तीन ठाउँमा पीसीआर परीक्षण, रिपोर्ट गोलमाल, युवकको आँखा गुम्यो
कोभिडमा आँखाको आकस्मिक शल्याक्रिया गर्ने व्यवस्था किन भएन ?

प्रतिकात्मक तस्विर ।
काठमाडौं । सल्यानका एक २१ वर्षीय युवाको न्युरोडमा निर्माण क्षेत्रको काम गर्ने क्रममा आँखामा चोट लाग्यो। उनको आँखा चोट लाग्यो। काम गर्दागर्दै फलाम उछ्टि्टएर आइ गम्भीर चोट लागेको थियो। घाइते भएका ती युवा तत्काल ट्रमा सेन्टरमा गए। ट्रमाबाट तिलगंगा आँखा अस्पताल रिफर गरियो।
त्यहाँ पुर्याएपछि कोभिड परीक्षण गर्न काठमाडौं मेडिकल कलेज पठायो। सोही दिन ती युवाको स्वाब संकलन गरी परीक्षण गरियो १६ गते आएको रिपोर्टमा कोरोना संक्रमण देखियो। रिपोर्ट पोजिटिभ आएपछि तिलगंगा आँखा अस्पतालले शल्यक्रिया गर्न नमिल्ने भन्दै आइसोलेसनमा बस्न पठायो।

उनले १६ गते हेम्स अस्पतालमा कोभिड परीक्षणका लागि स्वाब दिए १८ गते आएको रिपोर्टमा नेगेटिभ देखियो। हेम्स अस्पतालको रिपोर्ट बोकेर पीडित युवा अब शल्यक्रिया गर्नु पर्यो भनेर तिलगंगा अस्पतालमा पुगे। तर अस्पतालले पीसीआर रिपोर्ट कतै पोजेटिभ र कतै नेगेटिभ आएकाले शंकास्पद भएकाले यसैका आधारमा शल्यक्रिया गर्न नसक्ने जानकारी दियो। अस्पतालले पुन एक पटक परीक्षण गर्नुपर्ने बताए।

त्यसपछि असोज १८ गते नै पुन परीक्षणका लागि सिनामंगलस्थित डीकोड ल्याबमा स्वाब दिए। भोलिपल्ट आएको रिपोर्टमा पोजेटिभ देखियो।
एउटै व्यक्तिको तीन दिनको फरकमा तीन प्रयोगशालामा स्वाब परीक्षण गराउँदा तीन थरी रिपोर्ट देखियो।

पीडितले हारगुहार गर्दै चिनेका एक नेतामार्फत स्वास्थ्यमा जानकारी गराउँदै उपचारका लागि पहल गरे। मन्त्रालयलले ती व्यक्तिको शल्यक्रिया गरिदिन आग्रह समेत गर्यो तर तीन प्रयोगशालामा कोरोनाको फरक–फरक रिपोर्ट आएका ती युवाको तिलगंगा अस्पताल सहित बीपी काेइराला आँखा अस्पताल महाराजगन्ज र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा पहल गर्दा पनि कोभिडको शल्यक्रिया गर्ने व्यवस्था नभएको भन्दै ती युवाको शल्यक्रिया हुन सकेन।
पीसीआर परीक्षण र उपचारका लागि दौडधुप हुँदाहुँदै आँखा अब काम नलाग्ने भइसकेको पीडितले बताउनु भएको छ। बेलैमा उपचार भएको उनको आँखाले काम गर्ने अवस्था थियो। अब आँखा काम नलाग्ने भएको भन्दै तिलगंगा अस्पतालले कोभिडबाट संक्रमणमुक्त भएपछि शल्यक्रिया गर्ने गरी उनलाई आइसोलेसनमा बस्न आग्रह गर्यो। पीडित युवा अहिले गौशालास्थित एक होटलमा आइसोलेसनमा बसिरहेका छन्।
कोभिड संक्रमण देखिएकै खण्डमा पनि आकस्मिक रुपमा गर्नुपर्ने शल्यक्रियाको व्यवस्था हुनुपर्ने हो। एक घाइतेले २१ वर्षको उमेरमा नै आँखा गुमाउनु परेको छ।
तीन दिनमा एकै व्यक्तिको परीसीआर परीक्षणको रिपोर्ट फरक–फरक देखिँदा यहाँका निजी प्रयोगशालाहरुको पीसीआर परीक्षणको विश्वसनीयतामा पनि प्रश्न उठेको छ। पीसीआर परीक्षण रिपोर्टको गोलमालकै कारण युवाको उपचार गर्न अस्पताललाई समस्या भयो। नेपालमा कोभिड–१९ संक्रमण फैलिएको निकै लामो समय भइसक्यो। कोभिड संक्रमणको अवस्थामा पनि आँखाको आकस्मिक शल्यक्रिया गर्ने व्यवस्था अहिलेसम्म किन भएन ? यसले जटिल समस्या निम्त्याउने यो घटनाले देखाएको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत