अहोरात्र खटिने चिकित्सक, नर्स तथा सहयोगी सबै सम्मानका पात्रहरु हुनुहुन्छ
स्वास्थ्यकर्मीको आत्मसम्मान, हौसला, मनोवल बढाउनुपर्नेेमा उहाँहरुलाई नै आफ्ना आफन्त छिमेकी, नातागोता टोल छिमेकबाट असहयोग भएको, छिःछि दुरःदुर गर्दै आएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
कोरोना सर्छ कि भन्ने हामीमा भय र त्रासले कहीँ कतै सामाजिक सद्भाव बिथोलिने हो कि भन्ने चिन्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परेको छ । यस अप्ठ्यारो परिस्थितिमा आफ्नो घरपरिवार, बालबालिकालाई छाडेर तपाई हाम्रै स्वास्थ्य सेवामा अहोरात्र खटिने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र अन्य सहयोगी कर्मचारीहरु सधैं सम्मानका पात्रहरु हुनुहुन्छ ।
पहिला यीनै स्वास्थ्यकर्मीहरु तपाईहरुको टोल छिमेकमा बस्न आउँदा माया, प्रेम, इज्जत सम्मान गर्नु हुन्थ्यो । उहाँहरु नजिक हुँदा तपाईहरुले स्वास्थ्य सम्बन्धी केही परेमा सजिलो हुने भयो भनेर भन्ने गर्नु हुन्थ्यो । यो घर डाक्टरको, यो नर्सको, यो स्वास्थ्यकर्मीको हो भन्ने गर्नुहुन्थ्यो । उहाँहरुले पनि तपाई हामी विरामी हुँदा निस्फिक्री सहयोग गरिरहनु भएको थियो ।
कोरोना भाइरसको महामारी विश्वभरी ब्यापक रुपमा फैलिएको अवस्थामा हामीलाई चिकित्सक, नर्स र अन्य स्वास्थ्य सेवामा खटिने व्यक्ति अझ ठूलो खाँचो पर्दै जान्छ । तथापि कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मीको आत्मसम्मान, हौसला, मनोवल बढाउनुपर्नेेमा उहाँहरुलाई नै आफ्ना आफन्त छिमेकी, नातागोता टोल छिमेकबाट असहयोग भएको, छिःछि दुरःदुर गर्दै आएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
कोरोना संक्रमित भएको थाहा पाएपछि स्वास्थ्यकर्मीको घर बाहिरबाट ताल्चा मारिदिने, उपचारको क्रममा अस्पतालमा बसेको बेलामा स्वास्थ्यकर्मीको परिवारलाई सामाजिक तनाव दिने, स्वास्थ्यकर्मी र उनको परिवारलाई टोल वा समाजमा नै बस्न हुन्न जस्ता अमानवीय कार्यहरु भएको स्वास्थ्यकर्मीहरुले विभिन्न माध्यमबाट व्यक्त गर्नुभएको हामी मध्ये धेरैले थाहा पाएका छौं ।
त्यसैगरी कोरोना पोजिटिभहरुलाई स्वास्थ्य सेवा लिनका लागि सहयोग गर्नुहुने एम्बुलेन्स चालकहरुलाई पनि सेवा दिएकै कारण दुर्व्यवहार, लाञ्छना लगाउने, टोलमा नै आउन नदिने गरेको गुनासाहरु धेरै आइरहेका छन् । कोरोना संक्रमण भएकै कारण उनीहरुलाई सहयोग गरेकै कारणले डाक्टर, नर्स स्वास्थ्यकर्मीहरुका साथै यस संक्रमणको रोकथाम, नियन्त्रणका लागि खटिएको व्यक्तिहरुका साथै कोरोना संक्रमित र उनीहरुको परिवारमाथि समाज र घरबेटीहरुबाट भइरहेका यस्ता अमानवीय कार्यहरुले हाम्रो बलियो सामाजिक संरचनालाई हल्लाइरहेको छ ।
यस्ता घटनाहरुले सामाजिक भाइचारा र सदभाव खल्बलिने हो कि भन्ने प्रश्न हाम्रो ठाउँमा देखिन थालेको छ । कोरोना संक्रमित आफ्नो टोल छिमेकमा हुँदैमा कोरोना हाम्रो घरमा पनि आउँछ र सर्छ भन्ने भ्रम हो । हामी सबैले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएमा कोरोना संक्रमणबाट बच्न सकिन्छ । कोरोना संक्रमित व्यक्तिलाई टाढाबाट हेर्दा, टोल छिमेकमै रहँदा हामी डराउनु पर्दैन ।
यस्ता अमानवीय कार्यहरुले हाम्रो बलियो सामाजिक संरचनालाई हल्लाइरहेको छ ।
यदि कोरोना संक्रमित आफ्नो कोठामा छुट्टै बसेको घरमा आईसोलेशनमा बस्दा पालना गर्नुपर्ने मापदण्डहरु पालना गरेमा संक्रमण सर्ने सम्भावना हुँदैन । कोरोना संक्रमित व्यक्तिबाट दुई मिटरभन्दा नजिक बस्दा, खोक्दा वा हाछ्यूँ गर्दा निस्कने छिटाहरुबाट र उहाँहरुले प्रयोग गरेका सामान साटासाट गरेमा मात्र सर्ने गर्छ । संक्रमित व्यक्तिलाई कुनै लक्षण देखिएको छैन भने घरमा आइसोलेसन बस्न पाउने प्रावधान सरकारले गरेको छ ।
त्यसकारण, कोरोना संक्रमित घरमा बस्दैमा अपहेलना, लाञ्छना वा छिछि दुरदुर नगरौं, अनावश्यक भ्रम सिर्जना नगरौँ, यस अप्ठ्यारो परिस्थितिमा एक अर्कालाई सहयोग गरौँ । अहिले आत्मविश्वास बढाउने बेला हो । यहि अप्ठ्यारो बेलामा नै असल र सहयोगी छिमेकी, आफन्त र साथीभइको पहिचान बनाउने बेला हो । तपाइँ हामी जो कोहि जुन कुनै बेलामा संक्रमित हुन सक्छौँ । यो समाजले तपाई हामीलाई अफ्टठ्यारो पर्दा कस्तो व्यवहार गरोस् भन्ने चाहन्छौँ र त्यो कुरा मनमा राखेर समाजलाई त्यतातिर लैजाऊ अन्यथा तपाई संक्रमित हुँदा पनि तपाइँको समाजले यहि व्यवहार गर्छ र तपाईले अहिले हेलचेक्र्र्याई गरेको मानिसबाट विवेक अनुसार समयानकुल व्यवहार पाउनु हुनेछ ।
एक अर्काको मानवीय भावनाको कदर गरौँ, कोरोनाबाट आफू बचौं र अरुलाई पनि बचाऔं ।
स्वास्थ्यकर्मी वा अन्य व्यक्तिहरु तपाई हाम्रै लागि काम गर्दागर्दै संक्रमित भएका हुन सक्छन् । हामीले उहाँप्रति राम्रो व्यवहार गर्न सकेनौ भने भोलि अफ्ठ्यारो अवस्था हुँदै जाँदा हाम्रो सेवामा कसलाई ल्याएर काम गराउने ? त्यसैले कोरोना विरुद्धको लडाइँमा माया, सदभाव, ऐक्यवद्धताले मात्र कोरोनालाई जित्न सकिन्छ ।
त्यसकारण कोरोना भाइरसकोे संक्रमणबाट आफू बच्न र अरुलार्ई पनि बचाउन एक अर्का बीच कम्तिमा दुई मिटरको दूरी कायम गरौं, अति आवश्यक पर्दा मात्र घरबाहिर जानु परेमा मास्क अनिबार्य रुपमा प्रयोग गरौं, बेलाबेलामा साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म हात धोऔं ।
एक अर्काको मानवीय भावनाको कदर गरौँ, कोरोनाबाट आफू बचौं र अरुलाई पनि बचाऔं ।
( प्रा.डा.जागेश्वर गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ )
तपाईँको अभिमत