७ दिनकाे परीक्षणमा देशभरको भन्दा टेकुकाे संक्रमण दर दोब्बर
अहिले संक्रमण नियन्त्रण गर्न नसके अनियन्त्रित हुन्छ : प्रा.डा जागेश्वर गौतम
एक सातामा ७६,६६३ को पीसीआर परीक्षण हुँदा ६,२२३ लाई कोरोना संक्रमण
काठमाडौं । केही दिनयता काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा कोरोना संक्रमणको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ग्राफ हेर्दा पछिल्लो साता लगातार संक्रमण दर बढ्दाे छ ।
पछिल्लो एक सातामा सरकारी ३३ र ११ निजी प्रयोगशाला गरि ४४ वटा प्रयोगशालमा ७६ हजार ६६३ जनाको पीसीआर परीक्षण भएकोमा ६ हजार २२३ जनालाई पोजेटिभ देखिएको छ । जसमध्ये काठमाडौं उपत्यकामा १ हजार ९०१ जनामा कोरोना पुष्टि भएको छ भने ६२ संक्रमितको मृत्यु भइसकेको छ । एक साताको तथ्यांक अनुसार अहिले संक्रमणदर ८.१२ प्रतिशत रहेको छ ।

सुरुवातीमा विदेशबाट आएकाहरुमा संक्रमण देखिएकोमा पछिल्लो समय समुह–समुहमा संक्रमण देखिएको छ । क्लष्टर अर्थात् समुहमा संक्रमण देखिदा संक्रमणको स्रोत पहिल्याउन मुस्किल हुन्छ र समुदायमा संक्रमण फैलन थाल्छ । अहिले काठमाडौं उपत्यका,वीरगंज, चितवन, बारा, पर्सा, डोटी मोरङ लगायतका स्थानमा संक्रमण क्लष्टरमा गएको छ । संक्रमण क्लष्टरबाट समुदायमा फैलिए स्थिति भयावह हुन्छ ।
यदि अहिलेको अवस्थालाई नियन्त्रण लिन सकिएन भने समुदायमा संक्रमण फैलने र यो अनियन्त्रित हुनेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नै चिन्ता व्यक्त गर्न थालेका छन् । अहिले नेपालको संक्रमणको स्थिति क्लष्टरमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतम बताउनुहुन्छ । सुरु–सुरुमा हवाई र स्थलमार्गबाट आएका व्यक्तिहरुलाई संक्रमण हुने गर्दथ्याे तर अहिले संक्रमणको स्वरुप बदलिएको छ, प्रवक्ता गौतमले भन्नुभयो, “अहिले विभिन्न स्थानमा समुह–समुहमा संक्रमण देखिएको छ । ”
विगतमा संक्रमितहरुमा लक्षण नदेखिने गरेकोमा अहिले लक्षणसहितका बिरामीहरु भेटिन थालेका छन् । पहिलेको तुलनामा गम्भिर प्रकृतिका संक्रमितहरु देखिन थालेकाले मृत्यु संख्या पनि दिनानुदिन बढिरहेको छ । आइसियू र भेन्टिलेटरमा गरि अवस्था गम्भिर रहेका १९७ जना संक्रमितको उपचार भइरहेको छ । जसमा २२ जना भेन्टिलेटरमा छन् ।
ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले नेपाल कोरोना संक्रमणको गम्भिर मोडमा आएको बताउनुहुन्छ । उहाँले स्वास्थ्य मन्त्रालयको कमजोरीका कारण संक्रमण समुदायभन्दा माथि गइसकेको जिकिर गर्नुभयो ।
मन्त्रालयका प्रवक्ता गौतमले अहिले संक्रमण नियन्त्रण गर्ने उपयुक्त समय रहेको भन्दै क्लष्टरमा देखिएका स्थानको पहिचान गर्दै त्यहाँका व्यक्तिलाई क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गरिरहेको दाबी गर्नुभयो । संक्रमण बढ्यो भन्दैमा आजको भोली नै पीसीआर गर्ने होइन, संक्रमितको प्रारम्भिक सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिनमा राखेर कम्तिमा ५–७ दिनपछि परीक्षण गर्ने हो, प्रवक्ता गौतमले स्पष्ट पार्दै भन्नुभयो, पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने हो ।
अहिलको समयमा संक्रमण नियन्त्रण हुन नसके समुदायमा फैलने र त्यतिबेला जतिनै परीक्षण गरेपनि त्यसको अर्थ नरहने भएकाले परीक्षणलाई सोही अनुसार अघि बढाइएको प्रवक्ता गौतमको भनाई छ । संक्रमण बढ्दै जादा स्रोत, साधन र जनशक्तिको थप तयारी के छ ? भन्ने प्रश्नमा प्रवक्ता गौतमले भन्नुभयो, “अहिलेलाई पुग्नेनै छ, भेन्टिलेटरहरु पाइपलाइनमा छन्, प्रत्येक पालिकालाई अस्पताल बनाइदैछ । केन्द्र, प्रदेश र पालिकामा गरि ६ हजार आइसोलेसन बेड थपिदैछ, पालिकामा हुने ५ बेडको अस्पतालका लागि एक/एक जना डाक्टर र नर्सको व्यवस्थापन हुँदैछ ।”
“प्रक्षेपण गरिए भन्दा धेरै संक्रमित थपिदै गए स्रोत र साधन नपुग्न पनि सक्छ, यो नेपालको मात्रै एकल समस्या होइन, अमेरिका, इटाली, स्पेन जस्ता सम्पन्न देशले पनि यो समस्या भोग्नपर्यो तर हामी यो अवस्था आउन नदिन प्रयासरत छौ । तर यो हाम्रो मेहनतले मात्रै सम्भव छैन सर्वसाधरणले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ, प्रवक्ता गौतमले दोहोर्याउनुभयो ।”

शहिद शुक्रराज तथा ट्रपिकल सरुवा रोग अस्पतालको प्रयोगशालामा पछिल्लो सातामा संकलित नमुनामध्ये १७.३८ प्रतिशत व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका प्रशासक रुपनारायण खतिवडाका अनुसार भदौ ५ देखि ११ गतेसम्म संकलित १ हजार ७३१ नमुनामध्ये ३०१ जनालाई कोरोना पुष्टि भएको छ ।
पहिलो पटक पुसमा एक जना कोरोना संक्रमित देखिएको नेपालमा ३७ हजार ३४० लाई कोरोना पुष्टि भइसकेको छ । संक्रमितमध्ये २० हजार ५५५ जना निको भएका छन् भने २०८ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत