खुट्टामा ठेस लाग्यो, बिरामीले ऐया भने तर मन्त्रीले सुनेनन्
राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा बेडमा मात्र होइन भुँईमा पनि बिरामीहरूको उपचार भइरहेको थियो । अस्पतालमा बिरामीको चाप बढेपछि बेड अभावमा बिरामीहरूको उपचार भुइँमा नै चलिरहेको छ ।
आज निकै चहलपहल थियो ट्रमा सेन्टर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतद्वारा एक कार्यक्रम उद्घाटन गर्नुथियो । मन्त्रीको आगमन हुने भएपछि कर्मचारीहरू दौडधुपमा थिए । मन्त्रीबाट कुनै कमेन्ट आउन नदिन सबै निकै चनाखो भएर काममा लागेका थिए ।
बिहान ११ बजे मन्त्रीको आगमन हुने भन्ने खबर सुनेका बिरामीहरू पनि निकै उत्साहित थिए । टेलिभिजन र पत्र पत्रिकामा फोटो देखेका कतिपय बिरामीहरू मन्त्रीलाई प्रत्यक्ष देख्न पाउने भएकोमा उनीहरु खुशी पनि देखिन्थे । 'क' वर्गको एम्बुलेन्स , डी एक्सए स्क्यान लगायतका थपिएका सेवाको उद्घाटन गर्न पुग्नुभएका मन्त्रीले बिरामीहरूलाई स्वाथ्यलाभको कामना गर्लान् भन्ने धेरैलाई लागेको थियो ।
मन्त्रीले उद्घाटन त गर्नुभयो तर अस्पतालले प्रदान गरेको सेवा कस्तो लाग्यो भनेर बिरामीहरुलाई उहाँले सोध्न भ्याउनुभएन । अस्पतालमा बेड नपाएर भुइँमै खुट्टाको उपचार गराई रहेका अछाम रामारोसन ४ का झंकर बिक, मन्त्री बिरामीमाझ आउनुहुन्छ,भलाकुसारी गर्नुहुन्छ भन्ने आशा बोकेर मन्त्रीको पखाईमा हुनुहुन्थ्यो ।
तर उहाँकै बिस्तारामा ठेस पुग्दासमेत मन्त्रीको नजर उहाँतर्फ पुगेन । झंकरले भन्नुभयो, ‘म त अछाम देखी आएको,चार वर्ष भयो खुट्टाको उपचार गराउदै आएको छु । मैले आजसम्म ठुला नेता कसैलाई प्रत्यक्ष देख्ने मौका पाएको छैन । आफु उपचारत अस्पतालमा मन्त्रीज्यू नै उपस्थित हुने भन्ने थाहा पाएदेखि भेट्न आतुर थिँए । मन्त्रीलाई आफ्नो पीडा सुनाउन पाइन्छ भन्ने लागेको थियो तर उहाँले त फर्केर पनि हेर्नुभएन ।
झंकरले दुखेसो गर्दै भन्नुभयो, ‘मन्त्रीज्यूले तपाईहरुलाई कस्तो छ भनेर मात्रै सोध्नुभएको भएमात्रै पनि म लगायत अरु बिरामीको दुखिरहेको घाँउमा मल्हम लगाएको जस्तै हुनेथियो ।’ झंकर मात्रै होइन, आकस्मिक कक्षको ढोका छेउकै बेडमा खुट्टाकै उपचार गराइरहनु भएकी ललितपुर टिकाथलीकी सविता पराजुली पनि मन्त्रीलाई भेट्न पाइन्छ भन्नेमा आशावादी हुनुहुन्थ्यो । तर उहाँको त्यो आशा पुरा भएन । उहाँ प्रश्न गर्नुहुन्छ,‘व्यस्त भएपनि बिरामीसँग ठोक्किँदा पनि बोल्दै नबोली हिड्ने हाम्रो मन्त्रीज्यू कस्तो ?’
प्रकाश बस्याल
तपाईँको अभिमत