कोरोना विरुद्धको खोपले मानिस बिरामी, अक्सफोर्डले राेक्याे ट्रायल
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनकल ट्रायल स्थगित गरेको छ । विश्व नै कोरोना भाइरस विरुद्धको खोपको व्यग्र पर्खाइमा रहेका बेला यो घटनाले धक्का पुगेको छ । एस्ट्राजेनेले एक व्यक्ति बिरामी भएपछि क्लिनिकल ट्रायल स्थगित गर्न परेको बताएको छ ।
हाल विश्वका एक दर्जन स्थानमा खोपको परीक्षण भइरहेको छ तर जानकारहरुका अनुसार अक्सफोर्डको खोपको ट्रायल सबैभन्दा अगाडि थियो । तेस्रो चरणमा ३० हजार व्यक्तिलाई सहभागी गराई क्लिनिकल ट्रायल भइरहेको थियो र यो छिट्टै बजारमा आउने अपेक्षा गरिएको थियो । तेस्रो चरणको ट्रायलमा हजारौ मानिसलाई सहभागी गराइन्छ र सफलता हात पार्न वर्षाैं लाग्न पनि सक्छ ।
बीबीसीका मेडिकल एडिटर फर्गस वाँल्सका अनुसार एक व्यक्ति बिरामीभएपछि अक्सफोर्डले विश्वभर चलिरहेको क्लिनिकल ट्रायल रोकेको छ र यसबारे निष्पक्ष छानबिनपछि समीक्षा गरि ट्रायल गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिइनेछ । अक्सफोर्ड प्रवक्ताले ठूलो संख्यामा गरिने ट्रायलमा मानिस बिरामी हुने सम्भावना रहन्छ तर सावधानीका साथ यसको परीक्षण हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
धेरै संख्यामा परीक्षण गर्दा केही व्यक्ति बिरामी हुनुलाई जानकारहरु सामान्य ठान्दछन् तर बिरामीलाई अस्पताल भर्ना गरि उपचार गर्दा बिरामीको कारण पत्ता लाग्दैन भने ट्रायललाई रोक्ने चलन छ । अक्सफोर्डले आफ्नो क्लिनिकल ट्रायल रोक्नपरेको यो दोस्रो पटक हो ।
तपाईँको अभिमत