संक्रमित डाक्टर, नर्सले नै सुरु गरे कोरोना संक्रमितकाे उपचार !
काठमाडौं । नेपालमा कोरोना संक्रमित डाक्टर, नर्स, तथा स्वास्थ्यकर्मीहरुले नै कोरोना संक्रमित बिरामीको उपचार गरिरहेका छन् । दिनानुदिन डाक्टर, नर्स, प्रयोगशालाकर्मी लगायतका स्वास्थ्यकर्मीहरुमा संक्रमण हुँदै जाँदा उपचारमा समस्या देखिन लागेका बेला काठमाडौंको एक स्वास्थ्य संस्थामा भने संक्रमित डाक्टर, नर्ससहितका स्वास्थ्यमकर्मीले नै उपचार गरिरहेका छन् ।
साँगास्थित स्पाइनल इन्जुरी रिह्याब सेन्टरमा संक्रमित स्वास्थ्यकर्मीले नै अन्य संक्रमितहरुको उपचारको अभ्यास सुरु गरेका हुन् । उपचारमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन लक्षण नभएका तथा अन्य स्वास्थ्य समस्या नभएका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा खटिएको केन्द्रका मेडिकल निर्देशक डा.राजु ढकालले जानकारी दिनुभयो । सो केन्द्रमा ५१ जना त्यस्ता व्यक्ति उपचाररत छन् ।
डा.राजु ढकाल
उहाँले आफ्ना केन्द्रमा स्पानल सम्बन्धी बिरामी रहेको र उनीहरुलाई अन्यत्र लैजान नसक्ने अवस्था भएकाले उनीहरुको उपचार आफूहरुले नै पूर्ण सावधानी अपनाएर गरिएको बताउनुभयो । स्पाइनलका बिरामीहरु रहेकाले अन्य स्थानमा रिफर गर्ने अवस्था हुँदैन उनीहरुको उपचारमा असहज हुन्छ, उहाँहरुलाई विशेष हेरचाह चाहिन्छ अन्यत्र अफठेरो हुन्छ, त्यसैले हामीहरु नै उपचार गर्न तयार भएका हौं, ढकालले भन्नुभयो, हामीले पीपीई सहित पूर्ण सावधानीका साथ उपचार गरिरहेका छौँ ।
यसरी आफू संक्रमित भएर संक्रमितको उपचार गर्दा रेखदेखमा पनि समस्या नहुने र बिरामीले पनि सहज उपचार पाउने भएकाले आफुहरुले नै उपचार थालेको उहाँले बताउँनुभयो । उहाँका अनुसार केही दिन अघि सो केन्द्रमा रहेका एक सुरक्षागार्डलाई कोरोना संक्रमण भएपछि उहाँको कन्ट्याक्ट ट्रेसिङमा रहेका स्वास्थ्यकर्मी, बिरामी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ९ जना बिरामी, डाक्टर तथा नर्ससहित केन्द्रका १३ जना कर्मचारी र एक जना बिरामी कुरुवालाई संक्रमण पुष्टि भएको थियो ।
लक्षण नदेखिएका स्वास्थ्यकर्मीहरु जसलाई स्वास्थ्यमा कुनै पनि समस्या नभएको अवस्थामा बिरामीको उपचार गर्दा स्वास्थ्य सेवा पनि प्रभावित नहुने र आफूहरु बिरामीसँग थप घुलमिल हुन पाउदा तनाव कम हुने संक्रमित स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
नेपालमा हालसम्म डाक्टर, नर्ससहित करिव ३ सय स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भइसकेको छ । बिरामी तथा स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि हुँदा कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यकर्मीहरु क्वारेन्टिन तथा आइसोलेसनमा बस्दा देशका विभिन्न अस्पतालको सेवा प्रभावित भइरहेको छ ।

डा.गुणराज लोहनी
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम को–अर्डिनेटर डा.गुणराज लोहनीले संक्रमित स्वास्थ्यकर्मी राजी भएमा सुरक्षाका मापदण्ड अपनाएर संक्रमितको उपचार गर्न सकिने बताउनुभयो । उहाँले लक्षण नभएका संक्रमित स्वास्थ्यकर्मीहरु संक्रमितको बिरामीको उपचार गर्न तयार हुनु सकारात्मक रहेको बताउनुभयो ।
जनस्वास्थ्य विज्ञ प्रा.डा. शरद वन्त संक्रमित स्वास्थ्यकर्मीले संक्रमित बिरामीको उपचार गर्नेभन्ने सम्बन्धमा हालसम्म सैद्धान्तिक हिसाबले त मिल्दैन तर स्वास्थ्यकर्मी मानसिक र शारीरिक रुपमा ठिक भएमा व्यवहारिक रुपमा अवस्था हेरी पूर्णरुपमा जनस्वास्थ्यको मापदण्ड अपनाइ पीपीई लगायतका सुरक्षा सामग्री प्रयोग गरि उपचार गर्न सकिने बताउनुहुन्छ ।
प्रा.डा. शरद वन्त
स्वास्थ्यकर्मीहरुले उपचार गर्दा आफू संक्रमित नभई स्वास्थ्यकर्मी भएको र आफूलाई बिरामीबाट संक्रमण सर्न सक्छ भन्ने सोचेर उपचार गर्नुपर्दछ । किनभने बिरामीलाई कहिले संक्रमण भएको हो भन्ने थाहा हुँदैन, त्यस्तै स्वास्थ्यकर्मीलाई पनि कहिले संक्रमण भएको हो थाहा हुँदैन । पूर्ण सुरक्षा नअपनाई उपचार गर्दा स्वास्थ्यकर्मीबाट बिरामीलाई र बिरामीबाट स्वास्थ्यकर्मीलाई संक्रमण हुने क्रम चलिरहन सक्छ ।
सिद्धान्तत संक्रमितहरु स्वास्थ्यकर्मी भए पनि नभएपनि पूर्ण रुपमा आइसोलेटेड भएरनै बस्नुपर्छ तर बाध्यात्मक परिस्थितिमा उपचार गर्नुपर्ने अवस्था आएमा सुरक्षाका मापदण्ड अपनाएर संक्रमित स्वास्थ्यकर्मीले उपचार गर्न सक्ने उहाँको भनाई छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत