नेपालमा शिशु जन्मेकाे १ घण्टा भित्र भिटामिन “के” सुइ
रक्तस्रावबाट हुने मृत्युलाई रोक्नु प्रमुख उद्धेश्य
कुनैपनि बालबालिकाको मृत्यु रगत जम्ने तत्वको कमीबाट हुने कारणबाट नहोस्
काठमाडौं । यसै वर्षदेखि नवजात शिशुका लागि भिटामिन के कार्यक्रम सुरु हुने भएको छ । निःशुल्क रुपमा सञ्चालन भै रहेको आमा सुरक्षा कार्यक्रम अन्तरगत सुरक्षित सुत्केरी कार्यक्रमको प्याकेजमा समावेश देशभर नवजात शिशुलाई जन्मने बित्तिकै भिटामिन केको सुइ दिन थालिएको परिवार कल्याण महाशाखाको खोप शाखाप्रमुख डा.झलकशर्मा गौतमले जानकारी दिनुभयो । उहाँले भिटामिन के कार्यक्रम कुनैपनि बालबालिकाको मृत्यु रगत जम्ने तत्वको कमीबाट हुने कारणबाट नहोस् भन्नाका लागि रहेको बताउनुभयो ।
उहाँका अनुसार अन्तराष्ट्रिय स्तरको तथ्यांकले प्राइमरी (जन्मेको पहिलो हप्तामा) ६० देखि २५० नवजातशिशु मध्ये एकजना र लेट(जन्मेको २ देखि १२ हप्तामा) १४,००० देखि २५,००० नवजात शिशु मध्ये १ जनामा हुने गरेको देखिएको छ । प्राइमरीको समस्या बढ्दै गएको र रक्तश्राबबाट शिशुहरुको मृत्यु समेत हुने गरेकाले यो गम्भिर समस्याको न्यूनिकरण गरि शिशुहरुको स्वास्थ्य रक्षा गर्न भिटामिन के कार्यक्रम अतिआवश्यक रहेको उहाँले बताउनुभयो ।
यो नेपाल सरकार आफैले किन्ने र यसका लागि प्रदेशमा भिटामिन के खरिदका लागि बजेट निकासा गरिसकेको गौतमले जानकारी दिनुभयो ।
नवजात शिशुलाई कतिबेला यो सुई दिने ?
नवजात शिशु जन्मिएको एक घण्टा भित्र यो सुई दिनुपर्दछ । अभिभावकको सहमतिमा दुध चुसेपछि एक घण्टामा भिटामिन के सुई मासुमा दिइनेछ । दाहिने तिघ्राको अगाडीको भागको मासुमा दिनुपर्छ ।
यदि घरमा सुत्केरी भएको अवस्थामा आमा र शिशु प्रथम पटक स्वास्थ्य संस्थामा आएको बेला दिने अर्थात् स्वास्थ्यकर्मीहरु घरमा नै गएर दिनेछन् । यसको डोज भनेको १ केजी भन्दा कमतौल भएका नवजात शिशुलाई ०.५ मिलिग्राग र १ केजीभन्दा माथि तौलका शिशुलाई १ मिलिग्राम हो ।
भिटामिन के को कमी भएका बालबालिबालाई कस्तो समस्या हुन्छ ?
रगत जमाउने तत्व बनाउन भिटामिन के चाहिन्छ । जुन शिशुमा भिटामिन केको कमी हुन्छ, त्यस्ता शिशुहरुलाई कुनै चोटपटक वा घाउ लागेमा रगत बगिरहन्छ । जसका कारण शिशुमा कुनैपनि बेला दुर्घटना निम्तन सक्छ । रक्तस्राव भएका शिशुलाई तुरुन्तै अस्पताल भर्ना गरेर भिटामिन के दिनुपर्दछ । यदि तत्कालै भिटामिन के दिइएन भने त्यस्ता शिशुको रक्तश्रावका कारण मृत्यु समेत हुनसक्छ ।
यो कार्यक्रम किन आवश्यक छ ?
खोप शाखा प्रमुख गौतमका अनुसार खोप कार्यक्रममा एउटा खोज पडताल पद्धति छ । यो भनेको जतिपनि बालबालिकालाई खोप लगाइन्छ, त्यसको अनुगमन तथा अध्ययन गरिन्छ । समुदायमा विशेषगरि दादुरा, पोलियो नवजात शिशु धनुष्टंकार र जापानिज इन्स्फ्लाइटिससँग मिल्दोजुल्दो केसका बारेमा अध्ययन गरिन्छ ।
खोप लगाइसकेपछि केही बालबालिकालाई ज्वरो आउने, दुध नचुस्ने जस्ता समस्या देखिनपनि सक्छन् । खोप ऐन अनुसार खोप पश्चात हुनसक्ने अवाञ्छित घटना अनुसन्धान समिति बनेको छ । यो स्वतन्त्र समिति हो । सो समितिले खोप लगाइसकेपछि शिशुमा देखिएका असरका बारेमा छानविन गर्दछ ।
सन् २०१६ देखि २०१८ मा खोप शाखामा खोप लगाइसकेपछि शिशुमा रगत बगेको असरहरुबारे सूचना प्राप्त भएको थियो । समितिले अध्ययन गर्दा १६ वटा केसमध्ये १४ वटा केसमा खोप लगाएको ठाउँबाट रगत बगेको देखियो । खोप लगाएको ठाँउबाट रगत बग्नु भिटामिन के को कमीका कारणले पनि हुनसक्छ । ६ वटा केसमा ब्रेनमा रक्तश्राव हुनुका साथै ११ वटा केसमा शरीरका अन्य भागबाट रगत बगेको पाइयो ।
यसको मतलव शरीरमा रगत जमाउने तत्वको कमी हुँदा १६ जना बालबालिकामा रक्तस्रावको समस्या देखिएको पत्ता लाग्यो । जन्मजात नै ति बालबालिकाहरुको शरीरमा रगत जमाउने तत्वको कमी रहेको पाइयो । सोही अध्ययनले यो समस्या आगामी दिनमा नेपालका बालबालिकालाई नआओस भनेर सरकारले निःशुल्क रुपमा भिटामिन के सुई दिन लागेको हो ।
तपाईँको अभिमत