खचाखच हुने गरी अस्पताल आउने बिरामी कहाँ गए ? दीर्घकालीन असर कस्ताे ?
काठमाडौंका ठूला अस्पतालहरुमा कोरोना महामारीअघि दिनहुँ हजारौँ बिरामी स्वास्थ्य परीक्षण गर्न लाम लागेको हुन्थे । ती अस्पताल अहिले खाली–खाली देखिन्छन् ।
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अन्य स्वास्थ्य सेवा प्रभावित भएको छ । अस्पतालमा आउने अन्य रोगका लाखाैँ बिरामीहरु घरमानै बस्नुपर्ने बाध्यकारी अवस्था सृजना भएको छ । सार्वजनिक यातायातका साधन नचलेको तथा हवाई उडानसमेत नहुँदा नयाँ मात्रै होइनन् पुराना बिरामी फलोअपमा जान पाएका छैनन्।
यस्तै अस्पतालको पहुँचमा रहेकाहरु पनि अस्पतालमा संक्रमण हुने डरले स्वास्थ्य समस्या बोकेर घरमै बसिरहेका छन् । समयमै अस्पताल नजाँदा पछि समस्या आउन सक्ने जानकारी भए पनि सर्वसाधरण हतपत अस्पताल जान सकिरहेका छैन अथवा चाहिरहेका छैनन् । अस्तपाल सुरक्षित छ भन्नेमा विश्वस्त हुन सकिरहेका छैनन् ।
नियमित चेकजाँच गराइरहनु पर्ने जेष्ठ नागरिक त्यसमाथि दीर्घरोगी पनि कोरोनाको जोखिमका कारण अस्तपाल गएका छैनन् । अत्यावश्यकबाहेक अस्पताल नजान सुझाइएको छ । दीर्घरोगी जसको नियमित क्लिनिकल टेष्ट गर्नैपर्ने हुन्छ उनीहरु सुरक्षाका मापदण्ड अपनाई अस्पताल जानुपर्ने चिकित्सकहरु बताउछन्।
काठमाडौंका ठूला अस्पतालहरुमा कोरोना महामारीअघि दिनहुँ हजारौँ बिरामी स्वास्थ्य परीक्षण गर्न लाम लागेको हुन्थे । ती अस्पताल अहिले खाली–खाली देखिन्छन् । श्वास–प्रश्वास, मुटु, मधुमेह, मिर्गौला, क्यान्सर, उच्च रक्तचाप लगायतका जोखिमपूर्ण रोगसँग लडिरहेका बिरामीहरु अस्पताल पुग्न सकेका छैनन्।
दीर्घरोगीहरु क्लिनिकल परीक्षण गरी औषधिको मात्रा फेरबदल गर्नुपर्ने हुनसक्छ । यसै कारणले पनि उनीहरु नियमित फलोअपका लागि अस्पताल जानपर्ने मुटुरोग विशेषज्ञ तथा शहीद गंगालाल हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणी अधिकारी बताउनुहुन्छ।
विगतको तथ्यांकअनुसार एक महिनामा कम्तिमा ८४ हजार नयाँ बिरामी आउने यस अस्पतालमा अहिले महिनामा १० हजार पुग्न मुस्किल छ।
नेपालमा उच्च रक्तचाप र मुटुरोग दीर्घरोगीहरु धेरै छन् । करिब २६ लाख नेपाली कुनै न कुनै किसिमको मुटुको समस्याबाट पीडित छन् भने ७५ लाख नेपाली उच्च रक्तचापको समस्याबाट ग्रसित रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रमा महामारी अघि दिनको करिब ७ – ८ सय बिरामी ओपीडीमा आउने गरेकोमा हाल दिनको लगभग ६० जनामात्रै आइरहेको अस्पतालले जानकारी दिएको छ।
यस अस्पतालमा महिनामा करिब २४ हजारका दरले पनि ६ महिनामा १ लाख ४४ हजार बिरामी आउनपर्ने तथ्यांकले देखाउँछ तर ६ महिनामा लगभग ३० हजार बिरामी मात्रै अस्पताल आएका छन्।
उपत्यकामा लकडाउन खुलेपछि ओपीडिमा आउने बिरामीको संख्या २५० सम्म पुगेकोमा फेरि निषेधाज्ञापछि यो संख्या घटेर ६० मा झरेको गंगालालका निर्देशक डा. अधिकारीले जानकारी दिनुभयो।
‘आकस्मिक सेवाका लागि आउने बिरामी घटेको छैन तर ओपीडी र फलोअपका बिरामी अत्याधिक कम छ ।’ डा. अधिकारी भन्नुहुन्छ । उहाँका अनुसार इलेक्ट्रिक सर्जरी ५० प्रतिशत घटेको छ भने छाती चिरेर गर्नुपर्ने सर्जरी त्यो भन्दा कम रहेको छ ।
