थाहा नगरका काेराेना संक्रमितको उपचार वीर अस्पतालमा

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा रहेका कोरोना संक्रमितहरुकाे काठमाडौंमा उपचार (वीर अस्पताल) कोभिड १९ यूनिफाइड केन्द्रिय अस्पतालमा गर्ने व्यवस्था मिलाइएकाे छ ।
आज मिडिया अभियन्ता एवं समाजसेवी विष्णुहरी ढकालले केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा.जागेश्वर गौतमसँग भेटगरि नगरको कोरोना संक्रमित उपचारकाे व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको छ । ढकालले थाहा नगरमा संक्रमण बढ्दै जाँदा स्थानिय स्रोत र साधनले धान्न नसक्ने स्थिति आएकाले नगरका संक्रमितलाई काठमाडौंमा उपचारको व्यवस्था गरिदिन प्राडा. गौतमलाई आग्रह गर्नुभयो ।
प्राडा. गौतमले काठमाडौं ल्याइएका थाहाका संक्रमितलाई सकेसम्म वीर अस्पताल तथा यहाँ बेड खाली नभएको अवस्थामा उपत्यकाका अन्य अस्पतालहरुमा समन्वय गरी उपचारको व्यवस्था मिलाउने वचन दिनुभयाे ।
भेटमा ढकालले कोरोनाबाट नगर दिनानुदिन प्रभावित हुँदै गएकाले जनशक्तिका साथै मेडिकल सामग्रीको पनि अभाव रहेको जानकारी गराउँदै आवश्यक मेडिकल सामग्री उपलव्ध गराइदिन पनि अनुराेध गर्नुभयाे । जवाफमा प्राडा. गौतमले बिरामीको सहज उपचार व्यवस्थापनकै लागि आफु केन्द्रिय अस्पतालमा लागिपरेकाे जानकारी दिंदै मेडिकल सामग्री उपलव्ध गराउन पनि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
थाहा नगरबाट संक्रमितलाई काठमाडौं ल्याउन परे त्यसको व्यवस्थापन गर्ने गरि ढकाललाई नगरपालकाले फोकल पर्सनको जिम्मेवारी दिएको छ ।
हाल थाहा नगरमा ५ बेडको कोरोना अस्पताल, २० बेड क्षमताको आइसोलेशन, मेडिकल अधिकृत २ जनासहित केही स्वास्थ्यकर्मी रहेका छन् भने अक्सिजनका लागि ५ वटा अक्सिजन कन्सन्ट्रेटर, साना ठूला गरी ३० वटा अक्सिजन सिलिण्डर, ६ वटा एम्बुलेन्स तयारी अवस्थामा छ ।
तपाईँको अभिमत