'कोरोनाको नयाँ प्रजातिसहित दोस्रो छाल आएमा हामी डुब्ने निश्चित छ'
स्वास्थ्यकर्मी र तिनका परिवार उच्च जोखिममा

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट आक्रान्त बनेको नेपालमा अहिले संक्रमणको दर केही घटेको छ । संक्रमणको उच्च जोखिमका बाबजुद दैनिकीहरु सामान्य बन्दै गएका छन् । अहिलेकै भाइरसको संक्रमण जोखिम उच्च रहेका बेला फेरि विश्वका विभिन्न मुलुकमा नयाँ स्वरुपको कोराना भाइरस फैलिएको छ । कोभिड–१९ भन्दा धेरै संक्रामक मानिएको यस भाइरसको जोखिम नेपालमा पनि उत्तिकै छ ।
स्वास्थ्य मापदण्डको पालना र सतर्कतामा निकै लापरवाही भइरहेको छ । हेलचेक्र्याँइ बढ्नु र यो खालको लापरवाही हुनु निकै घातक हुन सक्ने चिकित्सकहरुको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा खटिइरहनु भएका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बेलामै सचेत नभए परिणाम निकै खतरनाक हुनसक्ने चेतावनी दिनुभएको छ ।
मंगलबार फेसबुकमा लामो स्टाटस लेख्दै डा. बाँस्तोलाले कोरोना भाइरसको नयाँ प्रजाति र सम्भावित दोस्रो छालको चर्चा हुँदै गर्दा हाम्रा यस्ता लापरबाही निकै खतरनाक साबित हुने बताउनु भएको हो ।
साथै उहाँले नयाँ प्रजातिको भाइरसबाट पनि सबैभन्दा धेरै स्वास्थ्यकर्मी जोखिममा पर्ने भएकाले सुरक्षा सामग्रीको प्रशस्त उपलब्धता र सतर्कतामा जोड दिन आग्रह गर्नुभएको छ ।
हेरौँ डा.बाँस्तोलाले व्यक्त गर्नुभएका भनाइ
'हामी कोरोना भाइरसको पहिलो छालबाट तंग्रिने अवस्थामा छौं । तथापि, पूर्ण सुरक्षित भइसकेका छैनौं । अहिले नै हामीले सुरक्षाका सारा मापदण्ड तोड्न थालिसक्यौं । कोरोना भाइरसको नयाँ प्रजाति र संभावित दोस्रो छालको चर्चा हुँदै गर्दा हाम्रो यो लापरबाही निकै खतरनाक साबित हुन सक्छ ।
कोभिड–१९ महामारीको शुरुवाति दिनजस्तै स्वास्थ्यकर्मी र उनका परिवार नयाँ प्रजातिको कोरोना भाइरसको उच्च जोखिममा रहनेछन् । कोभिड–१९ को संक्रमण संख्या घट्दै जाँदा स्वास्थ्यकर्मीका लागि पीपीईको उपलब्धता कम हुनु र हेलचेक्र्याँइ बढ्नु घातक हुन सक्छ ।
चीनमा भाइरस देखिँदा नेपालमा आइपुग्दैन भन्ने मानसिकता हावी भएजस्तै अहिले कोरोनाको नयाँ प्रजातिलाई हलुका रूपमा लिनु मूर्खता हुन सक्छ । जबकि, कोरोनाको नयाँ प्रजाति छिमेकी भारतसहित ३७ देशमा घुमिसकेको छ । त्यसैले, अबका दिनमा अझ चुस्त निगरानी, पर्याप्त परीक्षण र आइसोलेसमा जोड दिन आवश्यक छ ।
कोभिड-१९ को पहिलो छालबाट तैरिनै लाग्दा, मापदण्ड नअपनाउने, रोकथामका उपायलाई बेवास्था गर्ने र जताततै खुला छाड्ने हो भने नयाँ प्रजातिसहितको दोस्रो छाल आएमा हामी डुब्ने निश्चित छ । किनकि, कोरोना भाइरसको नयाँ प्रजाति झनै संक्रामक देखिएको छ ।
संक्रमण ग्रस्त क्षेत्रबाट नेपाल भित्रिने ठाउँमा उच्च सतर्कता, हरेक व्यक्तिको पहिचान, अनिवार्य परीक्षण, क्वारेन्टाइनरआइसोलेसनबिना हामीले कोरोनाको सम्भावित दोस्रो छाललाई रोक्नै सक्दैनौं । सँगसँगै कोरोनाको नयाँ प्रजाति आउँछ कि भनेर रोकथाम गर्न र आइसक्यो कि भनी अनुसन्धान गर्न उत्तिकै जरुरी छ ।'
तपाईँको अभिमत