगाल्नु मात्र हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण नियन्त्रण हुनलाई कम्तिमा ५ प्रतिशतभन्दा तल आएको हुनुपर्छ । अझैपनि हामी जोखिममुक्त भइसकेका छैनौ ।
संक्रमणको दर घटेको हो तर नियन्त्रणमा आएको होइन । दिनको १० देखि १२ हजारको परीक्षण हुँदा १५ सयभन्दा बढीलाई कोरोना पुष्टि भइरहेको छ, यसको अर्थ संक्रमणको जोखिम यथावत छ । संक्रमण घट्यो भनेर निर्धक्क भएर बस्नेबेला आएको छैन । यदि खोप नै आइहाले पनि हामीले सुरक्षाका प्रावधानलाई सँगसँगै अँगाल्नुपर्छ ।
जनस्वास्थ्य विद् डा.बाबुराम मरासिनी
नेपालमा अहिले कोरोना संक्रमण दर घटेको नै हो । संक्रमणदर घट्नेक्रममा नै छ, यो दर अझै घट्दै जान्छ । हाम्रो देशमा भन्दा भारतमा अझ संक्रमण दर घटिरहेको छ ।
कुनै पनि संक्रमणको नियम कस्तो हुन्छ भने एकपटक माथि जान्छ,अनि फेरि तल झर्छ । त्यसपछि दोस्रो,तेस्रो पटक गर्दै संक्रमण फेरि पिकमा पुग्छ । अहिले, संक्रमण माथि पुगेर झर्दै गरेको अवस्था हो । संक्रमणको यही नियमलाई हेर्ने हो भने नेपालमा पहिलो चरणको संक्रमण एउटा बिन्दुमा पुगेर झर्दै गरेको अवस्था हो । अहिले भाइरसले जतिलाई समात्यो,ति संक्रमित हुँदै गए तर नयाँ संक्रमितको संख्या अझै कम हुनेछ ।
संक्रमणदर घटेको मात्र हो,संक्रमण निर्मुल भएको होइन । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्डलाई छोड्नै हुदैन । कतिखेर को-बाट संक्रमण हुन्छ पत्तो हुने अवस्था छैन ।
संक्रमण अर्काे पटक फेरि बढ्छ नै तर कहिले भन्न सकिने अवस्था छैन । एउटा अनुमान के लगाउन सकिन्छ भने माग र फागुनमा संक्रमणदर फेरि बढ्नेछ । किनकी त्यतिबेला मौसमी रुघाखोकीको सिजन हो । संक्रमणदर घटेको मात्र हो,संक्रमण निर्मुल भएको होइन । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्डलाई छोड्नै हुदैन । कतिखेर को-बाट संक्रमण हुन्छ पत्तो हुने अवस्था छैन ।
तुलसा घिमिरे
तपाईँको अभिमत