‘मृत्युको मुखमै पुगिसक्दा पनि डा. रोशन हाँसो, ठट्टा गर्नुहुन्थ्यो’

साढे २ वर्षदेखि क्यान्सरसँग लडिरहनुभएका वरिष्ठ अर्थोपेडिक सर्जन डा. रोशनलाल श्रेष्ठको निधन भएको छ । ६६ वर्षीय श्रेष्ठको आइतबार उपचारका क्रममा निधन भएको हो ।
डा. रोशनसँग ३ दशकसम्म सहकार्य गर्नुभएका वरिष्ठ सर्जन डा. सरोज धितालले डा. रोशनको निधनपछि व्यक्त गर्नुभएको धारणा हामीले प्रस्तुत गरेका छौँ।
हाम्रा प्रिय मित्र र सहकर्मी, वरिष्ठ अर्थोपेडिक सर्जन डा. रोशनलाल श्रेष्ठले क्यान्सरसँग साहसपूर्वक लड्दै आफ्नो शरीर त्याग्नुभयो। २०७९ फागुन २१ गते साँझ डा.रोशनले हामी सबैलाई छाडेर जानुभयो।
डा.रोशन र म काठमाडौं मोडल अस्पताल स्थापनाको बेलादेखि सहकार्य गर्दै आएका थियौँ। मोडल अस्पताल सन १९९३ मा स्थापना भएको थियो। ३ दशक हाम्रो सहकार्य भयो।
काठमाडौं मोडल अस्पतालमा स्थापनाकालदेखि नै डा.रोशनकाे ठूलो योगदान छ। अहिले पनि उहाँ अस्पताल कार्यकारी समितको सदस्य हुनुहुन्थ्यो । निकै लामो समयसम्म अस्पतालको संयोजक रहेर नेतृत्व गर्नुभएको थियो।
२ वर्ष ७ महिनाअगाडि डा. रोशनलाई प्याक्रियाजको क्यान्सर भएको पत्ता लाग्याे ।
क्यान्सर पत्ता लाग्दा नै अवस्था जटिल भइसकेको थियो । अप्रेसन गर्न नमिल्ने भइसकेको थियो । केही दिन त उहाँ निकै स्तब्ध हुनुभयो तर छिट्टै उहाँको आत्मबल दरो बन्यो । किमोथेरापी गर्न सुरु गर्नुभयो। म यसलाई जित्छु भन्ने हिम्मत उहाँमा थियो ।
किमोथेरापी दिइसकेपछि पनि 'म बिरामी भएँ' भनेर चुप लागेर बस्नुभएन । अस्तपाल आएर नियमित बिरामी हेर्न थाल्नुभयो।
यस बीचमा उहाँ २ पटक मृत्युको मुखमा पुगेर फर्किनुभयो ।
कोरोनाको बेला कोरोना संक्रमण भयो। क्यान्सरको गम्भीर बिरामी उहाँलाई कोरोनाले निकै गाल्यो। निमोनिया नै भएको थियो । डा.रोशनले त्यसलाई जित्नुभयो।
त्यसपछि उहाँलाई मस्तिष्कघातले ढाल्यो। त्यो पनि जित्नुभयो ।
जीवनप्रतिको आशा र सकारात्मक धारणा, बलियो आत्मबल डा.रोशनमा थियो । त्यसले उहाँलाई रोगमाथि विजयप्राप्त गर्न, मृत्युको मुखबाट फर्काउन मद्दत मिल्यो ।
यी दुवै जितेर उहाँ निराश भएर, हरेश खाएर घरमा बसिरहनुभएन । हप्ताको २ दिन अस्पताल आएर बिरामी हेरिरहनु भएको थियो ।
२ हप्ताअगाडि डा.रोशनले मसँग भन्नुभएको थियो–अब हप्ताको ३ दिन बिरामी हेर्न आउँछु ।
त्यसो भनेको केही दिनपछि उहाँलाई रोगले च्याप्यो । छिट-छिटो डा.रोशनको अवस्था जटिल बन्दै गयो।
ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । फागुन २१ गते साँझ डा.रोशनले अन्मित श्वास फेर्नुभयो। त्यसको एकछिन अगाडिसम्म पनि उहाँ बोलिराख्नु भएको थियो ।
उहाँको जीवनप्रतिको प्रेम र मृत्युसँग नडराउने नहार्ने स्वभावले हामीलाई निकै अचम्मित बनाउँथ्यो।
एकदमै जटिल अवस्थामा पुगिसक्दामा पनि डा.रोशन साथीभाइसँग हाँस्ने, ठट्टा गर्ने गरेर रमाइरहेको देखिन्थ्यो ।
म अशक्त छु, बिरामी छु, केही गर्न सक्दिन भनेर कहिल्यै हातखुट्टा छाड्नुभएन ।
उहाँको यो व्यवहार हाम्रो लागि बहुमूल्य पाठ भएको छ । क्यान्सरजस्तो डरलाग्दो रोगले डा. रोशनको आत्मालाई एक क्षणको लागि पनि कमजोर बनाउन सकेन। उहाँसँग मृत्युले पनि कयौँ पटक झुक्नुपर्यो।
तपाईँको अभिमत