आईसीयूका डाक्टरभन्दा सफाई कर्मचारी कोरोनाको उच्च जाेखिममा
वर्ण र आयअनुसार पीपीई वितरणमा पूर्वाग्रह
लन्डन । बेलायतका अस्पतालहरूमा गरिएको एक अध्ययनअनुसार सघन उपचार कक्ष (आईसीयू) मा काम गर्ने चिकित्सकभन्दा सफाई गर्ने कर्मचारीलाई कोरोनाको जोखिम बढी देखिएको छ । महामारीको उच्चतम अवस्था रहेको बेला गरिएको सो अध्ययनमा गोरा सहकर्मीको तुलनामा अश्वेत, एसियाली तथा अल्पसंख्यक आदिवासी पृष्ठभूमिका कर्मचारीमा संक्रमण दोब्बर देखिएको हो ।
यो हुनुको पछाडि जात तथा आयअनुसार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वितरणमा पूर्वाग्रह मुख्य कारण भएको अध्ययनले देखाएको छ । थोर्याक्स जर्नलमा प्रकाशित अध्ययनअनुसार सघन थेरापी कक्ष (आईटीपी) मा काम गर्नेलाई प्राथमिकता दिई उच्च तहको मास्क तथा अन्य उपकरण दिइएको थियो । ‘तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा आईटीयूमा काम गर्नेलाई राम्रोसँग सुरक्षा सामग्री प्रदान गरिएको थियो’, अनुसन्धान प्रमुख प्राध्यापक एलेक्स रिचरले भन्नुभयो ।
अध्ययनका क्रममा २० हजारभन्दा बढी कर्मचारी भएको बर्मिङ्घम विश्वविद्यालय अस्पताल अन्तरगतका ५०० कर्मचारीलाई कोरोना संक्रमण भएको पाइयो । सबै कर्मचारी बेलायतमा महमारी उच्च विन्दुमा पुगेका बेला संक्रमित भएका हुन् । जुनबेला लकडाउन थियो ।
अध्येताहरूले दुई किसिमको परीक्षण गरेका थिए । एउटा भर्खरै संक्रमण भएको हो कि भनेर पत्ता लगाउने र अर्को पहिले नै संक्रमण भइसकेको र संक्रमित व्यक्तिले एन्टिबडी विकास गरिसकेको हो कि भन्ने । ५४५ जनामा गरिएको परीक्षणमा २.५ प्रतिशत कर्मचारीमा कोरोना पुष्टि भयो । त्यस्तै ५१६ जनाको रगतको नमुना परीक्षण गर्दा २४ प्रतिशतले भाइरसविरुद्ध एन्टिबडी विकास गरेको पाइयो ।
२९ जनामध्ये १० जना सफाई कर्मचारी उक्त अध्ययनमा सामेल थिए । जसमध्ये ३४.५ प्रतिशतमा कोरोनाविरुद्ध एन्टिबडी विकास गरेको पाइयो । त्यस्तै इमर्जेन्सीमा उपचार गर्ने चिकित्सक तथा अस्पतालको आन्तरिक औषधी वितरणकाे काम गर्नेमा क्रमशः ३३ र ३० प्रतिशत संक्रमण देखियो । तर आईसीयूमा काम गर्नेलाई भने संक्रमण दर कम देखियो । आईसीयूमा काम गर्ने ६१ जनामध्ये ९ जना अर्थात् करिब १५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
अनुन्धाताहरूले आफूहरूको सतही अध्ययन मात्र भएको र तुरुन्त अर्को विशेष अनुसन्धान गर्नुपर्ने सुझाएका छन् । विशेषगरी आदिवासीको कोणबाट अध्ययन तथा अनुसन्धान हुनुपर्ने बताएका छन् । अध्ययनले बेलायत तथा अमेरिका जस्ता मुलुकमा जातीय रूपमा स्वास्थ्य सेवा क्षेत्रमा काम गर्ने कर्मचारीलाई कसरी असमान व्यवहार गरिएको छ भन्ने देखिएको छ ।
यसले श्वेत कर्मचारीभन्दा अन्य कर्मचारीले कोभिड–१९ संक्रमणबाट बढी ज्यान गुमाउन सक्ने देखिएको अध्ययनमा उल्लेख छ । गत महिना ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययनअनुसार महामारीको सुरुवातताका फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मीलाई साधारण उपचार कक्षमा काम गर्नेलाई भन्दा ३ गुणा बढी भाइरस संक्रमणको जोखिम हुने देखिएको थियो । अहिले आदिवासी अल्पसंख्यक स्वास्थ्य कर्मचारीमा सो दर बढेर ५ गुणा बढी संक्रमण हुने देखिएको छ ।
ब्रिस्टोन विश्वविद्यालयका प्राध्यापक टीम कुकले पनि आईसीयूमा काम गर्ने चिकित्सकलाई अस्पतालका अन्य क्षेत्रमा काम गर्नेलाई भन्दा कम संक्रमण जोखिम हुने कुरामा सहमति जनाउनु भएको छ । उहाँले पीपीईको उपलब्धता र गुणस्तर यसको एक कारण भएको बताउनुभयो । त्यस्तै सुरक्षा सामग्रीको प्रयोग गर्ने कला, सचेतता आदिका कारण पनि यस्तो हुने उहाँले बताउनुभयो ।
प्राध्यापक कुकले पछिल्लो अध्ययनबाट सुरुवातमा भन्दा पछि सघन कक्षसम्म संक्रमित बिरामी आइपुग्दा भाइरस सर्ने जोखिम कम भएर जाने देखिएको बताउनुभयो । ‘संक्रमित बिरामीलाई सुरुवातमा उपचार वा रेखदेख गर्दा सर्ने जोखिम बढी हुन सक्छ’, उहाँले भन्नुभयो, ‘यो सबै कार्य सुरुवातमा वार्डहरूमा भएका कर्मचारीले गर्नुपर्छ ।’
अल्जजीराबाट ।
हेल्थपाटी
तपाईँको अभिमत