उहाँले सर्जरीको समय केही समय पर सार्दा असर नपर्ने बिरामीलाई असर नपरे पनि छाती चिरेर सर्जरी गर्नैपर्ने बिरामीले बन्दका कारण रगत तथा आवश्यक औषधि नपाउने समस्या भएको बताउनुभयो।
सर्जरी गरेका अथवा मुटु सम्बन्धि अन्य समस्या भएका बिरामीहरु डाक्टरले बोलाएको बेलामा अस्पताल आउनै पर्नै उहाँको भनाइ छ । स्वास्थ्य सुरक्षा अपनाएर अस्पताल आई परीक्षण गराउन उहाँले आग्रह गर्नुभयो । ‘उच्च रक्तचापको औषधि लिइरहनुभएका बिरामीहरुको रक्तचाप मापन गरी औषधि फेरबदल गर्नपर्ने पनि हुनसक्छ।’ डा.अधिकारी भन्नुभयो । त्यस्ता बिरामीलाई नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहन आग्रह गर्नुभयो।
शिक्षणमा पनि उस्तै
यस्तै सबै खाले रोगको उपचार भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हाल २०० देखि २५० जना नयाँ बिरामी आइरहेका छन्। विगतका वर्षहरुमा यो समयमा दिनको २८ सय सम्म बिरामी आउने गर्थे । विगतको तथ्यांकअनुसार एक महिनामा कम्तिमा ८४ हजार नयाँ बिरामी आउने यस अस्पतालमा अहिले महिनामा १० हजार पुग्न मुस्किल छ।
यस तथ्यांक अनुसार ५ महिनामा शिक्षण अस्पतालमा कम्तिमा ४ लाख २० हजार बिरामी आउनुपथ्र्याे तर यो संख्या ४० हजारमा मात्रै सीमित भएको छ । ‘कोरोनाका बिरामीको उपचार भइरहेको छ भनेर बिरामीहरु गेटसम्म आउन पनि डराइरहेका छन्’ त्रिवि शिक्षण अस्पतालका निर्वतमान निर्देशक डा.रोहित पोखरेल सुनाउनु हुन्छ । अस्पताल आउनेको संख्या बढ्न धेरै समय कुर्नपर्ने उहाँको बुझाइ छ। अस्पतालमा सावधानी अपनाइएकाले डर नमानी आएर डाक्टरलाई देखाउन पोखरेले आग्रह गर्नुभयो।
रोग पहिचानमा ढिलाई हुँदा उपचार महँगो हुने मात्रै होइन बिरामीको अवस्था गम्भीर हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा दैनिक ४ देखि ५सय बिरामी आउने गरेकोमा अहिले त्यो संख्या घटेर ४०–५० मा झरेको छ । हाल नेपालमा साना ठूला गरी मिर्गौलाका करिब ३० लाख बिरामी छन् । ५ हजार बढी बिरामीले नियमित डाइलाइसिस गरिरहेका छन्। सातामा दुईपटक नियमित डाइलाइसिस गराउनुपर्ने कतिपय बिरामी बन्दाबन्दीले अस्पताल पुग्न सकेका छैनन्।
हाल नेपालमा १ लाख क्यान्सरका बिरामी छन् । प्रत्येक वर्ष ५५ देखि ६० हजार क्यान्सरका बिरामी थपिने गरेका छन् । तर कोरोनाका कारण क्यान्सर रोगको स्क्रिनिङमा समस्या भएको छ । यसले रोग निदानमा ढिलाई हुन्छ । रोगको निदान हुन ढिला भएपछि सामान्य उपचारबाट नै निको हुने रोग पनि जटिल हुने चिकित्सकहरुको भनाइ छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेले रोग पहिचानमा ढिलाई हुँदा उपचार महँगो हुने मात्रै होइन बिरामीको अवस्था गम्भीर हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
‘मानौ एउटा गिर्खामात्रै थियो र थाहा पाउने बित्तिकै स्क्रिनिङ गरेमा त्यसको उपचार शल्यक्रिया गरेर मात्रै पनि हुनसक्न’ थाहा हुन्छ’ उदाहरण दिदै न्यौपाले भन्नुहुन्छ ‘किमोको आवश्यकता नपर्न सक्छ र बिरामीमा आर्थिक भार कम हुन्छ । तर त्यही गिर्खाको समयमै उपचार हुन नसके क्यान्सरले गालेर बिरामीको मृत्यु समेत हुनसक्छ ।’
त्यस्ता बिरामीहरु पूर्णसावधानी अपनाएर अस्पताल आउनु पर्ने उहाँको सुझाव छ । विभिन्न स्थानमा भएका निषेधाज्ञाले औषधिको आपूर्ति कम हुँदा किमो थेरापीमासमेत समस्या देखिएको डा.न्यौपानेको भनाइ छ।
