सधैँ स्वस्थ रहने यस्ता छन् ८ रहस्य
गर्मी, चिसो, भीडभाड र कार्यालयका कोलाहलबीच हामी सबैले एउटै कुरा सोचिरहेका हुन्छौँ— बिरामी नपरोस् । यद्यपि, सार्वजनिक स्थानहरूमा उपस्थिति अनिवार्य हुँदा बिरामी हुने जोखिम पूरै हटाउन सकिँदैन, विशेषज्ञहरू भन्छन्: केही सरल तर प्रभावकारी उपायहरू अपनाएर तपाईं बिरामी पर्नबाट धेरै हदसम्म जोगिन सक्नुहुन्छ।
यहाँ स्वास्थ्य विज्ञहरूले सिफारिस गरेका ८ महत्वपूर्ण सुझावहरू छन्, जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने मात्र होइन, जीवनशैलीलाई पनि गुणस्तरीय बनाउनेछ।
फलफूल र तरकारी खानुहोस्
फलफूल र तरकारीहरू भिटामिन, खनिज, तथा एन्टिअक्सिडेन्टमा भरिपूर्ण हुन्छन्। यी पोषण तत्त्वहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्छन्। यिनको कमीले सङ्क्रमणको जोखिम बढाउँछ।
आवश्यक भिटामिनको सेवन गर्नुहोस्
विशेषगरी भिटामिन ए र भिटामिन डीको कमीले सङ्क्रमणको जोखिम बढाउँछ।
भिटामिन ए पाइने स्रोतहरू: गाजर, सिमी, मेथी, काँक्रो, आँप, रातो खुर्सानी, खरबुजा, कुखुराको मासु, गाईको कलेजो, दूधजन्य पदार्थ, अण्डा,
भिटामिन डी पाइने स्रोतहरू: दही, केफिर, दूध, माछा (साल्मन, टुना, सार्डिन), युभी प्रकाशमा सुकाइएको च्याउ, फोर्टिफाइड (पोषणीय तत्त्व मिसाइएको) जुस
पर्याप्त निद्रा लिनुहोस्
निन्द्राको अभावले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार, वयस्कहरूले हरेक रात कम्तीमा ७ घण्टा सुत्नुपर्ने हुन्छ। निद्राका क्रममा शरीरले सायटोकिन नामक प्रोटिन उत्पादन गर्छ, जसले सङ्क्रमणसँग लड्न सघाउँछ।
मदिराको सेवन सीमित गर्नुहोस्
२०२५ को एक अध्ययनअनुसार अत्यधिक वा अत्यन्तै न्यून मात्रामा मदिरा सेवन गर्दा सङ्क्रमण, आइसीयू भर्ना र मृत्युको जोखिम बढ्छ। तर सन्तुलित रूपमा सेवन गर्दा त्यस्तो जोखिम देखिएको छैन।
तनाव व्यवस्थापन गर्नुहोस्
लामो समयको तनावले प्रतिरक्षा प्रणालीमा असर पार्छ। तनाव कम गर्ने उपायहरू तपसिल बमोजिम छन्:
- ध्यान र योग
- डायरी लेख्ने बानी
- साथीभाइसँग कुरा गर्नु
- प्रकृतिमा हिँडडुल
- मनपर्ने गतिविधिमा संलग्न हुनु (क्राफ्ट, सङ्गीत, आदि)
हरियो चिया पिउनुहोस्
हरियो चियामा पाइने यौगिकहरूले ब्याक्टेरियाबाट सुरक्षा दिन सक्ने सम्भावना छ। यद्यपि, अझ थप अध्ययन आवश्यक छ।
फ्लु खोप लगाउनुहोस्
सीडीसीका अनुसार, ६ महिनाभन्दा माथिका सबै व्यक्तिहरूले हरेक वर्ष फ्लु खोप लगाउनुपर्छ। फ्लु खोपले फ्लु सर्ने सम्भावना घटाउनुका साथै बिरामी परेमा लक्षण कम गराउँछ।
राम्रो सरसफाइको अभ्यास गर्नुहोस्
रोग लाग्न नदिन सफाइ महत्वपूर्ण छ ।
- दैनिक नुहाउने
- खाना पकाउनु वा खानुअघि हात धुने
- आँखा वा मुख छुने बेला हात धुने
- २० सेकेन्डसम्म हात साबुनले धोइ साबुनले नङमुनिसमेत सफा गर्ने
- हाच्छिउँ वा खोकी गर्दा टिस्यु प्रयोग गर्ने
- सार्वजनिक स्थानमा स्यानिटाइजर साथमा राख्ने
- साझा प्रयोग हुने सतह (डोरको ह्याण्डल, रिमोट, मोबाइल) नियमित सफा गर्ने
(हेल्थलाइनबाट)
हेल्थपाटी
तपाईँको अभिमत