बालेनको आरोप : ५० हजारमै सिंहदरबार वैद्यखानाको नेतृत्व परिवर्तन हुन्छ
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ५० हजारमै सिंहदरबार वैद्यखानाको प्रबन्ध निर्देशक परिवर्तन हुने गरेको आरोप लगाउनुभएको छ । बुधबार धन्वन्तरी दिवस एवम् सिंहदरबार वैद्यखाना विकास समितिको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शाहले यस्तो आरोप लगाउनुभएको हो ।
सरकार परिवर्तन भए नै पिच्छे नेतृत्व परिवर्तन हुँदा वैद्यखानाको अवस्था नाजुक भएको शाहले बताउनुभयो । ‘सरकार परिवर्तन भए नै पिच्छे यहाँको एमडी परिवर्तन हुन्छ’ शाहले भन्नुभयो, ‘५० हजारमै यहाँको एमडी परिवर्तन हुन्थ्यो पहिला, अहिले रेट बढ्यो कि घट्यो थाहा छैन।’
शाहका बुबा कुनै समय वैद्यखानाकै जागिरे हुनुहुन्थ्यो । यस कारणले पनि उहाँको यो भनाइले विशेष अर्थ राख्छ ।
बुबा जागिर हुँदा आफूँ ५–७ वर्ष वैद्यखानामै बसेको समेत रहेकाले उहाँको बारेमा राम्रो जानकारी रहेको शाहले सुनाउनुभयो । ‘म यहीँ ५–७ वर्ष खेलेको मान्छे’ शाहले भन्नुभयो, ‘पहिला यहाँ खाली क्षेत्र धेरै थियो । औषधि पनि धेरै उत्पादन हुन्थ्यो । अहिले जता पनि भवन छ । औषधि चाहिँ छैन ।’
देशकै अर्थतन्त्र धान्न महत्वपूर्ण योगदान दिनसक्ने सिंहदरबार वैद्यखाना आफैँ बाच्न नसक्ने अवस्थामा पुग्नु दुखद् भएको शाहले बताउनुभयो । ‘औषधि उत्पादन गरेर बेच्ने संस्था पनि कसरी घाटामा जान्छ त ?’ शाहले प्रश्न गर्नुभयो ।
केन्द्र सरकारले चलाउन नसके महानगरलाई दिन उहाँले आग्रह गर्नुभयो । ‘यहाँ मन्त्री ज्यू पनि हुनुहुन्छ, कि त सकारले चलाओस् नत्र महानगरलाई देओस् चलाएर देखाउँछौँ’ शाहले भन्नुभयो ।
सिबै कुरा निजी क्षेत्रले नै चलाओस् सरकारको केही नगरोस् भन्ने मान्यतामा अनुसार सिंहदरबार वैद्यखानामा देखिएको आरोप शाहले लगाउनुभयो । सरकारले वैद्यखानालाई दिने बजेट निकै न्यून रहेको शाहको भनाइ छ । ‘५८–५९ सालमा यहाँको बजेट ५ करोड थियो। अहिले १ करोड छ । त्यो अनुपातमा त अहिले २० करोड पुग्नुपर्ने थियो होला’ शाहले सुनाउनुभयो ।
ठेक्काबाट जडीबुटी किन्दा कमसल जडीबुडी आउने भएकाले गुणस्तरीय औषधि उत्पादन हुन गाह्रो हुने दावी शाहको छ ।
देश कसरी विग्रिन्छ र कसरी देश बन्दैन भन्ने कुरा सिंहदरबार बैद्यखानालाई हेर्दा थाहा हुने भन्दै उहाँले व्यंग्य समेत गर्नुभयो । देश जोगाउनका लागि सिंहदरबार वैद्यखाना जस्ता संस्था जोगाउनु पर्ने शाहले बताउनुभयो । सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन भने देश कसरी जोगाउन सकिन्छ त ?’ शाहले प्रश्न गर्नुभयो ।
तपाईँको अभिमत