काठमाडौंमा बेड अभाव, आइसीयूमा ९८ र भेन्टिलेटरमा ४ संक्रमित : स्वास्थ्य मन्त्रालय
सबै अस्पतालले कोरोना संक्रमितको उपचार गर्नुपर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं लगायत घनाबस्ती भएका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढेसँगै उपचारका लागि बेड अभाव हुन थालेको बताएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले काठमाडौं लगायत घनाबस्तीमा संक्रमितको संख्या बढ्दै गएकाले बेड अभाव भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल देशभर ९८ जना आइसीयू र ४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रवक्ता गौतमले अस्पताहरुमा बेड अभाव हुन थालेकाले निजी अस्पताललाई पनि २० प्रतिशत शैया कोभिडका बिरामीका लागि छ्ट्याउन यसअघिनै निर्देशन दिइसकेको बताउँदै बिरामीको जुन अस्पतालमा उपचार भइरहेको हो संक्रमण पुष्टि भइसकेपछि पनि सोही अस्पतालमा व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
यसको संयोजन भने हब अस्पतालहरुले गर्नुपर्नेछ । यदि उपचार गरिरहेको अस्पतालबाट अन्य अस्पतालमा रिफर गर्नैपर्ने भए हब अस्पतालको सम्नवय तथा स्वास्थ्य मन्त्रालयको निर्देशनमा मात्रै गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्रालयका अनुसार कोरोना उपचारका लागि देशभर ९४२ आईसीयू बेड र सोमध्ये ४९६ भेन्टिलेटर रहेको छ ।
मन्त्रालयकाे पछिल्लाे तथ्यांक अनुसार उपत्यकामा ११९ सहित ५९४ संक्रमित थपिएका छन् । याे सँगै काेराेना संक्रमितकाे संख्या २५ हजार ५५१ पुगेकाे छ भने साे मध्ये १७ हजार ७७ जना निकाे भएका छन् । हालसम्म ९९ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
तपाईँको अभिमत