सामानबाट होइन, सामान किन्न जाँदा संक्रमित भइएला !

फाइल तस्बिर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । सोमध्ये निको हुनेको संख्या १८ हजार ३५० रहेको छ । यसैगरी १४६ जनाको मृत्यु भइसकेको छ ।
कोरोना महामारी नेपालको मात्र एकल समस्या होइन । विश्वनै त्रासमा छ । कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पुष्टि भइसके पनि कुन जनावरबाट सरेको हो भन्ने कुरा अझै अनुसन्धानकै घेरामा छ । संक्रमितको थुकको छिटाबाट भाइरस सर्ने प्रमाणित भइसकेको छ । यद्यपि हालसम्म कोरोनाको औषधि छैन । यसको लाक्षणिक आधारमा उपचार हुने हो ।
रुसले कोरोना विरुद्धको खोप निर्माण गरेको दाबी गर्दै विभिन्न देशबाट खोपको माग आइसकेको बताउँदै आएको छ । अरु १०० भन्दा बढी खोपको क्लिनिकल ट्रायल भइरहेको छ । संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुनै एक मात्र उपाय हो । कोरोना संक्रमित व्यक्तिबाट दुई मिटरभन्दा नजिक बस्दा, खोक्दा वा हाछ्युँ गर्दा निस्कने छिटाहरुबाट र उनीहरुले प्रयोग गरेका सामान साटासाट गरेमा मात्र सर्ने अध्ययनहरुले देखाएका छन् ।
त्यसैले हामी पसलमा खानेकुरा, औषधि लगायतका अन्य सामान किन्न जाँदा सावधानी अपनाएनौ भने संक्रमण सर्ने सम्भावना उच्च रहन्छ । अहिलेसम्म कोरोना भाइरस खाद्यवस्तुबाट सर्ने प्रमाणित भएको छैन । तर खाद्य वस्तु प्याकेजिङ्ग वस्तु संक्रमितको सम्पर्कमा रहेको छ भने जोखिम हुन्छ । यो श्वाश्प्रश्वासको माध्यमबाट सर्ने भएकाले संक्रमितले खोक्दा, हाछ्युँ गर्दा निस्कने कणबाट सर्ने तथ्य पत्ता लागेको छ ।
यदि हामी पसलमा जाँदा, भीड भएका स्थान (बैंक, कार्यालय)हरुमा जाँदा मास्क लगाएनौँ भने, भौतिक दूरीमा बसैनौँ भने, साबुनपानीले हात धोएनौँ भने तथा सेनेटाइज गरेनौँ भने हामी संक्रमित हुने सम्भावना अत्याधिक हुन्छ र थाहै नपाई परिवारका अन्य सदस्य हुँदै समाजलाई नै संक्रमणमा पार्दछौँ । पसलहरुमा संक्रमणबाट जोगिन कतिपय व्यक्तिहरुले पञ्जा लगाएर सामान लिनेदिने गरेको पनि देख्न सकिन्छ । तर लामो समयसम्म पञ्जाको प्रयोग गर्दा संक्रमणबाट नजोगिने विज्ञहरु बताउँछन् ।
अत्यावश्यक नभई बाहिर ननिस्कने तथा निस्कनै परे सही तरिकाले मास्क लगाउनुपर्छ र बेला बेलामा साबुन पानीले हात धुनुपर्छ अथवा सेनेट्राइजरको प्रयोग गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनले कोरोना सामान तथा सामानका खालहरुबाट सर्ने प्रमाण अहिलेसम्म फेला नपरेको बताउँदै सामान किन्न जाँदा सचेत र सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत