कोरोना निको भएपनि शरिरमा भाइरसकाे अंश ३ महिनासम्म रहन सक्ने
निको भएपछि भाइरसको अंश तीन महिना सम्म रहे पनि अहिले सम्म निको भएको बिरामीबाट रोग सरेको प्रमाण छैन
कोरोना भाइरसका सम्बन्धमा विभिन्न अध्ययन - अनुसन्धानहरु भइरहेका छन् । ती सोधहरुमध्ये केहीको नतिजा सार्वजनिक भइसकेका छन् भने अझ धेरै अनुसन्धानकै घेरामा छ । हालै अमेरिकामा भएको एक अध्ययनले के पत्ता लगाएको छ भने कुनै पनि कोरोना संक्रमण भएका व्यक्तिको शरीरमा ३ महिनासम्म भाइरसको केहि अंश सुषुप्त अवस्थामा रहने सम्भावना रहन्छ ।
संक्रमित निको भएको तीन महिनाभित्र पीसीआर परीक्षण गर्दा पुन: कोभिड –१९ पोजेटिभ आउने सम्भावना रहन सक्ने अमेरिकाको शीर्ष सरकारी स्वास्थ्य निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसिले) गरेको अध्ययनले देखाएको छ । यद्यपी दोश्रो पटकको संक्रमण पहिलो पटकको जस्तो खतरनाक भने हुँदैन अथवा दोस्रो पटक पीसीआर रिपोर्ट पोजेटिभ आएका व्यक्तिबाट अन्य स्वस्थ्य व्यक्तिहरुलाई कोरोना भाइरस नसर्ने देखिएको पनि अध्ययनमा उल्लेख गरिएको छ । निको भएपछि भाइरसको अंश तीन महिना सम्म रहे पनि अहिले सम्म निको भएको बिरामीबाट रोग सरेको प्रमाण छैन अध्ययनमा भनिएकाे छ।
साथै शरीरमा भाइरसको अंश रहे पनि एकपटक संक्रमण भएर निको भएको व्यक्ति फेरी संक्रमित हुने सम्भावना नरहेको पनि अध्ययनमा स्पष्ट भनिएको छ । यस अध्ययनले विश्वभरिका १५ बिभिन्न अन्तर्रास्ट्रिय अनुसन्धानको नतिजामा आधारित रही उक्त जानकारी दिएको हो ।
नेपालमा पनि केहि समय अघि कपिलवस्तुमा कार्यरत नर्सलाई पुःन कोरोना संक्रमण भनेर समाचार प्रकाशन भएको थियो । उनलाई बैशाखमा कोरोना संक्रमण भई निको भएको थियो भने पुःन साउनमा पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । यो केशलाई हेर्दा अमेरिकाको सिडिसीले गरेको अध्ययनको नतिजासँग मिल्न गएको देखिन्छ ।
कपिलवस्तु अस्पतालमा कार्यरत नर्सलाई पहिलोपटक २०७७ बैशाख १ गते संक्रमण पुष्टि भएको थियो । त्यो बेला १४ दिन पछि लगातार २ पटक नमुना नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको थियो । हालै उहाँलाई दोस्रो पटक पनि संक्रमण भएको छ । अस्पतालमा कार्यरत सहकर्मीलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उहाँलाई पुन संक्रमण देखियो । साउन २६ गते उहाँको परीक्षण भएको थियो ।
अमेरिकाको सिडिसीले सामान्य लक्षण देखिएका व्यक्तिहरु पीसीआर परीक्षण भएको १० दिन र गम्भीर लक्षण देखिएका व्यक्ति भने पोजेटिभ देखिएको २० दिनपछि आइशोलेसनबाट बाहिर आउन सक्ने भनेको छ । कोभिडका कारण गम्भीर लक्षण देखिएका बिरामीलाई बीस दिनभन्दा धेरै अवधिसम्म संक्रमण नहुने सिडिसीको अध्ययनले देखाएको छ ।
उक्त अध्ययनमा कोभिड – १९ का लक्षणहरु विकशित भए लगत्तै नाक र घाँटीमा जीवित भाइरसहरुको संख्यामा उल्लेखनीय रुपमा कमि आएको शोधकर्ताहरुले पाएका छन् । साथै आइशोलेसनबाट बाहिर आउन परीक्षणको भन्दा पनि लक्षणमा आधारित रणनीतिलाई धेरै भरोसा गर्नुपर्ने भन्ने निष्कर्ष सिडिसीले निकालेको छ । कोरोना सम्बन्धमा भइरहेका अन्य अनुसन्धानले थप अन्य तथ्यहरु बाहिर ल्याउनेनै छ ।
( लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड –१९ चिकित्सा प्रयोगशाला विज्ञ कमिटीको सदस्य हुनुहुन्छ । )
तपाईँको अभिमत