आमाको दूध खाने र नखाने बच्चामा हुने खास फरक के हो ? (भिडियो)
आमाको दूध अमृत समान हुने मानव अङ्ग राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डाइटिसियन वर्षा भट्टराईले बताएकी छन् । आमाको दूधमा पर्याप्त पोषक तत्त्व पाइने र रोगसँग लड्ने क्षमता विकास गर्ने तत्त्व हुने भएकाले यो अमृत समान हुने उनको भनाइ छ ।
'आमाको दूधमा जति अरू कुनै पनि खानेकुरामा पोषक तत्त्व पाइँदैन', भट्टराईले हेल्थपाटीसँगको कुराकानीमा भनिन्, 'त्यसैले यसलाई अमृत समान मानिएको हो ।'
भट्टराईका अनुसार बजारमा पाइने अन्य खानेकुरा वा जनावरको दूधभन्दा आमाको दूध कयौँ गुणा राम्रो हुन्छ । आमाको दूध खाने बच्चा कम बिरामी हुने, स्वस्थ हुने उनी बताउँछिन् । आमाको दूधमा पर्याप्त मात्रामा एन्टिबडी तत्त्व हुने भएकाले आमाको स्तनपान गर्ने बच्चा अरूभन्दा स्वस्थ हुने हुन्छन् । आमाको दूध खान नपाउने बच्चामा रोगसँग लड्ने क्षमता कम हुने उनी बताउँछिन् ।
प्रस्तुत छ, स्तनपान सप्ताह चलिरहेको अवसरमा उनै भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश
आमाको दूध खान पाउँदा र नपाउँदा बच्चामा हुने फरक के हो ?
आमाको दूध खान पाएका र नपाएका बच्चामा रोग प्रतिरोधी क्षमतामा एकदमै फरक हुन्छ । भाइरस, जीवाणुहरुको संक्रमणबाट बचाउने तत्व आमाको दूधमा प्रशस्तै हुन्छ ।
आमाको दूध खान पाएका बच्चामा बारम्बार बिरामी हुने दर निकै नै कम हुन्छ । रोगबाट आमाको दूधले धेरै हदसम्म बचाउँछ ।
आमाको दूध नै नआए के गर्ने ?
कतिपय आमाको दूध नै आएन भन्ने सुनिन्छ । तर हाम्रो के मान्यता छ भने एउटा परिपक्क आमाले बच्चा जन्माउन सक्छिन् भने आमाको दूध आउँदैन भन्ने हुँदैहुँदैन । बच्चा उत्पादन गर्न सक्छिन् भने उनले दूध उत्पादन गर्न र खुवाउन पनि सक्छिन् भनिएको छ । तर केही केसमा दूध नै नआउने हुन्छ ।
बच्चालाई बिस्तारै स्तनपान गराउन सुरु गरियो भने बिस्तारै आमाको दूध आउँछ ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने कुनै खानेकुरा नै छैन । त्यसैले यसलाई अमृत भनिएको हो । कसैगरी आमाको दूध नै आउँदैन भने जीवनरक्षाका लागि अरुभन्दा बट्टाको दूध नै खुवाउनुपर्छ । त्यसमा आमाको दूधमा हुने तत्वहरुलाई केही हदसम्म मिलाएर बनाइएको हुन्छ।
आमाको दूध खाने बच्चालाई पानी दिनुपर्छ कि पर्दैन ?
बच्चा जन्मिएको एक घण्टामै आमाको दूध खुवाउनु पर्ने हुन्छ, यसलाई हामी ‘अर्ली इनिसिएसन’ भन्छौँ । जुन विगौती दूध हुन्छ । यसलाई रोगप्रतिरोधी क्षमता वृद्धिका लागि पहिलो खोप मानिन्छ । अर्काे ‘एस्क्लूसिभ ब्रेस फ्रिडिङ हुन्छ । यो भनेको बच्चालाई ६ महिनासम्म आमाको दूधबाहेक कुनै खानेकुरा खुवाउनु हुँदैन भन्ने हो । यदि डाक्टरले औषधि सिफारिस गरेको खण्डमा त्यो खुवाउन भयो नत्र पानी पनि खुवाउन जरुरी छैन।
६ महिनाको बच्चालाई चाहिने हरेक किसिमका पोषणतत्व प्राकृतिक रुपमै आमाको दूधमा हुन्छ ।
बच्चाको पेटलाई एउटा भरि गिलास मानौँ । त्यसमा भरी आमाकौ दूध छ भने त्यहाँ पानी थप्दा त पोखिएर भएको कुरा पनि बाहिर जान्छ ।
यस्तै सबै पोषकतत्व आमाको दूधबाटै पुगिरहेको छ भने त्यसमा पानी खान दियौँ भने चाहिने पोषण पनि बाहिर जाने हुन्छ । आमाको दूधमा भएको सबै कुरा उसले पाउन सक्दैन त्यसले पनि उसलाई पानीको कत्ति पनि जरुरत पर्दैन । आमाको दूधले नै भोक प्यास सबै मेटाउँछ ।
६ महिनादेखि १२ महिनासम्मको बच्चालाई ५० प्रतिशत आमाको दूधबाट र ५० प्रतिशत अन्य खानेकुराबाट पोषणको पूर्ति गर्नुपर्न हुन्छ।
१ वर्षदेखि २ वर्षसम्म आमाको दूधले ३३ प्रतिशतसम्म पुग्छ, त्यो भन्दा बाहेक अरु खानाबाट पुर्याउनु पर्ने हुन्छ । २ वर्षपछि भने आमाको इच्छा भए खुवाउन सक्नुहुन्छ, छैन भने रोक्न पनि सकिन्छ । त्यसपछि परिवारमा अरुले खाएजस्तै उसले खानसक्ने खानेकुरा खान दिँदा हुन्छ।
भिडियो
तपाईँको अभिमत