सार्क राष्ट्रको १२ औं सार्क इएनटी कंग्रेस सुरु, १२० वटा कार्यपत्र प्रस्तुत हुने
सार्क राष्ट्रहरुको १२ औं सार्क इएनटी कंग्रेस (नाक, कान, घाँटी रोगसम्बन्धि सम्मेलन) सुरु भएको छ । नाक, कान, घाँटी विशेषज्ञहरुको संगठन सोसाइटी अफ अटोलरयनगोलोजिष्ट अफ नेपाल ले आयोजना गरेको सम्मेलनको उद्घाटन काठमाडौंको प्रज्ञाभवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।
उद्घाटन सत्रमा राष्ट्रपति भण्डारीले विज्ञहरु सहभागी सम्मेलनबाट नाक कान घाँटी रोगको उपचारको क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्ने अपेक्षा राख्नुभयो । उहाँले सम्मेलनमा हुने छलफलबाट नाक, कान तथा घाँटी रोगको निदान,उपचार एवं विकास भएका नविनतम प्रविधिहरुको बारेमा थप अवगत हुने र आपसी सीप साटासाट हुने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिण एसियाली क्षेत्रमा नाक, कान, घाँटी रोगको प्रकृति समान रहेको र समस्या समाधानका लागि अवलम्वन गर्ने रणनीतिहरु बनाउन सम्मेलनबाट प्राप्त निष्कर्ष मार्गनिर्देश हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।
उहाँले राष्ट्रहरुका बीच र जनस्तरमा हुने अन्तरक्रियाको सम्बन्धले सार्क भावनालाई अझै बलियो बनाउने भन्दै चिकित्सा क्षेत्रमा इएनटी विधाले लामो समयदेखि गरेको योगदानको उच्च प्रशंसा गर्नुभयो ।
नेपालमा नाक, कान, घाँटी रोगको विशेष उपचारलाई ग्रामीण भेगमा लैजान चुनौती रहेको बताउनुभयो । भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गरि हरेक नागरिकलाई विशेषज्ञ सेवा पुर्याउन लक्ष्य रहनपर्ने र यसका लागि सरकार र सरोकारवालको प्रयास एवं सहकार्यहरुको अवश्यक रहेको बताउनुभयो ।

भोलिसम्म चल्ले सम्मेलनमा अमेरिकासहित सार्क राष्ट्रका करीब ५ सया विशेषज्ञहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।आयोजक कमिटिका सचिव डा. योगेश न्यौपानेले विशेषज्ञहरुको सार्कमा नाक कान घाँटी रोगको प्रकृति समान रहेकाले हाल संसारमा भइरहेका प्रयोगबारे छलफल हुने जानकारी दिनुभयो ।
छलफलबाट नाक, कान, घाँटी रोगको उपचार विस्तारका लागि गर्नुपर्ने काम, प्रयोग गर्नुपनृे प्रविधि जनशक्ति लगायतका विषयमा निचोड निकाल्ने उहाँले बताउनुभयो । सम्मेलनमा १२० वटा कार्यपत्र प्रस्तुत हुनेछन् । नेपालले यसअघि पनि २ पटक सम्मेलनको आयोजना गरिसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत