आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि तयार
तालिमप्राप्त स्वास्थ्यकर्मीसहितको समूहको परिचालन गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि तयार गरेको छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ले तोके बमोजिम आपत्कालिन अवस्थामा उद्धार तथा उपचारका लागि आपत्कालिन चिकित्सकीय समूह खटाउन मन्त्रालयले कार्यविधि तयार गरेको हो ।
कार्यविधि मन्त्रिस्तरीय निर्णयबाट असोज ८ गते स्विकृत भएको हो । राजधानीमा आज एक कार्यक्रमकाबीच कार्यविधि सार्वजनिक गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्त डा.प्रकाश बुढाथोकीले कुनै पनि आकस्मिक घटना वा आपत्कालीन अवस्था सृजना भई जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिका जीवनलाई जोखिमयुक्त गर्ने, जीवन गम्न वा अंगभंग हुनबाट बचाउन आवश्यकता अनुसार प्रारम्भिक तथा तत्कालीन स्वास्थ्य सेवा दिनका लागि कार्यविधि बनाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यविधिले नेपालभित्र कुनै पनि स्थानमा स्वास्थ्य आपत्कालिन अवस्था आएको खण्डमा समयमै रोगको पहिचान, रोकथाम र उपचार गरी रोग र मृत्युदरलाई कम गर्न तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको समूहको परिचालन गर्न सघाउनेछ ।
कार्यविधि अनुसार चिकित्सकीय समूहमा विपद् तथा आपत्कालिन वा रोगको प्रकोपबाट प्रभावित बिरामीलाई आपत्कालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सक, नर्स, पारामेडिक्ससँगै अरु आवश्यकता अनुसारको स्वास्थ्यकर्मीको समूह पर्दछन् । चिकित्सकीय समूह सम्पर्क व्यक्ति हब अस्पतालका सम्पर्क व्यक्तिलाई तोकिएको छ ।
कार्यविधि सार्वजनिकीकरण कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बनेका संरचनाहरु,संकट मोचन गर्न नसक्ने अवस्थामा रहेका बेला अहिले उपकरण सहितको संरचना निर्माण गरिएको बताउनुभयो।
मन्त्री पौडेलले यस कार्यविधि कार्यन्वयनपछि चिकित्सकीय पद्धतिबाट आपतकालिन समयमा संकट समाधान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले यो कार्यविधि कुनैपनि आपतकालिन संकट मोचनका लागि परिचालन गर्न सकिने गरी निर्माण गरिएको दाबी गर्नु भयो। उहाँले बाढी पहिरोमा घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनु भयो। उनीहरूको पूर्ण उपचार गराउन सरकारले स्रोत,साधन उपलब्ध गराउने बताउनु भयो ।
तपाईँको अभिमत