जोखिमभत्ता पाएपछि डाक्टरले दिए अर्थमन्त्री शर्मालाई धन्यवाद !
धन्यवाद अर्थमन्त्री जनार्दन शर्मा, आज मैले नि कोभिड भत्ता पाए । बोलेको कुरो पुरा गर्नु भएकोमा धन्यवाद !
यो भनाइ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड इर्मजेन्सी विभागमा कार्यरत डाक्टर यज्ञ पोखेरेलले आफ्नो फेसवुकमा पोष्ट गर्नुभएको हो । अर्थमन्त्री शर्माले पदवहाली गरेलगतै स्वास्थ्यकर्मीहरुको रोकिएको जोखिमभत्ता एक हप्ता भित्र उपलव्ध गराउने घोषणा गर्नुभएको थियो ।
बचन दिनुभएको भोलिपल्टै आफुले जोखिमभत्ता पाएपछि डा. पोखरेलले अर्थमन्त्रीलाई धन्यवाद दिदै यस्तो लेख्नुभएको हो । डा.पोखरेलले हेल्थपाटीसँग कुरा गर्दै दोस्रो लहरको बेला दिने भनिएको जोखिमभत्ता ३ महिनादेखि नपाएको अवस्थामा मन्त्री शर्माले स्वास्थ्य मन्त्रालयको फाइललाई स्विकृति दिने बित्तिकै भत्ता पाएकोले आफुले मन्त्रीज्यूलाई धन्यवाद दिएको बताउनुभयो ।
‘प्रतिष्ठान भएकाले हाम्रो त बाहिरबाट रकम आउँदैन । अस्पताल आफैंले आम्दानी गरि तलव खानुपर्छ । पहिलो लहरमा पनि स्वास्थ्य मन्त्रालयले कोभिडका लागि भनेर रकम पठाएको थियो तर नन कोभिडका बिरामी नआएकाले आम्दानी भएन र मन्त्रालयले कोभिडका लागि पठाएकै रकमबाट तलव खायौं, भत्तालाई पुगेन । दोस्रो लहरमा पनि भत्ताका लागि भनेर माग गरेको खर्चको फाइल अड्केको अड्केई थियो, मन्त्रीज्यू आउने बित्तिकै सदर गर्नुभयो हामीले भत्ता पाइहाल्यौं’, पोखरेलले खुशी व्यक्त गर्नुभयो ।
उहाँले आफुले मात्रै नभई भत्ता रोकिएका अरु साथीहरुले पनि पाएको जानकारी दिनुभयो । आफुहरुले ५० प्रतिशतका दरले ३ महिनाको भत्ता एकमुष्ठ पाएको बताउनुभयो । शर्माले असार ३० गते स्वास्थ्यमन्त्रालयको तीन महत्वपूर्ण फाइलको सदर गर्दै अर्थमन्त्रीकाे रुपमा आफ्नो कार्यकालको सुरुवात गर्नुभएको थियो ।
साथै मन्त्री शर्माले कोरोना महामारी सुरु भएदेखि नै स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता उपलव्ध गराउन सरकारलाई दबाब दिदैं आउनुभएको थियो । यस्तै उहाँले कोरोना प्रभावित क्षेत्रहरुको निरीक्षण गरि रुकुममा अस्पताल तथा अक्सिजन, आइसियु र भेन्टिलेटरसहित स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत