सिंहदरबार वैद्यखानामा ४ महिनापछि औषधि उत्पादन सुरु, कर्मचारीले पाए तलब
चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो ।
गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो । काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन् ।
आयुर्वेदिक औषधि उत्पादन गर्ने यो समिति आफैँ उपचार गर्नुपर्ने अवस्थामा पुगेकामा कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशक परिवर्तन भएपछि उत्पादन सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशकमा डा। श्यामबाबु यादवलाई पठाएपछि उहाँको अग्रसरतामा शुक्रबारदेखि उत्पादन सुरु भएको हो ।
औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला पूर्वनिमित्त कार्यकारी निर्देशक डा. सबरी साहले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका थिए । डा. साहले उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने जनाउँदै काम नभएको बेलामा पनि तलब खुवाएर राखेको दाबी गर्नुभएको छ ।
उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन । शुक्रबारदेखि उत्पादन सुरु भएको त्रिफला केही दिनदेखि समितिको बिक्री कक्ष एवं बजारमा समेत पठाइने जनाइएको छ । षडबिन्दु तेललगायत अन्य उत्पादन पनि केही दिनमै सुरु हुने भएको छ ।
कर्मचारीले पाए तलब पनि
उत्पादन र बिक्री नभएपछि चार महिनादेखि समितिका कर्मचारीले तलब पनि पाएका थिएनन् । निमित्त कार्यकारी निर्देशक यादवले हाजिर भएको एक हप्तामा कर्मचारीलाई चार महिनाको तलब बैंक खातामा पठाएका छन् । तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका थिए । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आएका थिए ।
छ महिनादेखि छैन शिलाजित
समितिको बिक्री कक्षमा काम गर्नुहुने आदित्य ठाकुर छ महिनादेखि शिलाजित सकिएको बताउनुहुन्छ। बिक्री कक्षमा दैनिक २५ जना मानिस शिलाजित लिन आउँछन् । ग्याष्ट्रिकमा काम गर्ने अविपत्तिकर चूर्ण सकिएको चार महिना पूरा भयो । औषधि खोज्न आउनेलाई समितिले रित्तै फर्काउने गरेको छ । यस्ता धेरै औषधि सकिएको महिनौँ बिते पनि उत्पादनको वातावरण बनाउन समिति व्यवस्थापनले ध्यान दिएको छैन ।
माग बढ्दो छ च्यवनप्रासको
गत वर्ष कोरोना महामारी फैलिएपछि च्यवनप्रासको माग बढेको थियो । माग पूरा गर्न समितिले २०७८ कात्तिक ३० गतेदेखि च्यवनप्रास बनायो । अहिले त्यही एउटा च्यवनप्रास बेचेर समिति बसेको छ ।
अरु उत्पादन भण्डारगृहमा रित्तिन थालेपछि बनाउने प्रक्रिया सुरु नगर्दा समितिमा अहिले औषधि किन्न जाने सर्वसाधारण र थोक बिक्रेता रित्तै फर्कन बाध्य हुने गरेका छन् । विगतमा दैनिक रु एक लाखको औषधि बिक्री गर्ने समितिमा अहिले रु दुई हजारको बिक्री हुन पनि मुस्किल पर्ने गरेको छ ।
गठन आदेश परिवर्तन गर्दा समस्या
विसं २०५१ को गठन आदेशअनुसार काम गर्दा समितिमा समस्या देखिएको थिएन । विसं २०७५ मा विकास समिति ऐनअन्तर्गत गठन भएका सबै समिति विघटनको निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । त्यसबेला सिंहदरबार वैद्यखाना विकास समिति विघटन हुन पुग्यो । लामो वाद विवादपछि २०७७ सालमा आएको गठन आदेशमा पहिले जति व्यवस्था पनि नहुँदा समस्या आएको हो ।
गठन आदेशमा ११ औँ तहको कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ तर समितिको अध्यक्ष नै स्वास्थ्य मन्त्रालयका १० औँ तहका कर्मचारी नियुक्त गरिँदा ११ औँ तहका कार्यकारी निर्देशक आउन मानेका छैनन् । समितिमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका उपसचिव पदेन सदस्य रहने व्यवस्था हटाइएको छ । जसका कारण सरोकार भएका निकायका प्रतिनिधिको अनुपस्थितिमा काम गर्न अप्ठ्यारो हुने गरेको छ ।
समिति सदस्यमा निजीस्तरका आयुर्वेदिक औषधि उत्पादनकर्ता र क्लिनिक सञ्चालकलाई राख्न थालेपछि पनि समस्या आउन थालेको हो । स्वार्थ बाझिने व्यक्तिलाई समिति सदस्य बनाउँदा कार्यालयको काम प्रभावित हुने गरेको कर्मचारीको गुनासो छ ।
एक करोडको कोष गायब
समितिको नाममा बैंक अफ काठमाडौँ लुम्बिनीमा राखिएको रु एक करोड गायब भएको कर्मचारीबीच हल्लीखल्ली मच्चिएको छ । बैंकको मुद्दती खातामा राखिएको रकम कहाँ गयो भन्नेबारेमा जानकारी माग गरे पनि व्यवस्थापनले जवाफ दिएका छैनन् ।
अवकाश कोषमा राख्ने भनिएको रु एक करोड एनआइसी एसिया बैंकमा स्थानान्तरण गरी गायब बनाइएको कर्मचारीको गुनासो छ । समितिका पूर्व निमित्त कार्यकारी निर्देशक डा साह आफू आउनुभन्दा अघिको घटना भएकाले आफूलाई रु एक करोडका विषयमा थाहा नभएको बताउनुहुन्छ ।
समितिका लेखा अधिकृत रामप्रवेशप्रसाद जयसवाल भने रु एक करोड स्थानान्तरण गरी कार्यालयका नियमित काममा खर्च गरिएको दाबी गर्नुहुन्छ । त्यसबेला आफू लेखा अधिकृतको जिम्मेवारीमा नभएकाले यसको विस्तृत जानकारी भने आफूसँग नभएको उहाँको भनाइ छ ।
आयुर्वेद औषधिको माग
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा विभिन्न जडिबुटीबाट बनेका औषधिको माग बढेको थियो ।
आयुर्वेदिक गुणले युक्त वनस्पतिको संरक्षणका लागि औषधि प्रवद्र्धन गरिनुपर्नेमा अहिले खस्कन थालेकामा गुर्जोलगायत वनस्पतिको प्रचारप्ररामा लागेका अभियानकर्मी कमलबहादुर राजलवट चिन्तित हुनुन्छ ।
आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने आयुर्वेद चिकित्सकको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने समिति निरन्तर ओरालो लागेकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा कोरोनाको दोस्रो लहरका बेला विसं २०७८ मा ६५ जना कोरोना सङ्क्रमित राखी आयुर्वेद औषधि दिइएको थियो । कोरोना महामारीको पहिलो चरण विसं २०७७ मा पनि सयौँ कोरोनाका बिरामी केन्द्रमा राखेर आयुर्वेद औषधि नै दिएर उपचार गरेर पठाइएको थियो ।
अस्पताल, तालिम र अनुसन्धान केन्द्र भएकाले दिइएका औषधिका विषयमा अनुसन्धानसमेत गरियो । केन्द्रले सीमित स्रोत, साधनका आधारमा गरेको अनुसन्धानले नेपाली वनपाखाकै जडीबुटीले कोरोना लागेकालाई फाइदा गरेको कार्यकारी निर्देशक डा रामआधार यादवले बताउनुभयो ।
कोरोनाकालदेखि नै रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बजारमा बढ्न थालेको छ । कोरोनाकालमा सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको गुर्जो चिया, तुलसी चिया, शिलाजित, च्यवनप्रास, अश्वगन्ध तेल, अविपत्तिकर चूर्णलगायतको माग बढेको थियो ।
स्वास्थ्य विपत्तिका बेला बढेको आयुर्वेदिक औषधिको मागअनुसार उत्पादन गर्नुपर्ने समिति निरन्तर ओरालो लाग्न थाले पनि सरोकार भएका निकायको ध्यान जान नसकेकामा अभियानकर्मीले चिन्ता प्रकट गरेका छन् ।
रासस ।
तपाईँको अभिमत