कोरोनाबाट थप २ जनाको मृत्यु

फाइल तस्बिर
वीरगञ्ज । कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना र नारायणी अस्पतालमा एक जनाको मृत्यु भएको हो । वीरगनञ्ज महानगरपालिका–४ का ८४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको गण्डक अस्पतालले जानकारी दिएको छ ।
मृतकलाई साउन २७ गते गण्डक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको अस्पताल कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।
वीरगञ्ज महानगर–१५ का ५७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह साढे ३ बजे मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । अस्पालको प्रयोगशालामा जिन एक्सपर्ट विधिबाट पीसीआर जाँच गर्दा नतिजा पोजिटिभ आएको हो ।
मृतक ५७ वर्षीय पुरुष सुरुमा उपचारका लागि भवानी अस्पताल गएका थिए । अवस्था जटिल बन्दै गएपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लगिएको थियो । नेशनलले भर्ना नलिएपछि पुनः भवानी हस्पिटलमा फर्काएर मंगलबार अपरान्ह नारायणी अस्पतालमा लगिएको थियो । त्यसको केही क्षणमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत