भारतबाट आएको कोभिशिल्ड खोप एस्ट्राजेनेका पहिलो मात्रा लगाउनेलाई, दशैंलगतै दिइने
भारतबाट शनिबार आएको कोभिशिल्ड खोप दशैं सकिनेवित्तिकै दिइने भएको छ । यसअघि एस्ट्राजेनेका खोपको पहिलोे मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएकालाई कोभिशिल्ड खोप दिन लागिएको हो ।
साउन अन्तिम सातादेखि नेपालमा एस्ट्राजेनेका खोप लगाइएको थियो ।
अस्ट्राजेनेकाको पहिलो मात्रा लगाएकालाई दशैँलगतै दोस्रो मात्राको रुपमा काभिशिल्ड खोप दिन सुरु गर्ने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिनुभयो । अहिले आएको १० लाख डोज कोभिशिल्ड खोपले अस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन बाँकी सबैलाई पुग्ने दाहालले बताउनुभयाे ।
दशैं नआएको भए तुरन्तै सुरु गर्ने तयारी रहेको खोप शाखा प्रमुख ढकालको भनाइ छ । ‘शनिबार खोप प्राप्त भएको छ, आज र भोली दुई दिनमा सबैतिर खोप वितरण गर्न गार्हाे हुन्छ' ढकालले भन्नुभयो, 'पर्सीबाट दशैं बिदा छ, त्यसैले हामीले दशैंलगत्तै अस्ट्राजेनेकाको पहिलो मात्रा लगाएर बसेकाहरुलाई कोभिशल्डको दोस्रो मात्रा दिने तयारी गरेका छौँ।'
खोप लगाउने मिति र सुरुमा कुन उमेर समूहलाई दिइने भन्ने विषयमा सार्वजनिक सूचना गरी जानकारी गरिने उहाँले बताउनुभयो
नेपालले खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज खोप शनिबार ल्याइएको हो । १० लाख डोज यसअघि नै नेपालमा ल्याएर प्रयोग भइसकेको छ ।
आफ्नै देशमा कोरोना भाइरस संक्रमण उच्च भएको भन्दै भारतले अन्य देशलाई तत्काल खोप नदिएपछि कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई जापानले अनुदानमा दिएको एष्ट्राजेनेकाको खोपलाई दोस्रो मात्राका रुपमा प्रयोग गर्न परेको थियो । जापानले अनुदानमा १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो । साथै भुटानबाट पनि नेपालमा २ लाख ३० हजार अस्ट्राजेनेका खोल आएको थियो ।
अस्ट्राजेनेका खोप नेपाल आएपछि सुरुमा कोभिशिल्ड खोप लगाएर दोस्रो डोज लगाउन नपाएकालाई अस्ट्राजेनेका खोप दिइएको थियो । त्यसपछि बाँकी रहेको खोप केहीलाई पहिलो मात्राको रुपमा दिइएको थियो । नेपालमा थप अस्ट्राजेनेका खोप कतैबाट नआएपछि पहिलो डोज लगाएको डेढ महिना बढी हुँदासमेत धेरैले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । उनीहरु दोस्रो डोज कहिले पाउने भन्ने अन्योलमा थिए ।
भारतबाट कोभिशिल्ड खोज आएपछि त्यो अन्योल हटेको खोप शाखा प्रमुख ढकालले बताउनु भयो । बेलायतमा बनेको अस्ट्राजेनेका खोप लाई नै भारतको सेरम इन्स्टिच्युट कोभिशिल्ड नाम दिएर उत्पादन गरेकाले दुवैलाई एउटै खोपको रुपमा प्रयोग गरिएको हो ।
हालसमम नेपालमा पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतले लगाएका छन् । असोज मसान्तसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत