उद्योगी रुगंटा : कर्मचारीकाे कोरोना बीमाकाे रकम मेराे कम्पनीले खानुपर्छ ?
काठमाडौं । वीरगञ्ज गण्डकस्थित मारुती फर्माका कर्मचारीहरुले आफूहरुले पाउने कोरोना बीमाको रकम फर्माले पूरै नदिएको गुनासो गरेका छन् । कोरोना पुष्टि भएपछि बीमा कम्पनीले उपलव्ध गराएको प्रतिव्यक्ति १ लाख रुपैयाँमध्ये फर्माले ५०–५० हजार रुपैयाँ मात्रै दिएको कर्मचारीहरुको गुनासो छ ।
नेपाल औषधि उत्पादक संघका केन्द्रिय कोषाध्यक्ष एवं प्रदेश २ संयोजकसमेत रहनुभएका मारुती फर्माका सञ्चालक प्रभात रुगंटाले कर्मचारीहरुको बुझाइमा फरक परेको बताउनुभयो । उहाँका अनुसार कम्पनीमा कार्यरत १६५ जनाको पीसीआर टेष्ट गरिएकोमा आफूसहित २१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना बीमा बापत् लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले अहिलेसम्म १२ जनाको बीमा रकम प्रतिव्यक्ति एक लाखका दरले भुक्तानी गरेकोमा कम्पनीले २० जना कर्मचारीलाई प्रतिव्यक्ति ५० हजारका दरले भुक्तानी गरेको रुंगटाले जानकारी दिनुभयो ।
बाँकी ९ जनाको आवश्यक कागजातका नपुगेका कारण बीमा कम्पनीले बीमा रकम भुक्तानी नगरेको बताउनुभयाे । उहाँले सो रकम भुक्तानी प्राप्त भएपछि कम्पनीले कर्मचारीलाई गरेको खर्च कटाई बाँकी हुन आउने रकम उपलव्ध गराउने भन्दै प्रतिप्रश्न गर्नुभयाे,'कर्मचारीकाे कोरोना बीमाकाे रकम मेराे कम्पनीले खानुपर्छ ?'
रुंगटा भन्नुहुन्छ, 'धेरै अप्ठेराहरु छन्, कर्मचारीको स्वास्थ्य सुरक्षा, औषधि उपचार सबै कम्पनीले गर्नुपर्छ अनि कोरोना पुष्टि भएपछि कर्मचारीहरु आइसोलेसनमा राख्नुपर्ने हुँदा उद्योग बन्द गर्नुपर्छ, कर्मचारीको परिवारलाई केही भए हामीहरुले नै हेर्नुपर्छ, उहाँले स्पष्ट पार्दै भन्नुभयो, कम्पनीले गरेको खर्च कटाएको हो, कम्पनीले गरेको खर्च त कटाउन पाउनु पर्छ नि, काेराेना बीमा गरेकै यसैका लागि हाेइन र ? बीमाकाे रकम भुक्तानी हुनु अगाडि कम्पनीले गरेकाे खर्च साेधभर्ना मात्र गरेकाे हाे, यसलाई गलत तरिकाले बुझ्न भएन ।'
उहाँले कर्मचारीको सहमतिमा कम्पनी र बीमाबाट आएको रकमबाट ५ लाखको सुरक्षा कोषको स्थापना गर्न बीमा रकमबाट २ लाख ५० हजार र कम्पनीको थप २ लाख ५० हजार गरि ५ लाखको कोषको स्थापना गर्न लागेको पनि बताउनुभयो ।
तपाईँको अभिमत