सुँगुरको मुटु प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु
सुँगुरको मुटु प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु भएको छ। लरेन्स फौसेट नाममा ती व्यक्ति सुँगरको मुटु प्रत्यारोपण गराउने संसारका दोस्रा व्यक्ति थिए।
सीएनएनले दिएको खबरअनुसार अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टर(युएमएमसी)मा गतसेप्टेम्बरमा फौसेटको मुटु प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणको ६ हप्तापछि मृत्यु भएको हो।
युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमै सन २०२२ जनवरीमा पहिलो पटक मान्छेमा सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएको थियो। सुँगुरको मुटु प्रत्यारोपण गराएका ५७ वर्षीय डेविड बेनेटको २ महिनापछि मृत्यु भएको थियो।
उक्त सफलतालाई आधार मानेर लरेन्स फौसेटलाई पनि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो। मुटुमा समस्या देखिएपछि ५८ वर्षीय फौसेटलाई गत सेप्टेम्बर १४ मा युएमएमसीमा भर्ना गरिएको थियो।
उनलाई मान्छेको मुटु प्रत्यारोपण गर्न नसकिने गरी अवस्था खराब भइसकेको थियो। चिकित्सकले परिवारका सदस्यलाई बचाउने एउटै उपाय भनेको सुँगुरको मुटु प्रत्यारोपण गरी परीक्षण गर्नु रहेको बताए। त्यसपछि उनकी पत्नी एन फौसेटले प्रयास गर्न अनुमति दिएकी थिइन्।
सुँगुरको जीन परिवर्तन गरी फौसेटको मुटु प्रत्यारोपण गरिएको थियो। सुरुमा प्रत्यारोपण गरेको मुटुले राम्रै काम गरेको रिपोर्ट चिकित्सकहरुले दिएका थिए।
प्रत्यारोपणको एक महिनामा चिकित्सकहरुले बताएका थिए कि–मुटुले राम्रो काम गरेको छ। प्रत्यारोपित मुटुलाई काम गराउनका लागि प्रयोग गरिएका केही औषधि समेत रोकिएको थियो।
पछिल्ला दिनमा मुटु अस्वीकृत भएको लक्षण देखिन थालेको थियो। यसैबीच फौसेटको मृत्यु भयो।
युएमएमसीका मुटु प्रत्यारोपण विज्ञ डाक्टर बार्टली ग्रिफिथले यो एउटा प्रयोग रहेको भन्दै फौसेटलाई आफूहरुले सम्झिरहने बताएका छन्।
पत्नी एनले लरेन्सको उपचार र हेरचाह गर्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन्।
अमेरिकाको केन्द्रीय सरकारको रेकर्ड अनुसार त्यहाँ १ लाख १३ हजार भन्दा धेरै बिरामी अंग प्रत्यारोपणको प्रतीक्षामा छन्। यसमा मुटु प्रत्यारोपण गर्नुपर्नेको संख्या ३३०० भन्दा धेरै छ।
अंगदाताको प्रतीक्षामा रहेका मध्ये दैनिक हरेक १७ जनाले ज्यान गुमाइरहेको डोनेट लाइफ अमेरिका समूहले जानकारी दिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत