सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि हुँदै
सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । बिहीबारदेखि तीन दिनसम्म (वैशाख १८-२०) सम्मेलन चितवनमा हुने भएको हो ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन मार्फत् यसबारे जानकारी दिइएको हो ।
नेपाल इन्स्टिच्यूट अफ मेन्टल हेल्थको आयोजना तथा विभिन्न संस्थाहरूको सहकार्यमा सम्मेलन हुन लागेको हो ।
आयोजक समितिका संयोजक तथा अमेरिकास्थित हार्वर्ड मेडिकल स्कूलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलका अनुसार सम्मेलन चितवन मेडिकल कलेजमा हुनेछ ।
सम्मेलनमा १०० भन्दा बढी प्रस्तुति हुने डा. पौडेलले जानकारी दिनुभयो । ३० वटा मौखिक प्रस्तुति, १९ भन्दा बढी पोस्टर, १३ वटा प्यानल सेसन हुनेछन् । त्यस्तै करिब २०० जना प्रत्यक्ष सहभागी हुनेछन् ।
सम्मेलनमा पाँच जना विशेष वक्ता रहनुभएको छ । अमेरिकास्थित बोस्टन मेडिकल सेन्टरका प्राध्यापक डा. डेभिड हेण्डर्सन, विश्व स्वास्थ्य संगठन नेपालका डा. राजेश पाण्डव, ओरेक नेपालका प्रतिनिधि डा. रेणु अधिकारी, मानसिक अस्पताल लगनखेलका निर्देशक डा. कपिल उपाध्याय वक्ताका रूपमा रहनुहुनेछ । त्यस्तै भारतको एम्स रिशिकेशका मानसिकरोग विभाग प्रमुख प्रा. डा. अनिन्द्य दास प्रमुख वक्ता रहनुभएको छ ।
मानसिक स्वास्थ्यको पहुँचलाई विकेन्द्रीकरण गर्न सम्मेलनको आयोजना गरिएको संयोजक डा. पौडेलले बताउनुभयो । ‘हामी मानसिक रोगको निदानका लागि कुनै स्थान केन्द्रित भयौँ’, उहाँले भन्नुभयो, यसलाई विकेन्द्रीकरण गर्ने लक्ष्यका साथ काठमाडौंमा सम्मेलन नगरी चितवनमै गर्ने निर्णय ग¥यौँ । यसअघिको सम्मेलन पनि दुर्गम जिल्ला जुम्लामा गरेका थियौँ ।’
पछिल्लो समय ७० देखि ८० प्रतिशत नेपाली कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको भन्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सम्मेलनबाट यसको निदानका लागि नीतिगत तथा व्यवहारिक सुझाव आउने अपेक्षा गर्नुभयो ।
उहाँले मनोपरामर्शका लागि विशेषज्ञ मनोचिकित्सक नै आवश्यक नपर्ने भन्दै ‘टस्क सेयरिङ’ विधि अर्थात् व्यवहारिक रूपले सम्भव भएका अन्य स्वास्थ्यकर्मीलाई समेत तालिम दिएर उहाँहरूबाट मनोपरामर्श प्रदान गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सम्मेलनमा जोसुकै सहभागी हुन पाउने आयोजकले बताएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत