भारतमा एकैदिन संक्रमित हुनेको संख्या हालसम्मकै उच्च, २४ घण्टामा ८३ हजार बढी संक्रमित
नयाँ दिल्ली। भारतमा एकैदिन हालसम्मकै सबभन्दा बढी संक्रमित भेटिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार गत २४ घण्टामा ८३ हजार ८८३ थप संक्रमित भेटिएका हुन्।
गत २४ घण्टामा ११ लाख ७२ हजार १७९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यससँगै संक्रमित संख्याको आधारमा सबभन्दा बढी आक्रान्त बनेको तेस्रो मुलुक भारतमा संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार बढी पुगेको छ। यो संख्या दोस्रो स्थानमा रहेको ब्राजिलको भन्दा १ लाख ५० हजारले मात्र कम हो। संक्रमितमध्ये गत २४ घण्टामा १ हजार ४३ जनाको ज्यान गएको छ। यससँगै मृतक संख्या ६७ हजार ३७६ पुगेको छ। त्यस्तै २९ लाखभन्दा बढी निको भइसकेका छन्।
भारतको महाराष्ट्र प्रदेश सबभन्दा बढी आक्रान्त बनेको छ। त्यस्तै तीन दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, तामिलनाडु र कर्नाटक प्रदेश बढी आक्रान्त बनेका छन्।
महाराष्ट्रमा हालसम्म ८ लाख २५ हजार ७३९ संक्रमित भइसकेका छन्। त्यस्तै गत २४ घण्टामा २९२ ले ज्यान गुमाएका छन्। यससँगै मृत्यु हुनेको संख्या २५ हजार १९५ पुगेको छ।
यसैगरी आन्ध्र प्रदेशमा गत २४ घण्टामा १० हजार ३९२ संक्रमित थपिएका छन्। यससँगै संक्रमित हुनेको संख्या ४ लाख ५५ हजार ५३१ पुगेको छ। त्यस्तै तामिलनाडुमा थप ५ हजार ९९० संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ३९ हजार ९५९ पुगेको छ।
हेल्थपाटी
तपाईँको अभिमत