कोरोनाबाट सिकिस्त र मृत्यु हुनेमा खोप नलगाएका बढी
खोप लगाएलाई जटिलताको जोखिम कम
काठमाडौं । ‘कोरोना भाइरस संक्रमणबाट मेरो मामा बित्नुभयो गाउँमा स्वास्थ्य सचेतना जगाउँदै हिड्ने मान्छे, आफैंले कोरोना खोप लगाउनु भएको रहेनछ, बचाउन सकिएन’स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले मलिन स्वरमा सुनाउनु भयो। मामाले खोप लगाएको भएको भए केही हुँदैनथ्यो कि भन्ने लागिरहेको छ उहाँलाई।
उहाँको मामा हुनुन्थ्यो, जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठ। संक्रमण पछि जटिल बिरामी भएर सोमबार उपचारकै क्रममा सशस्त्र प्रहरी अस्पतालमा उहाँको निधन भयो।
नेपालमा कोरोना भाइरस भित्रिएको करिब १६ महिनामा ५ हजार ४११ जनाको मृत्यु भएको छ। विगत १० दिनदेखि संक्रमणका कारण मृत्यु हुनेको संख्या उच्च छ।
स्वास्थ्यमा गम्भीर असर पुगिसकेपछि मात्रै अस्पताल पुग्नु, समयमै बेड नपाउनु, अक्सिजनको अभाव समयमा जस्ता कारणले धेरै संक्रमितले ज्यान गुमाइरहेको चिकित्सकहरुको भनाइ छ।
संक्रमितको उपचार गरिरहेका चिकित्सकहरुका अनुसार जटिल अवस्थामा अस्पताल भर्ना भएकामध्ये अधिकाश खोप नलगाएकाहरु नै छन्।
पहिलो डोज खोप लगाएका व्यक्तिमा संक्रमण भएपनि उनीहरुको स्वास्थ्यमा छिट्टै सुधार भएको तथा दोस्रो डोज लगाएकाहरु सिकिस्त बिरामी नभएको अनुभव कोरोना बिरामीको उपचारमा संलग्न चिकित्सकहरुको छ।
खोप लगाएका व्यक्तिहरु संक्रमित भएर अस्पताल पुगेपनि उनीहरुको मृत्यु नगन्य रहेको उहाँहरुको भनाइ छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
नेपालमा कोरोना संक्रमणको पहिलो केस भेटिएदेखि नै यसको उपचारमा खटिइरहनु भएका टेकू अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.अनुप बास्तोलाको पनि त्यही अनुभव छ। खोप लगाएका व्यक्तिमा जटिलता र मृत्युको जोखिम अति न्यून रहेको उहाँले जानकारी दिनुभयो।
त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पताल कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले उक्त अस्पतालमा कोरोनाका कारण ज्यान गुमाएका मध्ये ८० प्रतिशत एक डोज पनि खोप नलगाएकाहरु रहेको जानकारी दिनुभयो।
मृत्यु भएकामध्ये २० प्रतिशतले १ डोज खोप लगाएको डा. दासले बताउनु भयो। उहाँका अनुसार दुवै डोज खोप लगाएका कोही बिरामीको अहिलेसम्म शिक्षण अस्पतालमा मृत्यु भएका छैनन्।
पछिल्लो दिनमा शिक्षण अस्पतालमा दैनिक २१ जनासम्म कोरोनाका बिरामीको मृत्यु हुने गरेको त्यहाँका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। मृत्यु हुने ३० भन्दामाथि उमेरका छन्। अहिले उक्त अस्पतलामा करिब ४ सय संक्रमितको उपचार भइरहेको छ।
वीर अस्पताल
वीर अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा.अच्यूत कार्कीका अनुसार सो अस्पतालमा अहिले उपचाररत गम्भीर अवस्थाका संक्रमित बिरामी,खोप नलगाएकाहरु नै छन्।
सबै संक्रमितलाई खोप लगाए/ नलगाए बारे नसोधिए पनि जटिल प्रकृतिका संक्रमितहरुसँग वुझ्दा उनीहरुले खोप नलगाएको पाइएको उहाँले बताउनुभयो। ‘पहिलो डोज खोप लगाएका केही व्यक्तिहरु पनि संक्रमण भई अस्पताल आउनु भएको थियो।
खोप नलगाएका संक्रमितको तुलनामा उहाँहरु छिट्टै निको भएको हामीले पायौँ’ डा. कार्कीले भन्नुभयो’ अस्पतालमा आएका सबै संक्रमित र उहाँहरुका आफन्तसँग खोपबारे सोधपुछ गर्न त भ्याएको छैन तर सोधिएकामध्ये धेरैले खोप नलगाएको बताएका छन्।’
वीरमा ५० भन्दामाथि उमेरका संक्रमितहरुको मृत्यु धेरै भइरहेको र उनीहरुले खोप नलगाएको पाइएको उहाँले जानकारी दिनुभयो।
पहिलो लहरमा २ दिनमा एक संक्रमितको मृत्यु हुने गरेको वीरमा अहिले दिनको ५ जनासम्मको मृत्यु हुनेको गरेको छ। वीरमा अहिले २०० भन्दा बढी संक्रमित उपचाररत छन्। मंगलबार साँझसम्म ८ जना आइसियु र ६ जना भेन्टिलेटरमा छन्।
भेरियन्ट परिवर्तन र उच्च संक्रमणले धेरै मृत्यु
दोस्रो लहरमा मृत्युदर उच्च गत वर्ष संक्रमितको संख्या उच्च भएपनि मृत्यु हुनेको संख्या कमै थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको एक महिनामा मात्रै नेपालमा २१२७ जना संक्रमितको मृत्य भइसकेको छ। विगत एक सातामा १३३८ जनाको मृत्यु भएको छ।
भाइरसको भेरियन्ट परिवर्तन हुनु र संक्रमितको संख्या ह्वात्तै बढ्दा मृत्युदर बढेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.कृष्ण पौडेल बताउनुहुन्छ ।
एक्कासी एकैपटक संक्रमित थपिँदा उपचार, नियन्त्रण र व्यवस्थापनमा समस्या देखिएको उहाँको बुझाइ छ।
ज्यान गुमाउने कुन उमेरका कति ?

