बाल क्यान्सरको उपचारमा अस्पतालको खर्च भन्दा सामाजिक खर्च धेरै (भिडियो)
बालबालिका देखिएको क्यान्सर निको हुने सम्भावना ८० देखि ८५ प्रतिशत रहेको बाल क्यान्सर रोग विशेषज्ञ डा.सुधीर सापकोटाले बताउनुभयो।
हेल्थपाटीसँग कुरा गर्दै डा.सापकोटाले बालबालिकामा रहेको क्यान्सर समयमै पत्ता लाग्दा निको हुनेदर उच्च रहेको जानकारी दिनुभयो।
नेपालमा रक्त क्यान्सर(लुकिमिया(आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा), मिर्गौलाको क्यान्सर, स्नायु तन्तुहरुको क्यान्सर(न्यूरोब्लास्टोमा), ग्रन्थीहरुको क्यान्सर(लिम्फोमा) लगायत रहेको डा.सापकोटाले जानकारी दिनुभयो।
सापकोेटाका अनुसार समग्र बाल क्यान्सरमा ४० देखि ४५ प्रतिशत ब्लडक्यान्सरकै केस हुन्छ।
बाल क्यान्सरबारे डाटाको एकदमै अभाव रहेको डा.सापकोटाले बताउनुभयो। क्यान्सरबारे समुदायमा गएर गरिएका अध्ययन एकदमै कम रहेको र भएका पनि सीमित ठाउँमा केन्द्रीत रहेको डा.सापकोटाले बताउनुभयो।
देशभरका अस्पतालमा उपचारका लागि आएका बालबालिकामा वार्षिक ५०० देखि ६०० सम्म मात्रै बाल क्यान्सरका केस पत्ता लगाउन सकेको उहाँको भनाइ छ।
नेपालको जनसंख्या अनुसार अन्य देशको अनुपातमा तुलना गर्दा नेपालमा वार्षिक १५०० देखि २००० सम्म बाल क्यान्सरका केस देखिनुपर्ने अनुमान उहाँको छ।
२५ देखि ३० प्रतिशत मात्रै बालबालिकाको क्यान्सर रोग पत्ता लगाएको डा. सापकोटाले बताउनुभयो।
धेरै जना अझै उपचारको पहुँचमा आइनसकेको निष्कर्ष बाल क्यान्सर रोग विशेषज्ञहरुको रहेको सापकोटाले जानकारी दिनुभयो।
बालबालिकालाई क्यान्सर भएको पत्ता लागेपछि किमो थेरापीबाट उपचार सुरु गरिने डा.सापकोटाले जानकारी दिनुभयो।
क्यान्सर बालबालिकालाई किमो थेरापी दिने भन्नेवित्तिकै अभिाभावकहरु डराउने गरेको उहाँ सुनाउनु हुन्छ।
किमो थेरापीको भनेको ठूलो डरलाग्दो कुनै औषधि नभएको उहाँले स्पष्ट पार्नुभयो। उहाँका अनुसार मुखबाट औषधि दिएर, नसा तथा मांसंपेशीबाट औषधि लगाएर पनि किमो थेपारी गरिन्छ।
बच्चाहरुको उचाई, तौलअनुसार वयस्कमा दिने भन्दा निकै कम मात्रामा मात्रै दिने भएकाले नडराउन उहाँको सुझाव छ। उपचारका क्रममा हुने साइड इफेक्ट पनि निकै कम हुने डा.सापकोटाले बताउनुभयो।
यसपछि अप्रेसन गरेर र रेडियो थेरापी तथा सेकाएर पनि बाल क्यान्सरको उपचार हुन्छ।
रोग पत्ता लगाएर पनि अस्पताल आउन नसक्ने अवस्था धेरै रहेको छ। नेपालमा बाललिकाको क्यान्सर उपचारमा धेरैको पहुँच नभएको डा.सापकोटाले बताउनुभयो।
बाल क्यान्सरको उपचारमा अस्तपालमा लाग्ने भन्दा सामाजिक खर्च धेरै हुने बाल क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटा बताउनुहुन्छ।
उपचार प्रक्रिया लामो हुने हुँदा गाउँदेखि आएर अभिभावसमेत लामो समय सहरमा बस्नुपर्ने, भएका काम छाड्नुपर्ने जस्ता कारणले परिवारलाई बढी आर्थिक भार पर्छ।
सरकारले बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने ३५ थरी औषधि नि:शुल्क दिने तयारी गरेको छ। डा.सापकोटाका अनुसार ती ३५ थरी औषधिबाटै बाल क्यान्सर उपचारमा ९० प्रतिशत औषधि प्राप्त हुनेछ।
उहाँका अनुसार बाल क्यान्सरको उपचार सीमित सहरमा मात्रै केन्द्रीत छ। नेपालमा अहिले बाल क्यान्सर रोग विशेषज्ञ चिकित्सकको संख्या १०–११ जना मात्रै छ।
यसमा पनि काठमाडौं भरतपुरलगायत केही ठाउँमा मात्रै बाल क्यान्सर रोग विशेषज्ञ उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो।
यसका साथै बाल क्यान्सरसँग सम्बन्धि नर्सिङ जनशक्तिको पनि निकै अभाव रहेको डा.सापकोटाले सुनाउनुभयो।
डा. सापकोटासँग हेल्थपाटीका लागि जगन्नाथ ढकालले गर्नुभएको कुराकानी :
हेल्थपाटी
तपाईँको अभिमत