२४ घण्टामा ९१ जना संक्रमित कोरोनामुक्त, मृत्यु शून्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना संक्रमितको पनि मृत्यु नभएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
आज देशभर १२५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ८३८ जनाको पीसीआर परीक्षण भएकोमा १२५ जनालाई संक्रमण पुष्टि भएको गौतमले जानकारी दिनुभयो । सोही अवधिमा ९१ संक्रमित कोरोनामुक्त भएका छन् ।
उहाँका अनुसार आज थपिएकामध्ये ६० जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४५, ललितपुरमा ९ र भक्तपुरमा ६ जनालाई संक्रमण पुष्टि भएको छ । आज सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेका छन् ।
हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० रहेको छ । जसमध्ये २ लाख ६९ हजार ३९४ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना महामारी सुरु भएयता २ हजार ५५ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत