काठमाडौं उपत्यकामा पनि सर्पदंशका घटना बढ्दो (भिडियो)

सांकेतिक तस्विर
पछिल्लो समय तराईमा मात्रै नभई काठमाडौं तथा आसपासका जिल्लाहरुमा पनि सर्पदंशका घटना बढ्न थालेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि सर्पदंशका बिरामी आउने क्रम बढेको छ । टेकु अस्पतालमा २०७९ साउनदेखि हालसम्म ३०३ जना सर्पले टोकेर उपचारका लागि आएका छन् । तथ्यांक अनुसार जेठदेखि कार्तिकसम्म सर्पदंशका बिरामीको संख्या धेरै देखिन्छन् ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले गर्मी महिना बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल अस्पतालमा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी अस्पताल पुग्ने गरेका छन् ।
उहाँले काठमाडौंसहित आसापसका जिल्ला भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ र गोरखादेखि सर्पले टोकेका बिरामी उआउने गरेको बताउनुभयो । बढीजसो खेतबारीमा काम गर्नेबेला सर्पले टोकेर घाइते बनाएका बिरामीहरु आइरहेका छन् । उपत्यकामा धेरैजसो धामन, आधो र हरेऊ जातको सर्पले डसेका बिरामी आउने गरेको उहाँले बताउनुभयो । सर्पले टोकेको स्थानमा दुख्ने, सुन्निने,रक्तस्राव भएर आउने गरेको उहाँले बताउनुभयो ।
तराईका जिल्लामा पाइने सर्प भने पहाडी जिल्लामा पाईनेभन्दा विषालु हुन्छन् । डा विमलका अनुसार नेपालमा वर्षेनी ३० हजारभन्दा बढीलाई सर्पले टोक्ने गरेको र त्यसमध्ये करीब ३ हजार जनाको मृत्यु हुने गरेको छ।
सर्पको टोकाइबाट जोगिन खेतबारीमा बुट लगाएर जान, राती टर्च बालेर मात्रै हिड्न, राति सुत्दा झुल टाँगेर सुत्न, सकेसम्म भुईंमा नसुत्न उहाँले सुझाव दिनुभयो । साथै सर्प धेरै देखिने स्थानमा सर्प भए /नभएको एकीन गरेर हिडडुल गर्न उहाँले सुझाउनुभयो ।
नेपालमा चैतदेखि कार्तिक सम्म सर्पदंशका घटनाहरू धेरै हुने गरेको पाईन्छ । गर्मीसँगै जमिन तातिँदा बाहिर निस्कने, मनसुनमा वर्षा हुँदा दूलोभित्र पानी बस्दा सर्प बाहिर निस्कने विज्ञहरु बताउछन् ।
घर बाहिर सुत्ने, खेतमा जाने, जंगलमा जाने क्रममा वा घरभित्रै सुतिरहेको अवस्थामा सर्पदंशका घटनाहरू बढी हुने गरेको अध्ययनहरूले देखाएका छन् ।
नेपालका झन्डै २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ। ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कतिको मृत्यु हुने गरेको बताइन्छ । सबै सर्प विषालु हुदैनन् । नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइन्छन् र तीमध्ये २० प्रजाति विषालु मानिन्छ। विषालुमध्ये गोमन, करेत, रूसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक(कर्कट नाग) सबैभन्दा धेरै विषालु हुन् ।
देशभर सर्पदंशका १०६ वटा उपचार केन्द्र छन् । विषालु सर्पले टोकेको अवस्था एन्टिस्नेक भेनमको प्रयोग गर्नुपर्छ । तीमध्ये अधिकांश तराई क्षेत्रमै छन् ।
सर्पदंश र अपनाउनु पर्ने सचेतना अनि उपचारबारेको भिडियो :
हेल्थपाटी
तपाईँको अभिमत