‘अन्यलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखेर निगरानी गर्नसके धेरै हदसम्म समस्याको समाधान हुन्थ्यो’ उहाँले भन्नुभयो।
थापाथलीमा भने उस्तै चाप
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापालथलीमा भने बिरामीको चाप खासै नघटेको अस्पतालले जनाएको छ । लकडाउनअघि फागुनमा १५ हजार २४३ जना ओपिडीमा आएकोमा श्रावणमा १० हजार नयाँ बिरामी आएका छन् भने सुत्केरी गराउन आउनेको संख्या पहिलाको जत्तिकै छ।
यातायातका कारण करिव १० प्रतिशत नयाँ बिरामी अस्पताल नआएको भएपनि सुत्केरी गराउन आउनेको संख्यामा खासै कमी नआएको अस्पतालका निर्देशक डा.संगिता मिश्रले जानकारी दिनुभयो।
यस्तो समयमा स्थानीय वडा कार्यालयहरुले बिरामीहरुका बारेमा सोधखोज गरी अस्पताल पुग्नै पर्ने बिरामीलाई समन्वय गरी अस्पताल पठाउने पठाउनु पर्ने डा. मिश्रको भनाइ छ । ‘अन्यलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखेर निगरानी गर्नसके धेरै हदसम्म समस्याको समाधान हुन्थ्यो’ उहाँले भन्नुभयो।
यस्तै साइलेन्स किलरका रुपमा देखिएको मधुमेहका बिरामीको संख्या कम्तिमा ८ लाख रहेको बताइन्छ । यसो त अहिले धेरै बिरामीहरुले फोनमार्फत नै डाक्टरसँग परामर्श लिइरहेका छन् । आफूसँग १५÷२० जना बिरामीले फोनबाटै स्वास्थ्यबारे परामर्श लिइरहेको वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम बताउनुहुन्छ । तर औषधि फेरबदल गर्न थप परीक्षणहरु गर्नुपर्ने भएकाले त्यस्ता बिरामी अस्पताल आउनपर्ने उहाँको भनाइ छ ।
पहिला–पहिला अस्पतालहरुमा हुने त्यो भीड बिरामी अहिले कहाँ र कस्तो अवस्थामा होलान् ? यसबारे कहीँ कतैबाट खासै चासो व्यक्त गरिएको पाइँदैन।
विपन्न औषधि उपचार कार्यक्रमको सुविधा लिइरहेका दीर्घरोगीहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे विपन्न औषधि उपचार कार्यक्रमको सुविधा लिइरहेका दीर्घरोगीको तथ्यांक हेदा आर्थिक वर्ष २०७६÷७७ मा ५४ हजार ८८५ जना दीर्घरोगीले यो सुविधा लिएका छन्।
मिर्गौला, क्यान्सर, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किसनस, अल्जाइमर्स र सिकलसेल एनिमियाका बिरामीले विपन्न उपचार सुविधा लिइरहेको स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली शाखाले जनाएको छ।
शाखाका अनुसार मिर्गौलाका ६ हजार ४४७, क्यान्सरका ३४ हजार ६६७, मुटुरोगका ५ हजार ७६१ बिरामीले यो सुविधा लिएका छन् । हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स, अल्जाइमर्स र सिकलसेल एनिमियाका गरी ६ हजार ९८० जनाले राज्यबाट उपचार खर्च लिएका छन्।
हाल देशभर सरकारी तथा निजी गरी ४ हजार ४ सय ८५ स्वास्थ्य संस्था रहेका छन् । बिरामीले भरिने ती अस्पताल तथा स्वास्थ्य संस्थामा अहिले बिरामी पुगेका छैनन् । पहिला–पहिला अस्पतालहरुमा हुने त्यो भीड बिरामी अहिले कहाँ र कस्तो अवस्थामा होलान् ? यसबारे कहीँ कतैबाट खासै चासो व्यक्त गरिएको पाइँदैन।
महामारी संक्रमणबाट बचेमा अन्य समस्या पछि हल गर्न सकिएला भन्ने सोचले रोग पालेर बसिरहेका छन् अहिले धेरै बिरामी । यसले तत्कालिक समस्या हल भएको देखिए पनि दीर्घ कालसम्म स्वास्थ्य क्षेत्रमा यसको असर देखिन सक्ने चिकित्सकहरु बताउनु हुन्छ।
तपाईँको अभिमत