राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाधिवेशन भोलिदेखि, ७०० बढी सहभागी हुने
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो महाधिवेशन भोलिदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनमा देशभरबाट ७ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ ।
महाधिवेशन तयारी पुरा भएकोबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका महासचिव डा. झलक शर्मा गौतमले ७० वटा भन्दा बढी जिल्ला स्तर र सातै प्रदेश र ६ वटा विषयगत घटकका समितिहरुरको अधिवेशन सम्पन्न भईसकेको जानकारी दिनुभयाे ।
प्रचार एवं प्रकाशन समिति संयोजक डा. सन्तोष पौडेलले महाधिवेशन सम्पन्न गर्न १४ वटा कार्यसमितिले काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल संगठनमा करीब २८ हजार स्वास्थ्यकर्मीको आवद्धता रहेको छ । स्वास्थ्य क्षेत्रमा सबैभन्दा सक्रिय संस्था बनाउने गरि अघि बढ्ने बताउनुभयाे ।
संघको चिकित्सक, नर्सिङ,स्वास्थ्यकर्मीलगायत ६ वटा विभिन्न विषयगत घटक समितिहरु रहेका छन् । ‘सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरुको एकता, आमनागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ २७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनबाट ४ वर्षे कार्यकालका लागि १५१ सदस्यिय नयाँ कार्यसमितिको चयन गर्नेछ ।
पहिलो दिन उद्घाटन सत्र र त्यसपछि बन्द सत्रमा विभिन्न प्रतिवेदन र विधान परिवर्तनका विषयमा छलफल हुने र अन्त्यमा नयाँ नेतृत्व चयन गरी महाधिवेसन सम्पन्न हुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत