दुर्घटनाबाट हुने मृत्युलाई रोक्न प्राथमिक उपचार
काठमाडौं । आज विश्व प्राथमिक उपचार दिवस । महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास भन्ने मुख्य नाराका साथ विभिन्न सचेतना कार्यक्रम गरि मनाईंदैछ । विभिन्न घटना, दुर्घटनामा घाइते भएकाहरुको अकालमा हुने मृत्युलाई रोक्न तत्काल घटनास्थलमै गरिने उपचार प्राथमिक उपचारको महत्व दर्साउन प्रत्येक वर्ष सेप्टेम्बरको दोस्रो शनिबार यो दिवस मनाउने गरिन्छ ।
प्राथमिक उपचारको ज्ञान भएमा दुर्घटना भइहाले घाइतेहरुको जीवन जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । प्राथमिक उपचारका बारेमा जानकारी राखेमा यदि घरपरिवार तथा समाजमा कोही पनि दुर्घटनामा परे उनीहरुलाई थप जटिलताबाट जोगाउन सकिन्छ । अचानक आउने साना – ठूला दुर्घटनाहरुबाट तत्काल अपनाइने साधारण उपचार विधि नै प्राथमिक उपचार हो ।
प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ ।
दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस् भनेर घाइतेलाई चिकित्सकको पहुँचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ ।
विशेषगरि कलकारखाना, विद्यालय, कलेज, गाडी तथा पदयात्राका बेला अनिवार्य रुपमा प्राथमिक उपचारका किटहरुको व्यवस्था गरिनुपर्छ । खासगरि मल्हम, पट्टी, ह्याण्डीप्लाष्ट, आधारभूत औषधि, जीवनजल, सामान्य कैँची, ब्लेड, थर्माेमिटरको व्यवस्था गरि राख्नुपर्छ । मानिसलाई दुर्घटना तथा चोटपटकबाट हुने क्षतिलाई कम गर्न प्राथमिक उपचारकर्ताको तालिम प्रत्येकलाई हुनुपर्ने आवाज उठ्दै आएको छ ।
तपाईँको अभिमत