काठमाडौं उपत्यकाका ९० प्रतिशत संक्रमित स्थानीय
काठमाडौं । उपत्यकामा मंगलबार साँझसम्म कोरोना भाइरसका ५ सय ६० नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले अपराह्न ४ बजे उपत्यकामा ४ सय ८१ संक्रमित थपिएको जनाएको थियो ।
‘मंगलबार अबेर साँझसम्म उपत्यकामा ५ सय ६० जना संक्रमित फेला परेका छन् । नयाँ संक्रमितमा ९० प्रतिशतभन्दा बढी स्थानीय छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताउनु भयाे।
उपत्यकामा निषेधाज्ञा जारी भएको दुई साता भए पनि यसको प्रभाव केही समयपछि मात्रै देखिने विज्ञहरूले बताएका छन् । उपत्यकामा अझै केही दिन देखिने संक्रमितको संख्याको विश्लेषणपछि मात्र जनस्वास्थ्यको दृष्टिले जनजीवन खुकुलो बनाउने विकल्पबारे सोच्न सकिने उहाँहरूको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ९ सय १७, भक्तपुरमा ५ सय ४८ र ललितपुरमा ७ सय ४२ जना गरी उपत्यकामा ६ हजार २ सय ७ जनामा कोरोना संक्रमण भइसकेको छ । काठमाडौंमा २३, भक्तपुरमा ८ र ललितपुरमा ६ गरी उपत्यकामा ३७ जनाको संक्रमणले मृत्यु भइसकेको छ ।
केही दिनयता मुलुकमा दिनहुँ देखिने संक्रमितमा आधा जति काठमाडौं उपत्यकाकै हुने गरेका छन् । मंगलबार देशभरिमा ३ सय ४४ महिला र ७ सय २५ पुरुष गरेर १ हजार ६९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
‘उपत्यकामा निषेधाज्ञा जारी भएको २ साता भए पनि संक्रमित देखिने क्रम बढी नै रहेको छ,’ ईडीसीडीका निर्देशक एवं भाइरोलाेजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘निषेधाज्ञा नगरेको भए संक्रमण देखिने दर अझ धेरै हुन्थ्यो ।’
डा. पाण्डेले साउहाँ ६ गते लकडाउन खुलेसँगै मानिसको गतिविधि बढेकाले अहिले असर देखिएको बताउनु भयाे । उहाँका अनुसार साउन ६ गतेपछि उपत्यकामा भित्रभित्रै संक्रमण व्यापक विस्तार भइरहेको थियो । जनस्वास्थ्यको न्यूनतम मापदण्ड पूरा नगरी बाहिर निस्किने जमातले संक्रमण चारैतिर तीव्र गतिले फैलिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको अवलोकन अध्ययनले काठमाडौंमा करिब ७० प्रतिशतले मास्क प्रयोग गरेको पाइएको थियो । त्यसमध्ये ७० प्रतिशतले मात्र राम्ररी मास्क लगाएका थिए ।
उपत्यकाका अस्पतालमा प्रसूति, शल्यक्रियालगायतका स्वास्थ्य समस्या भएर उपचारका लागि जानेहरूमा संक्रमण देखिएको डा. पाण्डेले बताउनुभयाे । उपत्यकामा सरदर करिब एक तिहाइ महिलामा संक्रमण देखिनुले संक्रमण समुदायतिर फैलिन लागेको संकेत गर्ने उहाँको भनाइ छ । हाल मुलुकभरका संक्रमितमध्ये ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला छन् । ‘निषेधाज्ञामा कोभिड संक्रमण सार्ने १४ दिनको एउटा चक्र लगभग पूरा भयो । केही दिनपछि संक्रमण कम हुँदै गए लकडाउन अर्को मोडालिटीमा गर्न सकिन्छ,’ ईडीसीडीका निर्देशक डा. पाण्डेले भन्नुभयाे।
उहाँले संक्रमण रोक्न जनस्वास्थ्यको अधिकतम मापदण्ड उपत्यकावासीले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयाे । ‘हाल उपत्यकालगायत देशभरमा सबै व्यक्तिका लागि मास्कको अधिकतम र सही उपयोग संक्रमणको विस्तार रोक्ने पहिलो सर्त हो,’ उहाँले भन्नुभयाे, ‘सही रूपमा मास्कको उपयोग, दुई मिटरको भौतिक दूरी, नियमित हातको सफाइ साबुनपानीले गरे मात्र हाल संक्रमणको सम्भावनालाई रोक्न सकिन्छ ।’ निषेधाज्ञा खुलिहाले पनि अनावश्यक रूपमा जनस्वास्थ्यको मापदण्ड नअपनाई घरबाहिर नहिँड्न उहाँले सुझाव दिनुभयाे ।
हाल काठमाडौंमा ४ हजार ४ सय ८५, भक्तपुरमा ४ सय १० र ललितपुरमा ६ सय ६३ गरी उपत्यकामा ५ हजार ५ सय ५८ संक्रमित उपचाररत छन् । यस्तै उपत्यकाका अस्पतालहरूका आइसोलेसनमा १ हजार ३ सय ७५ जना, आईसीयूमा ६४ जना र भेन्टिलेटरमा १४ जना छन् ।
कान्तिपुरमा अतुल मिश्रले लेख्नुभएको समाचार
हेल्थपाटी
तपाईँको अभिमत