डा.सिंहसहित तीन सिनियर डाक्टरले जुनियर डाक्टरलाई कुटे

प्रतिकात्मक तस्बिर
वीरगञ्ज । वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले तलबभत्ता बृद्धि लगायतको माग राख्दै गरिरहेको आन्दोलनका विषयमा आइतबार भएको छलफलमा सहभागी चिकित्सक डा. विजयकुमार महतोलाई छलफल सकेर निस्कन लाग्दा कुटपिट गरेको भन्दै डा. विजयकुमार महतोले उजुरी दिनुभएकाे छ। डा.उदयनारायण सिंहसहित नारायणी अस्पतालमै कार्यरत डा.आरके सिंह र डा.दीपक चौरसियाले मारपिट गरेकाे आराेप पीडित चिकित्सकले लगाउनुभएकाे छ ।
मारपिटकाे आराेप लागेका तीन डाक्टर
महतोले आफूमाथि कुटपिट भएको भन्दै आवश्यक शान्ति सुरक्षा कायम गरी तीनै जनालाई कारबाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिनुभएकाे हाे । जिल्ला प्रशासन कार्यालयले कुटपिटमा संलग्नलाई आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएपछि तीनै जनालाई जिल्ला झिकाएर कारबाही प्रकृया अघि बढाउन लागिएको जिप्रका स्राेतले जनाएकाे छ ।
डा.उदयनारायण सिंह यसअघि पनि चिकित्सकहरुसँग हातपात भएको विषयमा मुछिनुभएकाे थियाे । कोरोना भाइरस संक्रमण रोकथाम र संक्रमितको उपचारमा डा. सिंह सकृय रुपमा खटे पनि आफ्नै सहकर्मीमाथि हातपातमा उत्रनुले उहाँको कद खुम्चिएको छ । आफूलाई सामूहिक रुपमा चिकित्सकहरुको अगाडि नै कुटपिट गरेको भन्दै एडभान्स अस्पतालमा कार्यरत महतोले निवेदन दिनुभएकाे छ ।
मारपिटकाे आराेप लागेका डा.उदयनारायण सिंहसंग यस विषयमा बुझ्न पटक-पटक फाेन गर्दा पनि फाेन उठाउनु भएन ।


तपाईँको अभिमत