मेडिकल काउन्सिल र सीआईबीमाथि छानबिन गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले डा. रञ्जीतकुमार यादवलाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र विवरण उपलव्ध गराउने नेपाल मेडिकल काउन्सिलका अधिकारीहरुमाथि अविलम्ब छानबिन गरी कडा कारबाहीको माग गरेको छ ।
काउन्सिलले उपलब्ध गराएको विवरणको आधारमा सीआईबीले साउन २५ गते नक्कली चिकित्सकको आरोपमा डा यादवलाई नियन्त्रणमा लिएको थियो ।
उहाँ सक्कली चिकित्सक भएको ठहर भएपछि सीआईबीले रिहा गरेको थियो । डा. यादवलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरेको, मानमर्दन गरी न्युनतम मानव अधिकारको समेत हनन गरेको संघले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सीआईबीले चिकित्सकका एसएलसी र प्लसटूको शैक्षिक प्रमाणपत्र नक्कली पेश गरी डाक्टर बनेकाहरुको खोजी गर्न फोक्सट्रोट चार्ली अप्रेसन चलाएको छ । जसमा ८ बढी चिकित्सक पक्राउ पर्नुभएको थियो ।
संघले काउन्सिल जस्तो नियमनकारी निकायबाट चिकित्सकहरुको गलत विवरण सिआईबीलाई उपलव्ध गराउनु तथा कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनि फक्राउ गरेर समाजमा त्रसिद वातावरणको सिर्जना गर्ने बिरामी र चिकित्सक बीचको सम्वन्धमा कमी ल्याउने काम गरेको आरोप लगाएको छ ।
तपाईँको अभिमत