'डाक्टरको मनोबल कमजोर नहोस्', कुर्दा कुर्दै संक्रमितकाे ज्यान गयाे
उहाँले भन्नुभएकाे थियाे, ‘यी समस्याबारे कुरा उठाइदिनोस् । तर डाक्टरहरुको मनोबल नघट्ने गरी । अहिलेको सबैभन्दा ठूलो भरोसा उहाँहरु नै हो ।’
पाेखरा । बिहीबार गण्डकी प्रदेशमा ३७ वर्षका २ पुरुषको कोरोनाका कारण मृत्यु भयो । पोखरा ६ लेकसाइडका कोरोना संक्रमित पुरुषलाई बिहीबार बिहानमात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसियुमा भर्ना गरिएको थियो । यसअघि संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथको आइसोलेसनमा रहेका उहाँमा कुनै दीर्घ रोग थिएन । २ दिनअघि सम्पर्कमा उहाँले आइसोलेसनको अवस्था र खाना राम्रो नभएको बताउनुभएकाे थियाे ।
त्यहाँको अवस्था पुष्टि गर्न उहाँले फोटो र भिडियोसमेत पठाउनुभएकाे थियाे । उहाँले आफूलाई हल्का ज्वरो आएको तर सास फेर्न समस्या नभएको जानकारी दिनुभएकाे थियाे । सरसफाई, खाना र स्वास्थ्यकर्मीको व्यवस्थापन राम्रो नभएको भन्दै उहाँले त्यसका लागि आवाज उठाइदिन आग्रह गर्नुभएकाे थियाे । कोरोनाको उपचारमा संलग्न डाक्टरको मनोबल कमजोर नहोस् भन्नेमा उहाँ पूर्ण सचेत हुनुन्थ्याे । उहाँले भन्नुभएकाे थियाे, ‘यी समस्याबारे कुरा उठाइदिनोस् । तर डाक्टरहरुको मनोबल नघट्ने गरी । अहिलेको सबैभन्दा ठूलो भरोसा उहाँहरु नै हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक भन्दै आउनुभएकाे छ,रकम तल पठाइयो । तल पठाइएको रकम बीचमै चुहिएको त छैन ? हैन भने आइसोलसनको अवस्था किन यस्तो छ ?
आइसोलेसनमा संक्रमितको अवस्था र अबको विकल्पबारे उहाँ केन्द्रीत समाचार तयार हुँदाहुँदै उहाँको निधन भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उहाँ आठौँ संक्रमित हुनुन्छ । लेकसाइडमा व्यवसाय गर्दै आउनुभएका उहाँका श्रीमती र २ छोरा छन् । उहाँले आइसोलेसनमा दिनमा एक पटक पनि डाक्टर नआएकाे बताउनुभएकाे थियाे ‘कमसेकम दिनमा एकचोटि आएर तपाईहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्नुपर्ने हो । यहाँ त बेवारिसो जस्तो भयौं ।’
ज्वरो, अक्सिजन आफैंले नापेर नर्सलाई टिपाउने संक्रामक अस्पतालको चलन छ । त्यहाँ रहेका १० संक्रमितका लागि प्रेसर नाप्ने एउटा, अक्सिजन नाप्ने २ वटा र ज्वरो नाप्ने एउटा थर्मामिटर छन् । उहाँले लेख्नुभएकाे थियाे ‘शौचालयमा न साबुन छ, न सेनिटाइजर ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक भन्दै आउनुभएकाे छ,रकम तल पठाइयो । तल पठाइएको रकम बीचमै चुहिएको त छैन ? हैन भने आइसोलसनको अवस्था किन यस्तो छ ?
सुरुमा उहाँ ज्वरो आएपछि अस्पतालमा स्वाब दिन आफैं जानुभएकाे थियाे । संक्रमण पुष्टि भएपछि आफ्नै घरमा बस्न चाहनुभएका उहाँलाई आइसोलेसनमा लगियो । बुधबार राति अचानक अक्सिजन लेबल कम भएपछि गण्डकी अस्पतलामा ल्याइएका उहाँकाे साँझ मृत्यु भयो । अरु रोग नभएका युवा आइसोलेसनको अवस्था सुधारको अपेक्षा गर्दागर्दै बित्नुभयाे। अरु संक्रमितको पनि यही नियति नहोस् ।
उहाँ आफ्नो सम्पर्कमा रहेका एक जनालाई कोरोना देखिएपछि आफैं जाँच गर्न जानुभएकाे थियाे । १५ गते कोरोना पोजेटिभ पुष्टि भएका उहाँमा सुरुमा कुनै लक्षण थिएन । कोभिड अस्पतालका फोकल पर्सन डा.वुद्धिसागर लामिछानेका अनुसार उहाँको मृत्युको मुख्य कारण कोभिड–१९ नै हो । उहाँमा कडा खालको निमोनिया थियो । पश्चिमाञ्चल अस्पताल ल्याइपुर्याउँदा उहाँको अवस्था निकै नाजुक भइसकेको थियो ।
नेपालदूत अनलाइनबाट
हेल्थपाटी
तपाईँको अभिमत