अपडेट : कोरोनाबाट मृत्यु भएका स्वास्थ्यकर्मी औषधि व्यवसायी
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका पहिलो स्वास्थ्यकर्मी औषधि व्यवसायी पनि रहेको खुल्न आएको छ । महोत्तरीको मनरा सिसवा—४ का ३७ वर्षका सहनी थर भएका पुरुष स्वास्थ्यकर्मीको परिवारका अन्य सदस्यहरु पनि औषधि व्यवसायमा नै संलग्न रहेको महोत्तरी कोभिड फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
मृतक स्वास्थ्यकर्मी हेल्थअसिस्टेन्ट(एच)को अध्ययन गरि आफैले औषधि व्यवसाय सञ्चालन गरेको र उहाँको पुर्ख्यौली पेशा नै औषधि व्यवसाय रहेको खुल्न आएको फोकल पर्सन झाले बताउनुभयो । अस्वस्थ हुनुभएका स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा भदौ १२ गते मृत्यु भएछ र तत्कालै सोही एम्बुलेन्समा नै महोत्तरी फर्काइ परिवारले नै गाडेका रहेछन्।
“हामीलाई यो जानकारी पछि मात्रै थाहा भयो तर मृतक स्वास्थ्यकर्मीलाई आफूलाई कोरोना संक्रमण भएको पहिला नै अवगत रहेछ” झाले भन्नुभयो । उहाँलाई स्वास्थ्यमा अन्य कुनै पनि समस्या नरहेको जानकारी आफूलाई परिवारले गराएको झाले बताउनुभयो । झाका अनुसार मृतक स्वास्थ्यकर्मीकी श्रीमती र दाजुलाई पनि कोरोना संक्रमण भएको र हाल ललितपुरको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
तपाईँको अभिमत