हङकङमा पहिलोपटक पुनः संक्रमण, संसारभर कोरोना फैलिरहने सम्भावना
प्रतिरोधात्मक क्षमता विकास भएपनि पुनःसंक्रमण
बेइजिङ। हङकङमा एक पुरुषलाई दोहोरिएर पुनः कोरोना भाइरस संक्रमण भएको छ। अनुसन्धानकर्ताहरूका अनुसार हङकङमा दोहोरिएर संक्रमण भएको यो घटना पहिलो हो।
चार महिनाअघि पूर्ण रूपमा कोरोनामुक्त हुनुभएका ३३ वर्षीय पुरुषमा पुनः संक्रमण भएको हो। यो घटनासँगै हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले प्रतिरोधात्मक क्षमता विकास भए पनि संसारभर कोरोना फैलिरहने सम्भावना रहेको बताउनु भएको छ।
गत अप्रिलमा डिस्चार्ज हुनुभएका पुरुष अगस्ट १५ मा स्पेनबाट बेलायत हुँदै हङकङ पुग्नु भएको थियो। त्यहाँबाट आउने बित्तिकै उहाँमा पुनः कोरोना संक्रमण भएको हो।
संक्रमित पुरुषमा कुनै पनि लक्षण देखा नपरेको जनाइएको छ। यसले खोपको प्रभावकारितामा भने प्रश्न चिन्ह नउठाउने अनुसन्धानकर्ता डा. काई–वाङ तोले बताउनुभयो। ‘प्राप्त नतिजाले खोपहरू प्रयोग हुनेछन् भन्ने बुझाउँदैन’, उहाँले भन्नुभयो, ‘खोप लगाइएको प्रतिरक्षा प्राकृतिक संक्रमणबाट भएको भन्दा फरक हुन सक्छ।’ खोपले काम गर्ने वा नगर्ने कुराको निक्र्यौलका लागि खोप परीक्षणको नतिजा कुर्नुपर्ने बताउनुभयो। ‘खोपको प्रभाव कस्तो हुन्छ भनेर हेर्नका लागि हामीले यसको परीक्षण नतिजा कुर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो।
यसैगरी अनुसन्धानकर्ताले निको भइसकेका संक्रमितले पनि माक्स र भौतिक दूरी कायम गर्नुपर्ने सुझाव दिनुभएको छ।
हेल्थपाटी
तपाईँको अभिमत