नेपालमा सन २०३० सम्म थप ९० हजार चिकित्सक, स्वास्थ्यकर्मी चाहिने
नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९–८७
नेपालकाे चिकित्सा क्षेत्रमा अबको ७ वर्षमा अहिले कार्यरत भन्दा थप ८९ हजार ९१८ जनशक्ति चाहिने प्रक्षेपण चिकित्सा शिक्षा आयोगले गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानेर ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९–८७’ प्रकाशित गरेको छ । जसमा उपलब्ध र चाहिने स्वास्थ्य जनशक्तिको आँकलन गरिएको छ । सन २०३० सम्म १५ हजार ४३५ जना विशेषज्ञ चिकित्सक आवश्यक पर्ने भनिएको छ ।
हाल कार्यरत विशेषज्ञ जनशक्तिको संख्या ८ हजार २९१ छ ।सन २०३० सम्म जनरल मेडिकल प्राक्टिसनरको संख्या २९ हजार ७८४ पुग्ने प्रक्षेपण छ। अहिले यो संख्या १७ हजार ७०८ रहेको छ ।
आयोगले २०८७ / ०८८ अर्थात सन् २०३० सम्ममा १२ विधाका गरी ३ लाख १ हजार ८९५ स्वास्थ्यका जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको छ।
यो जनशक्तिमा विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, नर्सिंङ पेसाका पेसाविद्, नर्स तथा अनमी, परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने स्वास्थ्यकर्मीहरू, स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यवस्थापक तथा सहायक कर्मचारीहरू पर्दछन् ।
हाल २ लाख ११ हजार ९७७ जना स्वास्थ्यकर्मी कार्यरत छन् । वर्ष २०७७ / ७८ मा स्वास्थ्य जनशक्तिको आवश्यकता २ लाख ७५ हजार २०३ रहेकोमा ६३ हजार २२६ जना जनशक्ति कम रहेको देखिएको छ ।
साथै स्वास्थ्य स्वंमसेविका ५७ हजार ४३ जना चाहिने अनुमान आयोगको छ । अहिले देशभर झण्डै ५२ हजार स्वयमसेविका रहेका छन् ।
२०७७/७८ सम्म जनरल मेडिकल प्राक्टिसनरहरू १७ हजार ७०८ र विशेषज्ञ चिकित्सक ८ हजार ७६२ जना उत्पादन भएका छन्।
सबैभन्दा बढी नर्सिङ तथा प्रसूति सम्बन्धी सहायक पेसाविदहरू १ लाख १० हजार १५५ उत्पादन भएका छन्। त्यसैगरी अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसाविद्हरूको (प्रमाणपत्र तह र तालिम) जनशक्ति उत्पादन ६१ हजार ५९४ भएको छ ।
आयोगले प्रक्षेपण गरेको जनशक्तिमा फिजिसियन ट्रपिकल मेडिसिन, नियोनेटोलोजिष्ट,क्लिनिकल जेनेटिसष्ट, मेडिकल अंकोलोजिष्ट, क्लिनिकल साइकोलोजिष्ट,अडियोलोजिष्ट स्पिच थेरापिष्ट, स्वास्थ्य शिक्षा टेक्निसियन,युएसजि टेक्निसियन, आकस्मिक चिकित्सा टेक्निसियन, अकुपंचर विज्ञ,आयुर्वेद स्वास्थ्य प्रशासकको जनशक्ति पुर्याउन गाह्रो हुने देखिएको छ । यी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने अध्ययनले देखाएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीले चिकित्सा क्षेत्रको जनशक्ति आँकलन र उत्पादनको विषय प्रक्षेपण योजना अनुरुप उक्त प्रक्षेपण आयोगको जेठ २ गते बसेको बैठकबाट जनशक्ति प्रक्षोपण पारित भएको थियो ।
विश्व स्वास्थ्य संगठनले जनसंख्यामा आधारित स्वास्थ्य जनशक्ति गणनाको मापक निर्धारण गरेको छ । जसमा प्रतिहजार जनसंख्यामा ४.४५ प्रतिशत स्वास्थ्यका जनशक्ति हुनपर्ने उल्लेख छ । तर नेपालमा यो मापदण्डअनुसार जनशक्ति वितरण हुन सकेको छैन ।
यसमा चिकित्सक,नर्स र मिडवाइफरी पर्दछन् । नेपालमा स्वास्थ्य सेवा प्रवाहका लागि आधारभूत स्वास्थ्य केन्द्रदेखि विशिष्टीकृत अस्पतालसम्मको संस्था सन्चालनमा छन् ।
५ बेडदेखि ५०० बेडसम्म ७ हजार ८८९ अस्पतालहरुले स्विृकृति पाएका छन् । जसमा केही अस्पताल स+चालनको तयारीमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोगलाई उपलव्ध गराएको विवरणअनुसार नेपालमा १० हजार १३९ वटा स्वास्थ्य संस्था छन् ।
जसमा सरकारी ७ हजार ८८९ र सरकारी बाहेकका अन्य संस्था २२ सय ५० वटा छन् ।





हेल्थपाटी
तपाईँको अभिमत