१३ वटा अवैधानिक औषधी पसल सिल
रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा मापदण्ड विपरीत सञ्चालनमा रहेका मेडिकल सिल गरिएको छ । चौरजहारी नगरपालिकाले अनुगमनको क्रममा मापदण्ड पूरा नगरी सञ्चालन गरेका १३ वटा मेडिकल सिल गरेका हो । नगरपालिका अन्तरगत नयाँबजार, पुरानोबजार, त्रिवेणी बजार मेलैनाउली, न्याउली बजार, खोलागाउँ नुवाकोट लगायतका स्थानमा सञ्चालित कुल १६ वटा मेडिकल मध्ये १३ वटा मेडिकल अवैधानिक रुपमा सञ्चालन गरेको पाएपछि सिल गरेको हो ।
नगरले अनुगमनको क्रममा औषधि विभागमा दर्ता नभएको, पान नम्बर नभएको, मेडिकल सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति नभएको, सिएमए पढेकाले पनि मेडिकल सञ्चालन गरेको र डाक्टरको प्रेस्किप्सनबिना औषधि बेचिरहेका मेडिकलहरू बन्द गरेको नगर स्वास्थ्य संयोजक रामकुमार गौतमले जानकारी दिनुभयो ।
मेडिकलहरूले औषधि बेच्ने मात्र नभई बेड राखेर बिरामी जाँचदेखि एक्सरे तथा ल्याब पनि सञ्चालन गरेको उहाँले बताउनुभयो । नगरपालिकाले ३५ दिने सूचना जारी गरेर आवश्यक कागजात सहित नगरपालिकामा मेडिकल सूचीकृत गर्न आग्रह गर्दा अटेरी गरेपछि नगरपालिकाले अनुगमन गरेको थियो ।
गोपाल रेग्मी
तपाईँको अभिमत