स्वास्थ्य मन्त्रनलयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ५ हजार ४११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै ६० भन्दामाथि उमेरका छन्। सो उमेरका २९०९ जना संक्रमितको मृत्यु भएको छ। ५० देखि ५९ वर्षका ९५५, ४० देखि ४९ वर्षका ७१९, ३० देखि ३९ वर्षका ४२९, २० देखि २९ उमेर सम्मका १४५ जनाको मृत्यु भएको छ। २० वर्षमुनिका २९ र ९ वर्षमुनिका २९ बालबालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
नेपालमा कतिले खोप पाए?
गत माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो। उक्त अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, महिला स्वास्थ्यकर्मी तथा कोरोना व्यवस्थापन तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई खोप दिइएको थियो।
सबै उमेर समूहअनुसार खोप पाएकाहरुको विवरण अध्यावधिक गरिनसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोपशाखा प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिनुभयो। अहिलेसम्म अध्यावधिक गरिएको विवरण अनुसार नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २१ लाख १३ हजार ६६३ रहेको डा.गौतमले बताउनुभयो।
कुन खोप कतिलाई ?
नेपालमा हालसम्म दुई प्रकारका कोरोना खोप भित्रिएको छ। बेलायतको भारतमा उत्पादित कोभिशिल्ड खोप र चीनले उत्पादन गरेको भेरोसिल खोपको प्रयोग नेपालमा भइरहेको छ।
भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप आएपछि नेपालमा खोप अभियान सुरु भएको थियो। पछि सोही खोप सरकारले खरिद गरेर ल्याएको थियो। त्यसपछि चीन सरकारले अनुदानमा दिएको भेरोसिल खोप नेपाल आएको हो। त्यसबाहेक अन्य खोप नेपाल आएको छैन।
कोभिशिल्ड
पहिलो मात्रा : १८ लाख २३ हजार ६६३ जना
दोस्रो मात्रा : ३ लाख ७० हजार ३२६ जना
भेरोसिल
पहिलो मात्रा : २ लाख ९० हजार जना
दोस्रो मात्रा : जेठ २ र ३ गते लगाएका ३२ हजार जना
अग्रपंक्तिमा खटिएका ४ लाख २९ हजार जना र ६५ वर्षमाथिका करिब ९ लाख जेष्ठ नागरिकले कोभिशिल्डको पहिलो मात्रा पाएका थिए।
खोप लगाएलाई जटिलताको जोखिम कम
खोपको प्रभावकारिता बारे अध्ययन गर्नका लागि कोरोना बिरामीको उपचार भइरहेका अस्पतालहरुमा तथ्यांक संकलन गर्न लागिएको खोप शाखा प्रमुख डा.गौतमले जानकारी दिनुभयो। ‘नेपालमा खोपबारे विस्तृत अध्ययन हुन बाँकी छ, हाम्रो प्रारम्भिक अव्जरभेसनले के देखाएको छ भने खोप लगाएका व्यक्तिलाई संक्रमण भयो भने पनि उनीहरु गम्भीर बिरामी भएका छैनन्, गौतमले भन्नुभयो।
बाहिर भएका अध्ययनहरुले पनि खोप लगाएका व्यक्ति संक्रमित भइहाले उनीहरुलाई गम्भीर नबनाउने देखाइसकेको उहाँको भनाइ छ।
सबै नेपालीले कहिले पाउँछन् खोप ?
हाल नेपालमा भारतमा निर्मित कोभिशिल्डभ , कोभ्यासिन, चीनमा निर्मित भेरोसिल र रुसी स्पुतनिक खोपलाई प्रयोगको अनुमति दिइएको छ। नेपालमा स्पुतनिक र कोभ्यासिन खोप अहिलेसम्म भित्रिएका छैनन् । कोभिशिल्ड र भेरोसिल दुवै खोप १८ वर्षदेखि माथि उमेरका व्यक्तिका लागि हो।
सरकारले भारतसँग खरिद गरेको कोभिशिल्डमध्ये १० लाख मात्रा आउन बाँकी छ। भारतमा संक्रमण बढेको र भारतमै अत्याधिक माग भएकाले कोभिशिल्डको उत्पादनकर्ता सिरमले नेपाललाई खोप दिन नसकेको बताएको खोप शाखा प्रमुख डा.गौतमले बताउनुभयो।
जतिसक्दो छिटो खोप पठाउने जवाफ दिएको उहाँको भनाइ छ।
अन्य खोपका लागि खोप उत्पादन गरिरहेका मुलुक तथा कम्पनीहरुसँग पनि पत्राचार र कूटनीतिक पहल भइरहेको डा. गौतमले जानकारी दिनुभयो। कोभ्याक्समार्फत पनि खोप ल्याउने तयारी भइरहेकाले चाँडै खोप आउने विश्वास उहाँको छ।
तुलसा घिमिरे
तपाईँको अभिमत